माक्र्सवाद अध्ययनबारे– एक चासो

प्रकाशित मिति : २०७३ भाद्र ५

- पुष्प गोपाल श्रेष्ठ

“यदि कुनै कम्युनिष्टले सारा उपलब्ध ज्ञानलाई आफ्नो मस्तिष्कमा मन्थन गर्दैन भने, साम्यवाद एउटा फोस्रो कुरा र केवल साधा सूचनापट मात्र बन्न जानेछ, अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केहि रहने छैन । तपाईले त्यस ज्ञानलाई हृदयंगम् मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृदयंगम् गर्नुपर्दछ, जस्ले गर्दा आफ्नो दिमागमा नचाहिंदो कसिंगर थुप्रन जानेछैन, बरु आफ्नो बुद्धिलाई यस्ता सारा तथ्यहरुले सम्पन्न तुल्याउनु पर्दछ, जुन आधुनिक समयका शिक्षित मानिसहरुको लागि अनिवार्य हुन्छ । यदि कुनै कम्युनिष्ट गम्भिर, कठिन र ठूलो परिश्रम नगरिकनै, आलोचनात्मक ढङ्गले जाँची हेर्नुपर्ने तथ्यहरुलाई नबुझिकनै आफूले थाहा पाएका तयार निष्कर्षहरुको आधारमा साम्यवादको गफ हाँक्न थाल्दछ भने त्यो ज्यादै दयनीय कम्युनिष्ट हुनेछ । यस्तो अधकल्चोपना अवश्य घातकशिद्ध हुन्छ । मलाई थोरै ज्ञान छ भन्ने बोध छ भने म धेरै जान्नको निम्ति प्रयास गर्नेछु । तर कोहि मानिस आफू कम्युनिष्ट भएको दावा गर्दछ र उसले अब जान्नुपर्ने कुरा केही पनि छैन भन्ने कुरा गर्दछ भने त्यसमा कम्युनिष्ट भन्न लायकको कुनै पनि कुरा हुँदैन ।”– भ्ला.ई. लेनिन

आजका नवयुवकहरु सहि मानेमा देशका कर्णधार हुन् र हाम्रा भविष्य । हामीले यी युवा समुदायलाई, त्यो पुरानो सामन्तवादी समाजले हाम्रोबीच अत्यन्तै घनिष्ट रुपले घुलमिल गरी राखेको एउटा सबभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो – व्यवहारिक जीवन र पुस्तकको बीचको गहिरो खाडल । सर्वप्रथम त्यस खाडलबाट माथि उठाई लेनिनको उपरोक्त भनाइलाई आत्मसात गरी, आमरुपमा ती सबै युवकहरु, जो साम्यवादतर्पm अग्रसर हुन चाहन्छन्, तिनीहरुलाई के सिकाउनु पर्दछ र यदि वास्तवमा कम्युनिष्ट युवकको नाम सार्थक तुल्याउन चाहन्छन् भने उनीहरुले कुन प्रकारले सिक्नुपर्दछ तथा पार्टीले जुन उद्देश्य र लक्ष निर्धारण गरेको छ, त्यसलाई उनीहरुले पुरा गर्न र टुंग्याउन सकून भन्नाको लागि उनीहरुलाई कसरी प्रशिक्षित गर्नुपर्दछ भन्ने प्रश्नमा नेतृत्वपंक्तिले सविस्तार विचार गर्नु जरुरी छ ।

सच्चा कम्युनिष्ट बन्न माक्र्सवाद (साम्यवाद)को शिक्षा हासिल गर्नुपर्दछ भन्ने कुरो सर्वमान्य कुरा हो । माक्र्सवादी ज्ञान प्राप्त गर्न हामीले हाम्रो व्यवहारिक जीवनका सामान्य ज्ञानराशिबाट के कस्ता र कुन कुन विषयवस्तु (कुरा) छानेर लिनु पर्दछ ? यस कुरामा हामी अत्यन्तै चनाखो भई सुक्ष्मदृष्टि अपनाउन जरुरी छ । किनभने, यहाँ हाम्रो सामुन्ने धेरै यस्ता खतराहरु हुन सक्छन्, जुन त्यसबेला प्रत्यक्ष देखा पर्दछन्, जब माक्र्सवादको शिक्षा हासिल गर्ने काम गलत ढङ्गले गरिन्छ अथवा अत्यन्तै एकसुरे भएर त्यसको व्याख्या विश्लेषण गर्न थालिन्छ । 

