काठमाडौं । देशको महत्वपूर्ण जिम्मेवारीमा बसेका राजनीतिक दल, सरकार र सरोकारवालाहरुलाई सबक सिकाउँदै हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्धारित समयमा गिरान्चौर बस्ती हस्तान्तरण गर्न नसकेकोमा माफी मागेका छन् ।
नेपालमा विकास निर्माण र पुर्ननिर्माणको काम जहिले गरेपनि हुन्छ, नगरे पनि कसले के भन्न सक्छ भन्ने सत्तामा बसेका र संसदमा छिरेका राजनीतिक दलको मनपरीतन्त्रलाई दरो झापड मार्दै उनले पूर्वनिर्धारित समय घटस्थापनामा बस्ती हस्तान्तरण हुन नसकेकोमा क्षमा मागेका हुन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मुसले पूर्वनिर्धारित समयमा काम सक्न लगातारको बर्षा बाधक बनेको बताउँदै दशैंको घटस्थापनाका दिन हस्तान्तरणको लक्ष्य भएपनि नसकिएको बताएका छन् ।
उनले सबै समस्या र चुनौतिलाई जित्न सकेपनि प्रकृतिलाई जित्न नसकेको भन्दै फाउण्डेशनले आफ्नो तर्फबाट जतिसक्दो चाँडो बस्ती हस्तान्तरण गर्न प्रयन्त गर्ने बताएका छन् ।
दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् । धुर्मुस–सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो ।
त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ । दशैंको समयमा पनि गिरान्चौरमा नै बसेर पुनर्निर्माणसँगै पीडितसँग बसेर दशैं मनाउने घोषणा समेत गरेका छन् ।
https://youtu.be/bwY1qq5X-Yw