सक्छौ भने कमरेड किरणलाई पक्राउ गरेर देखाऊ : अध्यक्ष गजुरेल

सक्छौ भने कमरेड किरणलाई पक्राउ गरेर देखाऊ : अध्यक्ष गजुरेल

cp-gajurel

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको गिरफ्तारीप्रति आक्रोश पोख्दै सरकारलाई सक्ने भए पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ पक्राउ गरेर देखाउन चेतावानी दिएका छन् । बुधबार गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य शिवराम यादवसहित विध्यार्थी नेताहरु आज रिहाइ भएपछि आज काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष गजुरेलले यस्तो चेतावानी दिएका हुन् । “हाम्रो पार्टी जनताको पार्टी हो । हामी सबैसँग वर्गीय हिसाबले चन्दा उठाउँछौं । सक्छौं भने कमरेड किरणलाई गिरफ्तार गरेर देखाऊ” गजुरेलले भने, “प्रचण्ड र देउवाहरुले जनतासँग चन्दा उठाउनु पर्दैन, भारतसँग मागे ३÷४ करोड दिइहाल्छ, भ्रष्टाचार गरेर अरबौं कुम्ल्याइहाल्छन् ।”

पूर्व घोषित कार्यक्रम अनुसार रत्नपार्कको शान्तिबाटिकाबाट निकालिएको सिठ्ठि जुलुस सुन्धारा, सहिदगेट, यूरोड हुँदै भोटाहिटीमा पुगेर सभामा परिणत भएको थियो । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले संचालन गरेको कार्यक्रममा बोल्दै सो पार्टीका नेवा राज्य इन्चार्ज दिनेश शर्माले भारतसँग २५ बुँदे सम्झौता गरेर गम्भीर राष्ट्रघात गर्ने प्रचण्ड अपराधी कि पार्टी संचालन गर्न जनतासँग स्वेच्छिक रुपमा हजार रुपैयाँ उठाउने हामी अपराधी भनेर प्रश्न गरे । जनताको तागतका अगाडि जस्तोसुकै फासिवादी शासक पनि टिक्न नसक्ने भन्दै हजारको आर्थिक अभियानमा सहयोग पु¥याउन जनतालाई आव्हान समेत गरे ।

cp-with

सैयौं कार्यकर्ता र जनताको उपस्थितिमा भएको कार्यक्रममा भर्खरै थुनामुक्त भएका नेता शिवराम यादवले जनताको साथ र पार्टीले गरेको दबाब आन्दोलनले आफूहरु थुनामुक्त भएको भन्दै देश र जनताको मुक्ति र परिवर्तनका लागि आफूजस्तै हजारौं साथीहरु जेलजान तयार रहेको बताए ।

नेवा राज्यन्तर्गतका जिल्लाका संयोजकहरुले संयुक्त रुपमा थुनामुक्त भएका चारैजना नेताहरुलाई माला, खादा र अबिर लगाएर अभिनन्दन गरेका थिए ।

उपत्यका बन्द स्थगित

नेता कार्यकर्ताहरु थुनामुक्त भएपछि क्रान्तिकारी माओवादीका नेवा राज्य इन्चार्ज दिनेश शर्माले तत्कालका लागि नौं गतेका लागि आव्हान गरिएको उपत्यका बन्दको कार्यक्रम स्थगित भएको जनाएका छन् ।