बुटवल । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवल शाखाको आयोजनामा आगामी कात्तिक ४ गतेदेखि १५ गते सम्म बुटवलमा हुन लागेको तिहार महोत्सव राष्ट्रिय औद्योगिक कृर्षि पर्यटन प्रर्वद्धन प्रर्दशनीको विषयमा राजनीतिक दलका प्रतिनिधीहरुसँग छलफल भएको छ ।

मेलालाई कसरी सफल बनाउन सकिन्छ र कसरी अगाडि लैजादा उपयुक्त होला भन्ने विषयमा राजनीतिक दलहरुसंग छलफल भएको हो । सो छलफलमा बोल्दै नेकपा (माओवादी केन्द्र) का रुपन्देही सहइन्चार्ज अनुप बरालले मेलामा स्थानीय उत्पादनको प्रर्वद्धन र विक्रिलाई विशेष प्राथमिकता दिनुपवर्ने बताए ।

यो मेला सबै व्यवसायीहरुको मेला भएकाले सबै उद्योगी व्यवसायीहरुले मेला सफल बनाउन सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

नयाँ शक्ति नेपालका रुपन्देही जिल्ला संयोजक देवेन्द्र पाण्डेले मेलालाई नाफामुलक मात्रै नबनाई स्थानीय उत्पादनलाई पर्वद्धन गर्न विशेष ध्यान दिनुपर्ने बताए । साथै उनले राजनीति गर्दा विकासको राजनीति गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस बुटवल नगरसचिव ज्योती भण्डारीले मेलालाई राजनीतिबाट टाढै राखेर सबै उद्योगी व्यवसायीको साझा थलो बनाउनुपर्ने जोड दिए । नेकपा एमाले बुटवल नगर अध्यक्ष ज्ञानप्रसाद अर्यालले अन्य संगठनका व्यवसायीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

नेकपा माओवादी विप्लव समूहका नगर इन्चार्ज अमर आरसीले आफ्नो पार्टीले मेला महोत्सव अवधिभर कुनै वन्द हडतालको आयोजना नगरेको जानकारी गराउदै मेला सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका तान बहादुर खत्री, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी, अखण्ड नेपाल पार्टीका खेम नारायण रायमाझी लगायतले मेलालाई सबैको साझा बनाउन सुझाव दिएका थिए ।

मेला मूल आयोजक समितिका संयोजक खेम श्रीसले दलहरुको सुझावलाई मनन गर्दै सबैसँग सहकार्य गरेर सफल बनाउन अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेपाल उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य खेमनारायण पराजुलीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर