नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाले सरोकारवाला कसैलाई पनि खबर नगरी विशेष नगरपरिषद गरेको छ ।
सर्वदलीय प्रतिनिधि र वडा नागरिकबाहेक अरुलाई खबर नै नगरी कावासोती नगरपालिकाले मंगलबार सुटुक्क विशेष नगरपरिषद गरिएको हो ।
कावासोती नगरपालिकाको अघिल्लो परिषदबाट पारित गरेको बजेट भन्दा कम रकम आएको भन्दै नगरपालिकाले विशेष नगरपरिषद गरेको हो । नगरपरिषद गर्नु अघि राजनीतिक दलका प्रतिनिधिहरुबीच बजेटको दलीय भागवण्डा मिलाउन पटक पटक वैठक बसेको थियो ।
आदिवासीबासी जनजाति महासंघ कावासोती समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामीले लक्षित वर्गका लागि आएको रकम लक्षित वर्गका अगुवासँग सरोकार नै नराखी कटौती गरेको सुन्नमा आएको बताइन् ।
कावासोती नगरपालिकाका कार्यकारी निर्देशक हरिलाल पुरीले विशेष नगरपरिषद भएकोले कसैलाई नबोलाएको बताए । उनले सार्वजनिक चासोको विषयमा सरोकारवालालाई खबर गर्न पर्ने थियो भन्नेमा विशेष नगरपरिषदमा कहि कतै पनि नबोलाइने र बोलाउँदा धेरै हुने भएकोले नबोलाएको भन्दै पन्छिए ।
नेकपा माओवादी केन्द्रका कावासोती नगरपालिकामा प्रतिनिधि गर्ने चेतनाथ पोख्रेलले ६०/४० को बजेट कम्तिमा एउटा वडामा एउटा नछुटोस् भन्ने हिसावले छनौट गरिएको बताए । स्रोतका अनुसार यस्ता योजना पनि पहुँच भएका नेता र तिनका आसपासका गाउँमा मात्रै पारिएको छ ।