मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने

मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने

ca-1काठमाडौं । सरकारमा जान खुट्टा उचालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको असोज ३ गतेको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको छ । गत वर्ष असोज ३ गते संविधान जारी भएको दिन कालो दिनका रुपमा मनाउने भन्दै मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गरेको थियो ।

एक वर्षपछि संविधानमा संशोधन गर्दै सरकारमा जाने तरखत गरेको मोर्चाले असोज ३ लाई भने भने कालो दिनका रुपमा नै मनाउने निर्णय गरेको छ । सरकारले भने असोज ३ गतेलाई संविधान उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । संविधान जारी भएको दिनलाई उत्सवका रुपमा मनाउने भन्दै भारतीय राष्ट्रपतिलाई समेत उत्सवमा ल्याउने सरकारले तयारी गरेको छ । सरकारले भने असोज ३ मा संविधान दिवस मनाउने निर्णय गर्दै सार्वजनिक विदा समेत दिएको छ ।

मधेसी मोर्चाले तीनबुँदे सहमति अनुसार मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णयहरु अझैसम्म नभएको भन्दै असन्तुष्टी पनि जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने र मोर्चा पनि सरकारमा सहभागी हुने तयारी गरिए पनि सत्ता गठबन्धन दलले ढिलाइ गरेको मोर्चाका नेताहरुले बताएका छन् ।

तीन बुँदे सहमतिपछि मोर्चाले जनाएको असन्तुष्टीबारे छलफल गर्न कांग्रेस–माके गठबन्धन र मोर्चाको कार्यदलमा छलफल गर्ने निर्णय भएको मोर्चाका नेताहरुले जानकारी दिए । बैठकले स्थानीय निकाय पुनर्संरचनाको काम नरोकोमा आपत्ति जनाएको छ । सरकारमा जाने तयारी गरेको मोर्चाका शीर्ष नेताहरुबीच बुधबार पछिल्लो राजनीतिक परिस्थितिकाबारेमा छलफल भएको थियो ।