माक्र्सवादको शिक्षा हासिल गर्नु भनेको व्यवहारिक ज्ञानलाई पृथक राखेर मात्र माक्र्सवादका पाठ्यपुस्तकहरु, पुस्तिकाहरु तथा कृतिहरुमा उल्लेखित सारा ज्ञानराशिलाई हृदयंगम् गर्नु हो भन्ने कुरा नै सर्वप्रथम हाम्रो दिमागमा चढ्छ । यो गलत कुरा हो । माक्र्सवादी शिक्षा हासिल गर्ने यस्तो सोच र परिपाटी ज्यादै भद्दा र अधुरो हुन्छ । यदि हामीले त्यो पुरानो सामन्तवादी समाजले हामीलाई जकडिराखेको एउटा सबभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो– व्यवहारिक जीवन र पुस्तकको बीचको गहिरो खाडल ।

आज हामीले यस बारेमा केहि सोच–विचारै नगरी अन्धाधुन्द तरिकाले त्यहि खाडललाई नै पछ्याउदै माक्र्सवादको अध्ययन माक्र्सवादसम्बन्धी कृतिहरु, किताबहरु र पुस्तिकाहरुमा लेखिएका कुराहरु कण्ठाग्रह पार्नमै सीमित भइरहने हो भने, त्यसबाट हामीलाई माक्र्सवादी ज्ञानको लाभ होइन, बरु उल्टो ठूलो क्षति र नोक्सान पुग्न जानेछ । किनभने त्यस्ता घोकन्ते मानिसहरु माक्र्सवादसम्बन्धी पुस्तकहरु र पुस्तिकाहरुमा उल्लेखित कुराहरु घोकी रटिकन पनि त्यस ज्ञानको समूचित प्रयोग गर्न असमर्थ हुनेछन् र यसरी काम गर्न पनि सक्नेछैनन् । जुन वास्तवमा नै माक्र्सवादको माग अनुसार नै हुनुपर्दछ । 

क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवकहरु साचोँ अर्थमा सच्चा क्रान्तिकारी छवि बोकेका अग्रगामी युवा हुनु पर्दछ, जस्ले जनताको हरेक काममा सहायता पु¥याउने छन्, आफ्नो तत्परता र आफ्नो उदाहरणको प्रदर्शन गर्नेछन् । युवा कस्तो हुनु पर्दछ भने हरेक मजदुर, किसान र सर्वसाधरण जनसमुदायले ती युवाहरु यस्ता मानिसहरु हुन भन्ने महसुस गरोस् जसको सिद्धान्त चाहे उनीहरुले बुझ्न नसकून, जसको सिद्धान्तमा चाहे उनीहरुलाई तुरुन्त विश्वास नहोस्, परन्तु ती मानिसहरु वास्तवमा नै यस्ता हुन् जसले उनीहरुलाई सहि बाटो देखाइरहेका छन् भन्ने बारेमा उनीहरुले सजिव व्यवहार तथा क्रियाकलापबाट अनुभव गर्न सकून् । 

नेपाल अहिलेसम्म पुँजीवादी–जनवादी क्रान्तिको चरणमा नै छ भन्ने कुरामा कुनै शंका छैन । नेपालमा पूर्ण जनवादी क्रान्तिको कार्यक्रममा यी कुराहरु समावेश छन् : बाहिरी रुपमा, पूर्ण राष्ट्रिय मुक्ति प्राप्त गर्नका लागि साम्राज्यवाद, विस्तारवादको तख्ता पल्टाउनु, (राजनैतिक हस्तक्षेप पूर्ण नष्ट पार्नु) र आन्तरिक रुपमा, शहरमा दलाल वर्गको शक्ति र प्रभावलाई निर्मुल पार्नु, गाँउ घरमा सामन्ती सम्बन्धहरुलाई खतम पार्नका लागि भूमि–क्रान्तिलाई पूरा गर्नु तथा युद्धपतिहरुको शासनको तख्ता पल्टाउनु । यस्तो जनवादी क्रान्तिबाट गुज्रिसकेपछि नै हामी समाजवादतर्पm संक्रमणका लागि वास्तविक जग बसाल्न सक्नेछौं ।

