काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाएको राष्ट्रवादको नारा खोक्रो र नक्कली भएको बताएका छन् ।
राजधानीमा संविधान जारी भएको दिन ‘असोज ३’ लाई कालो दिवसको रुपमा मनाउन क्रान्तिकारी माओवादी नेवाः राज्य समितिले आयोजना गरेको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले अहिलेको संविधान नै प्रतिगामी बनेका कारण यसले देशलाई सही मार्गतिर डोहोर्याउन नसक्ने उल्लेख गरे ।
उनले एमाले अध्यक्ष केपी ओलीले आफूलाई राष्ट्रवादी भनेर पुष्पकमल दाहाललाई गाली गरिरहेको उल्लेख गर्दै उनी साच्चैका राष्ट्रवादी भएको भए अहिलेको संविधानलाई विरोध गर्न सक्नुपर्ने बताए ।
अहिलेको राष्ट्रघाती र जनघाती संविधानलाई नै लागु गर्न कस्सिने र प्रचण्डले राष्ट्रघात गरे भनेर चिच्याउनुको कुनै अर्थ नरहेको उनको भनाई थियो ।
उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीले आफूलाई राष्ट्रवादी भन्ने गरेका छन् । उनले आफूलाई राष्ट्रवादी बनाउनका लागि अहिलेको संविधानको विरोध गर्न सक्नुपर्छ । किनकी अहिलेको संविधानले नै प्रचण्डलाई लेण्डुप दोर्जे बनाएको हो ।’
उनले ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझै संसदवादी दलले भन्दा एक कदम अघि बढेर प्रचण्डले तीन दिन संविधान उत्सव मनाएको भन्दै उनले जनताको अधिकारलाई हाँसो मजाकमा सीमित पारिएको यो दिनलाई आफूहरुले कालो दिनको रुपमा स्मरण गर्ने उल्लेख गरे ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिक्रियावादी कित्ताको नवप्रवेशी भएको उल्लेख गर्दै उनले सोही कारण उनले यो कित्तामा आफूलाई खरो रुपमा उतार्नकै लागि अहिलेको संविधानलाई प्रतिक्रियावादी भन्दा एक कदम अघि बढेर उत्सव मनाउने तहसम्म पुगेको बताए ।
नेपालमा बहुसंख्यक जनताले अझै पनि संविधानलाई स्वीकार गर्न नसकेको र दाहाल स्वयमको व्यापक विरोध भएको अवस्थामा भर्खरै भएको दाहालको भारत भ्रमणमा भारतले समेत भारतले कुनै नयाँ सम्झौता गर्न नचाहेको उल्लेख गर्दै अन्तिममा आएर २५ बुँदे सहमतिमा पुराना सन्धी सम्झौता कार्यान्वयन गर्ने भनेर असमान संन्धी सम्झौतालाई नेपाली जनतामाझ थोपर्ने षढ्यन्त्र गरेर नेपाल फकिएको नेता गजुरेलले उल्लेख गरे ।
दाहालको यो सहमतिले नेपालमा १९५० सहितका सबै असमान सन्धी सम्झौता खारेज गर्नुको साटो कार्यन्वयन गर्ने वचन दिएर थप राष्ट्रघात गरेको उनको भनाई थियो ।
संविधानको पालना र सर्वोच्चको फैसलालाई सबैभन्दा बढी कार्यान्वयन गर्नुपर्ने सरकारले नै सर्वोच्चको अपमान गरेको बताउँदै उनले लोकमान सिंह कार्कीको नियुक्तिको विषयमा अदालतले मागेको कागजात भूकम्पमा हराएको भनेर सरकारले दिएको जवाफ हाँस्यास्पद भएको उनले बताए ।
उनले अहिलेको संविधानका विरोधी र राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्दै संघर्षबाट नै नयाँ संविधान ल्याउने गरी आन्दोलनको आधिवेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
संविधानको विरोधमा आयोजित प्रदर्शन सुन्धाराबाट सुरु भएर, न्युरोड, रत्नपार्क हुँदै भोटाहिटीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो सभालाई सम्बोधन गर्दै गजुरेलले आजको दिन कालो दिन मात्रै नभएर जनअधिकारका लागि थप एकजुट भएर संघर्षको सुरुवात गर्ने दिन पनि भएको बताए ।