झर्रोटर्रो : संसदमा बम्पर उपहार योजना

झर्रोटर्रो : संसदमा बम्पर उपहार योजना

आउँदै गरेको दशैँ तिहारको सन्दर्भ पारेर व्यवस्थापिका खासमा अव्यवस्थापिका संसदमा माननीयहरूका लागि विशेष बम्पर उपहार योजना खोलिएको छ । माननीयहरूले सदनमा हाँजिर गर्दै भाग्दै गर्न थालेपछि त्यहाँ सभामुख महोदय एक्लै पर्न थालेकी छन् । आफू मात्रै सदनमा टिक्लिक्क परेपछि हैरान परेर माननीय सदस्यहरूका लागि बम्पर उपहार योजना खोलेकी हुन् ।

माननीयहरूले संसदमा हाँजिर गर्दै टाप कस्दै गर्न थालेपछि त्यसको गम्भीर अनुसन्धान गर्न भनी पेन्सनी विशिष्ट महोदयको नेतृत्वमा हरुवा माननीयहरू सम्मिलित एउटा ‘भगौडा माननीय अध्ययन कार्यदल’ नामक आयोग गठन गरेकी थिइन् । उक्त आयोगले माननीयहरूले सदनमा हाँजिर गर्दै टाप कस्दै गर्नुको कारणको खोजी गर्ने, सदनबाट निस्केर कहाँ जान्छन् ?

त्यो कुरो पत्ता लगाउने र त्यसको निराकरणको उपाय सुल्झाउने अधिकार पाएको थियो । आयोगले केही समय लगाएर गम्भीर अध्ययन अनुसन्धान गरेको थियो । सो बमोजिम उक्त आयोगले दिएको प्रतिवेदन अनुसार माननीयहरूलाई खुसी पार्न सदनभित्र विशेष प्रकारको बम्पर उपहार योजना लागु गर्नु परेको कुरा सभामुख महोदयले झर्रोटर्रोलाई बताइन् ।

हुन त संसद भनेको गफाडीहरूको गफ गर्ने अखाडा नै हो । त्यहाँ गरिएका गफबाट राज्य र रैतीलाई कुनै तातो न छारोको उपलब्धी हुने पनि होइन । तथापि माननीयहरू सदनमा गफ गर्न भन्दै रैतीहरूबाट चुनिएर गएका हुन्छन् । परन्तु, उनीहरूले सदनमा गफ नगरी हाँजिर मात्रै गर्ने र टाप कस्ने गर्न थालेपछि त्यसको खास कारण खोज्नु परेको हो ।

गफ गर्नकै लागि चुनिएर आए पनि गफ गर्नु पर्ने ठाउँमा गफ नगरी हाँजिर मात्र बजार्ने र फुत्त फुत्त बाहिर निस्कन थालेपछि सभामुख महोदय निरास बनेकी हुन् । यसरी दिनदिनै निरास हुँदै गएकी महोदयले पेन्सनी विशिष्ट महोदयको नेतृत्वमा आयोग गठन गरी छानविन प्रकृया अगाडि बढाएकी हुन् । उक्त आयोगको प्रतिवेदनले माननीयहरू भाग्नुको कारण र निराकरणको उपाय सुझाएको थियो । प्रतिवेदनमा माननीयहरू सदनबाट भागेर जाने गरेको क्षेत्र, भाग्नुको कारण र त्यसको निराकरणको उपायबारेमा बताइएको प्रतिवेदनको सार निम्नानुसार रहेको छ ।