हामीले नेपाललाई दरिद« र दिनहीन देशबाट सम्पन्न देशमा परिणत गर्न चाहन्छौं । अतः क्रान्तिकारी कम्युनिष्ट युवाले आफ्नो शिक्षा, आफ्नो अध्ययन र आफ्नो अनुशासनलाई मजदुरहरु र किसानहरुको श्रमसित सम्बद्ध तुल्याउनु पर्दछ । यसो गर्नु अत्यावश्यक छ । किनभने, यसो गर्नाले केवल सैद्धान्तिक पुस्तक–पुस्तिकाहरु पढ्नमा मात्र सीमित रहने छैन । मजदुरहरु र किसानहरुसित काँधमा काधँ मिलाएर काम गर्नाले मात्र सच्चा कम्युनिष्ट बन्न सकिन्छ । 

पुरानो समाज अर्थात् उसकै उत्तराधिकारी अनुरुप हुर्की–बढी आएको वर्तमान समाजमा पनि उहि सामाजिक सिद्धान्तमा आधारित रहि, नेपाली समाजको कुनै पनि चाडपर्वमा ठूलावडाले टिका–टालो लगाईदिंदा आर्शिवाद दिने नै बुर्जुबा सोचमा डुबेर ठुला वडाहाकिम भएस् भनि शुभआशीर्वाद दिने चलन अध्यावधि कायमै छ । र, यस मानेमा स्पष्ट छ, यस्तो समाजमा अनुशासित भएका मानिसहरुको नसा–नसामा, वास्तवमा भन्ने हो भने आमाको दुध चुस्दाखेरि नै, यस्तो मनोभावना, बानी र धारणा घुसेका हुन्छन्– कि लुट, कि त अरुलाई लुट्न देऊ । कि अरुको निम्ति मेहनत गर, कि त अरुलाई आफ्नो निमित काम गर्न लगाऊ । कि अरुलाई आफ्नो दास बनाऊ कि त आपैm अरुको दास बन । या त सानोतिनो सम्पत्तिवाला, सानोतिनो कर्मचारी, सानोतिनो अधिकारी अथवा बुद्धिजिवी संक्षेपमा भन्ने हो भने यस्तो मानिस जो केवल आफ्नो स्वार्थको मात्र विचार गर्दछ र अरुको उसलाई कति पनि वास्ता रहँदैन । 

यसै कारण हामी भन्दछौं– हाम्रो निमित्त मानव समाजबाट बाहिर सदाचारको अस्तित्व छैन, यो घोखा मात्र हो । हाम्रो निमित्त सदाचार सर्वहारावर्गको वर्गसंघर्षका हितहरुको अधिनमा छ । यो वर्गसंघर्षको अभिप्राय भन्नु नै दलाल तथा प्रतिक्रियावादी सत्ता ढाल्नु हो, पुँजीपतिहरुलाई सत्ताबाट गलहत्याउनु हो र बुर्जुवावर्गलाई निर्मूल पार्नु हो । 

युवा पुस्ताले अत्यन्तै महत्वकासाथ ग्रहण गर्नुपर्ने कुरा पुरानो शोषणमूलक समाजको विरुद्ध सर्वहाराहरु तथा श्रमजीवीहरुको अनवरत संघर्षसित आफ्नो शिक्षा, अनुशासन र अध्ययनको कार्यको प्रत्येक पाइलालाई सम्बृद्ध तुल्याएर मात्रै युवा पुस्ताले माक्र्सवाद (साम्यवाद) को शिक्षा हासिल गर्न सक्दछ । जब हामीसित सदाचारको कुरा गरिन्छ, हामी भन्छौं, कम्युनिष्टहरुको निम्ति सारा सदाचार यसै सुसंगठित अुनशासन र शोषकहरुको विरुद्ध सचेत जनसंघर्षमा सम्मिलित छ । हामी शाश्वत सदाचारमा विश्वास गर्दैनौ र सदाचारको बारेमा जुनसुकै कपोलकल्पित कुराको धोखाको पनि पोल खोल्दछौं । सदाचार भनेको मानव समाजलाई माथि उठाउने श्रमको शोषणबाट मुक्ति पाउने साधन हो । 

