काठमाडौं । नेपाली कांग्रेसभित्र देउवा र पौडेल समूहको गुटगत भागवण्डा नमिल्दा बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।
पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच जनालाई मन्त्री बनाउनुपर्ने अडान नछाडेपछि सहमति जुट्न नसकेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेल र नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केहीलाई समेटेर बुधबार नै मन्त्री बनाउने तयारी गरेपनि भागबण्डा नमिल्दा शुक्रबारसम्मका लागि सरेको हो ।
पौडेलको सिफारिसमा चार जनालाई मन्त्री बनाउन देउवा तयार भए पनि पौडेलले आफ्नो तर्फबाट ५ जनालाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । राज्यमन्त्रीसहित नौ मन्त्री आफ्नोतर्फबाट बनाइनुपर्ने अन्यथा आफ्नो पक्ष सरकारमै नजाने पौडेलले चेतावनी दिएका छन् ।
पौडेल समुहको बुधबार बिहान राजधानीमा भएको भेलाले सम्मानजनक ढंगले ५ मन्त्री र ४ राज्यमन्त्री नभए सरकारमा नजाने निर्णय नै गरेको छ ।
नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा बनेको सरकारमा १३ मन्त्रालय पाएको कांग्रेसले अहिलेसम्म दुई जनालाई सरकारमा पठाएको छ । कांग्रेसबाट बनेका उपप्रधान गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक देउवाका विश्वासपात्र मानिन्छन् ।
कांग्रेसले पाउँने बाँकी ११ मन्त्रालयमध्ये देउवाले शिक्षा, परराष्ट्र, रक्षा, पर्यटन लगायतका महत्वपूर्ण मन्त्रालयमा आफू निकटकालाई पठाउने निश्चित गरिसकेका छन् ।
देउवाले पार्टीको १३ औं महाधिवेशनमा आफ्नो समूहबाट महामन्त्रीका उम्मेदवार बनेका अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीलाई मन्त्री बनाउने निश्चित भएको कांग्रेस स्रोतको भनाइ छ ।
देउवाले फरमुल्लाह मन्सुरलाई मन्त्री बनाउन चाहे पनि केशव बुढाथोकी र भिष्मराज आङ्दम्बे पनि आकांक्षी भएकाले टुंगो लगाउन बाँकी छ ।
पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, नविन्द्रराज जोशी, दीपक गिरी, कमला पन्त, बलबहादुर केसीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् भने नेता सिटौलाकोतर्फबाट गगन थापा, भीमसेनदास प्रधान र सुधिर शिवाकोटीको नाम चर्चा छ ।