भारतीय अपहरणकारीको प्रहरी कारबाहीमा मृत्यु

पर्सा । उद्योगी सुरेश केडिया अपहरणकाण्डमा फरार रहेका भारतीय अपहरणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ । विहार राज्यको रक्सौल निवासी अन्दाजी ३५ बर्षका दिलसाद नामका अपहरणकारी आईतबार राति पर्साको जिल्लाको प्रहरी कारवाहीमा मारिएको समाचार छ ।
दिलसाद भारतबाट नेपालतर्फ आईरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ शिरोमणी टोलमा नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई उनले गोली प्रहार गरेपछि जवाफी कारवाहीमा मारिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । उनले भने, कटुवा पेस्तोलले हानेको थियो मिस भयो लागेको भए प्रहरीतर्फ पनि क्षति हुन्थ्यो, बच्यौं ।
प्रहरीले उनको साथबाट एउटा कटुवा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद गरेको छ । केडिया अर्गनाइजेसनका अध्यक्ष सुरेश केडिया गएको जेठमा बाराको बघवन पसाहा पुल छेउबाट अपहरणमा परेका थिए । उनलाई चारदिन पछि प्रहरीले उद्दार गरेको थियो ।