राजधानीका विद्यालयमा बम आतंक, दुई विद्यालयमा विस्फोट, दुई पक्राउ

राजधानीका विद्यालयमा बम आतंक, दुई विद्यालयमा विस्फोट, दुई पक्राउ

काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेपछि बम आतंक नै फैलिएको छ ।

राजधानीको बौद्धस्थित आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माविमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति भने भएको छैन ।

बम विस्फोटबाट आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ । प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

बम भेटिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र नाम लेखिएको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा पनि शंकाष्पद वस्तु फेला परेकोे छ भने ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

बम आतंकको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निःशुल्क पढाउन, निजी विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र पोसाक, पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्यगर्न माग गरिएको छ ।