सदनमा हाँजिर मात्रै गरेर टाप कस्ने गरेको क्षेत्र :
१. विभिन्न एनजीओ र आइएनजीओहरूका गोष्ठीमा सहभागी हुने गरेको ।
२. विभिन्न प्रकारका ठेकेदार, उद्योगी, गुप्तव्यापारी र एनजीओ आइएनजीओहरूको फाइल सदर गराउन सम्बन्धित मन्त्रालयमा धाउने गरेको ।
३. आफ्ना नाता कुटुम्ब पर्ने र आलिअलि दानापानीको व्यवस्था गरिदिने कर्मचारीहरूको सरुवा बढुवाका लागि कुदारेकुद गरेको ।
४. विदेश भ्रमणको व्यवस्था मिलाइदिन प¥यो भन्दै विभिन्न आइएनजीओहरूका नेपाली मुखियाहरूको क्वाटरमा विन्तिपत्र बुझाउन हिँड्ने गरेको ।
५. विशेष गरी भारतीय र चिनियाँ दुतावासमा आफ्ना छोराछोरीहरूलाई स्कलरमा उनीहरूका मुलुकमा पढ्ने व्यवस्था मिलाइदिन विन्तिभाउ गर्न जाने गरेको ।
६. गाउँबाट आएका आफ्ना नाता कुटुम्बहरूसँग सपिङ गर्न र विरामीहरूको उपचार गराउन हिँड्ने गरेको ।
७. नयाँ नयाँ फिलिमहरूको प्रिमियम शो हेरिदिन हलहरूमा जाने गरेको ।
८. आआफ्ना जिल्ला र निर्वाचन क्षेत्रका रैतीहरू चोरी, डकैती, लुटपाट, अपहरण र हत्यामा पक्राउ परेकाहरूको उद्धार गर्नका लागि पुलिस मन्त्रालय र हेडक्वाटर धाउने गरेको ।
९. आआफ्नै दलका गुटीय बैठकहरूमा सहभागी हुने गरेको । आदि इत्यादि ।

भाग्नुको कारण :
१. संसदबाट आउने तलव र भत्ताले आफ्नो खर्च धान्न मुस्किल परेकोले ।
२. सदनमा कक्टेलको व्यवस्था नभएकोले ।
३. मन्त्रीहरू मात्र विदेश भ्रमणमा पटक पटक जाने गरेको र सबै माननीयहरूलाई विदेश भ्रमणको व्यवस्था सदनले गर्न नसकेकोले ।
४. मन्त्रीहरूले मात्र आफ्ना कर्मचारीहरूको सरुवा बढुवा गर्ने तर माननीयहरूका आफन्तको वास्ता नगर्ने गरेकोले ।
५. प्रत्यक्षतर्फबाट चुनिएका माननीयहरूले चुनावमा लागेको ऋण तिर्न र समानुपातिक तर्फकाले दलका नेतामार्फत् दललाई बुझाएको नजराना अशुल गर्नका लागि अतिरिक्त कमाइको व्यवस्था गर्नु पर्ने वाध्यता आइपरेकोले ।
६. आफ्ना चुनाव क्षेत्रका लटे, मुन्द्रे, कुण्डले मण्डलेहरूको संरक्षणमा खट्नु परेकोले ।
७. एनजीओ आइएनजीओ जस्ता दातृसंस्थाहरूको अनुरोधलाई अस्वीकर गर्न नसकिएकोले ।
८. माननीयबाट रिटायर भएपछि विशिष्टहरूलाई जस्तो आपूmहरूलाई आजिवन सुविधा नभएकाले आहिलेबाटै वैकल्पिक व्यवस्थाका लागि सोच विचार गरी व्यवस्थापनमा लाग्नु परेकोले ।
९. सरकारी निकायहरू र उद्योग व्यापार, ठेक्कापट्टाबाट तल्लोतहदेखि च्यानलमार्फत् प्राप्त हुने घुसको रकम माननीयहरूको भागमा नपरेकोले ।
१०. सरकार फेरिइरहँदा पनि पँहुचवालाहरू मात्र पटक पटक मन्त्रीमा दोहोरिइरहने तर एउटै पार्टीमा पनि ठूला र सानाका बिचमा भेद हुने गरेकोले ।
आदि इत्यादि लगायतका समस्या र खासमा असन्तुष्टिका कारण माननीयहरू संसदमा हाँजिर मात्र लगाउने
र कुलेलाम ठोक्ने गरेको तथ्य उक्त आयोगको रिपोर्टमा उल्लेखित छ ।

