काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिटिइभिटीलाई आफ्ना १५ बुँदे माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । सिटिइभिटीको मुख्य कार्यालय सानोठिमी भक्तपुरमा मागपत्र बुझाउदै क्रान्तिकारीले माग पूरा नगरिए जस्तोसुकै जोखिमपूर्ण कदम पनि उठाउन संगठन तयार रहेको चेतावानी दिएको छ ।
संगठनको सिटिइभिटी समन्वय समितिले बुझाएको मागपत्रमा निर्धारण गरिए अनुसार भौतिक पूर्वाधार नपुगेका शैक्षिक संस्थाहरुको खोरेजी, जथाभावी शुल्क नलिन, भर्नावापत लिने शुल्क किस्तामा लिनुपर्ने, सहकारी, ट्रष्ट र सरकारकारी शैक्षिक संस्थाले निजीको भन्दा कम शुल्क लिनुपर्ने, डिप्लोमा तथा तिएसएलसी कार्यक्रममा २५ प्रतिशतसम्म छात्रवृतिको व्यवस्था गरिनुपर्ने, समावेसी कोटामा पढ्ने व्यवस्था मिलाइनुपर्ने, विध्यार्थीहरुलाई उपचार र औषधीमा ५० प्रतिशत छुट गरिनुपर्ने, यस्ता शैक्षिक संस्थामा प्रतिस्पर्धामा आधारित भएर निपष्क्ष र पारदर्शी रुपमा शिक्षक तथा कर्मचारीहरुको नियुक्ति गरिनुपर्ने लगायतका मागहरु उक्त मागपत्रमा समेटिएको छ ।
संगठनले संघर्षका कार्यक्रमहरु भन्दै मागपत्र बुझाउने र प्रचार–प्रसार गर्ने, अन्तक्र्रियात्मक र कोणसभाका कार्यक्रमहरु गर्ने, सिटिइभिटी प्रमुखलाई पद त्याग गर्न आव्हान गर्ने, सञ्चालकहरुसँग घेटघाटका कार्यक्रमहरु र प्रतिरोधात्मक कार्यक्रमहरु गर्ने उल्लेख गरेको छ । माग पूरा नगरिएको खण्डमा आफूहरु कडा संघर्षमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति सम्बन्धित निकाय नै जिम्मेवार र जवाफदेही हुने कुरा पनि मागपत्रमा उल्लेख गरिएको छ ।