विप्रेषणबाट पुँजीगत आधार बनाउन पहल गर्नुपर्छ : दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक संघको रजतजयन्तीको उद्घाटन कार्यक्रममा उनलृ अहिले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए ।

पुँजी निर्माणका लागि युवाको श्रम, सीप र जोसजाँगर मुलुकको नवनिर्माणमा कसरी लगाउन सकिन्छ भन्नेतर्फ अर्थशास्त्रीको ध्यान जानुपर्ने बताउँदै उनले आर्थिक विकासका लागि अवलम्बन गर्नुपर्ने खाकामा बुद्धिजीवी तथा अर्थशास्त्रीले अर्थपूर्ण र व्यावहारिक योजना बनाउने आशा आफूले लिएको धारणा राखे ।

प्रधानमन्त्री दाहालले संविधानले संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र कार्यान्वयन गर्ने अधिकारले राज्यका तहबीचको स्वायत्तताको प्रत्याभूति गरेको दाबी गरे ।