समाधानको उपाय :
सदनमा अनुपस्थित हुने माननीयहरूका लागि विशेष प्रकारको प्याकेज प्रोग्राम लन्च गर्नु पर्ने उक्त आयोगको प्रतिवेदनमा उल्लेखित छ । आयोगले सुल्झाएका समाधानका उपायहरू निम्नानुसार रहेका छन् ।
१. माननीय सदस्यहरूलाई सदनभित्रै भरपूर मात्रामा कक्टेलको व्यवस्था गरिनु पर्ने ।
२. सदनभित्रै ‘उत्पीडित माननीय उत्थान प्रतिष्ठान’ नामको एनजीओ गठन गरेर विभिन्न प्रकारका कार्यक्रमहरू जस्तै ‘माननीय विशेष भत्ता अभियान’, ‘माननीय विदेश भ्रमण अभियान’, ‘माननीय आफन्त विकास कार्यक्रम’, ‘माननीय रसरङ तथा मोजमस्ती कार्यक्रम’, ‘मन्त्री रोटेशन अभियान’ आदि लागू गर्नु पर्ने ।
३. विभिन्न विकासे मन्त्रालयमा ठेक्कापट्टा मिलान, फाइल सदर बदर, कर्मचारी सरुवा बढुवा बाट प्राप्त हुने नजराना दामासाहीले माननीयहरूको पिजनहोलमा पनि हालिदिनु पर्ने ।
४. हरेक बर्ष आउने जाति अनुसारका चाडपर्वका अवसरमा विशेष बम्पर उपहार योजना खोलिनु पर्ने । त्यस्ता बम्पर उपहारमा जो माननीय सदनमा बढि हाँजिर हुन्छ र पूरै दिन सदनभित्रै विताउन सक्छ त्यसलाई ए प्लस ग्रेडमा राखेर मन्त्रीमा बढुवा गरिनु पर्ने, ए ग्रेडमा पर्नेलाई एक महिनासम्म विदेश भ्रमणको व्यवस्था गरिनु पर्ने, बि प्लस हुनेलाई राज्य मन्त्रीको व्यवस्था गरिनु पर्ने, वि ग्रेडमा आउनेलाई सहायक मन्त्री र अरूलाई स्वदेश भ्रमण र सुरा सुन्दरीको व्यवस्था गरिनु पर्ने लगाएतका बम्पर उपहार योजना लागू गरिनु पर्ने ।
५. माननीयहरूलाई आजिवन विशेष सुविधा नदिए पनि आजिवन कर्मचारीहरूकै नियमानुसारको पेन्सनको व्यवस्थाका लागि विधेयक ल्याई पास गरेर कानून बनाइनु पर्ने ।
६. सदन नचलेको समयमा देशमा क्रियाशील विभिन्न आइएनजीओ र एनजीओहरूलाई सदन भित्रै आएर गोष्ठीको आयोजना गर्न लगाउने ।
७. मन्त्रीहरू र दलका लाउके नेताहरूको संरक्षण र छत्रछायाँमा हुर्के जस्तै माननीयहरूको छत्रछायाँमा पनि डनहरूको संरक्षण र क्रियाशील हुने वातावरणको ग्यारेन्टी गरिनु पर्ने ।
उपर्युल्लिखित समाधानका उपायहरूको व्यवस्था सदनबाटै गरिएको खण्डमा आगामी दिनमा माननीयहरू संसदमा हाँजिर गर्ने र टाप कस्ने वातावरणको अन्त्य हुने प्रतिवेदनमा जनाइएको छ । यसरी समाधानको उपाय प्रतिवेदनले बताएपछि सभामुख महोदयले तत्कालै लागू गरेकी छन् । र, यसै बर्सको दशैँ तिहार र छठको अवसर पारेर उक्त बम्पर उपहार योजना लागू गरिएको कुरा महोदयले झर्रोटर्रोलाई बताइन् ।

kailubraha73@gmail.com