पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध, यात्रुको बिचल्लीमा

पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध, यात्रुको बिचल्लीमा

ताप्लेजुङ । केही दिनदेखि परेको अविरल वर्षासँगै आइतबारराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भएपछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः सोही स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको छ ।

पहिरोले सडक अवरुद्ध बनेपछि ताप्लेजुङ, पाँचथर, इलाम, झापामा आवतजावत गर्ने सवारीका साधन बिचबाटोमा अलपत्र परेका छन् ।

गएराति देखिनै परेको वर्षा अझै जारी रहेको र पहिरो समेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।