बुर्जुवा समाजबाट सर्वहारावर्गको राजनीतीतर्पm संक्रमण– एक अत्यन्त कठिन संक्रमण हो, अरु त्यसमाथि बुर्जुवावर्गले प्रचार–प्रसारको आफ्नो सम्पूर्ण व्यवस्थाद्वारा हामीलाई बदनाम गरिरहेको हुन्छ । उसले सर्वहारा अधिनायकवादको अझ बढी महत्वपूर्ण कार्यको, यसको प्रशिक्षात्मक कार्यको, जसको नेपालमा विशेष महत्व छ, जहाँ जनसंख्याको अल्पभाग मात्र सर्वहारावर्गमा पर्छ, जसरी भएपनि महत्व घटाउने प्रयत्न गरिरहेको हुन्छ, फेरि नेपालमा नै यस कार्यलाई प्राथमिक महत्व दिनुपरेको छ, किनभने हामीले जनसमुदायलाई नयाँ जनवादी क्रान्तिको निमित्त जागरुक गर्नु परेको छ र यसै क्रान्ति मार्फत जनगणतान्त्रिक राज्य निर्माणको लागि तयार पनि गर्नु परेको छ । यस कार्यको लागि युवा–सर्वहारावर्गले बुर्जुवावर्गको विरुद्ध संघर्ष गर्नको लागि आफूमा तीब्र वर्गचेतना, कठोर अनुशासन र गहन निष्ठाको विकास हुनु र गर्नु अत्यावश्यक हुन आउँछ, जुन सर्वहारावर्गको पुरानो शत्रुमाथि पूर्ण विजयको लागि अत्यावश्यक हुन्छ ।

हामी हजारौं वर्षदेखि जरो गाडेर बसेको सामन्ती राजतन्त्रीय व्यवस्थालाई फालेर ब्युँझेका छौं । तर, हामीले स्वमित्वमा आधारित व्यवस्था फेर्न सकेका छैनौं र फेर्न बाँकि नै छ । पार्टीभित्र र बाहिर दक्षिणपन्थी नवसंशोधनवादी (अवसरवादी) हरुसंगको लडाईंमा बढि समय व्यतित हुनगइरहेको कारणले गर्दा, पार्टीभित्र सांगठनिक संरचनामा शुद्धिकरण अभियानले पूर्णता पाउन सकिरहेको थिएन । र हालै मात्र पार्टीभित्र चलेको दुइलाइन संघर्षमा ती दक्षिणपन्थी नवशंसोधनवादीहरु, क्रान्तिकारीहरुको सैद्धान्तिक अडान सामु टिक्न नसकी पुरै अराजक ढङ्ग अपनाई बहिर्गमन भइसकेको वर्तमान स्थितिमा सिंगो पार्टीको स्थिति देख्नमा यद्यपि पार्टीको सांगठनिक संरचना भताभुंग भई संख्याको हिसावले न्यून देखिएता पनि वैचारिक (सैद्धान्तिक)रुपले स्पातभैंm मजबुत भई सहि अर्थमा नेपाली राजनीतिमा स्वतन्त्र हैसियत राख्ने बैकल्पिक शक्तिका रुपमा विकसित हुन गइरहेको छ । राजनैतिक रुपले क्रान्तिकारीहरुको निमित्त यो एक प्रकारको चुनौति हो र सँगसँगै यो शुभअवसर पनि । 

क्रान्तिकारीहरुको काम केवल दुनियाँलाई बुझनु मात्र होइन, आजको आवश्यकक्ता अुनरुप दुनियाँलाई बदल्नु पनि हो । वर्तमान स्थितिको यो चुनौती र शुभअवसरलाई विश्वका तमाम् शोषित पीडित जनसमुदाय तथा सर्वहारावादीहरुको ज्यानी दुश्मन साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद तथा घरेलु सामन्तवाद र दलाल प्रतिक्रियावादी सत्ता विरुद्ध देशको आवश्यकता र जन–चाहना अनुरुप अधुरो रहेको नयाँ जनवादी क्रान्तिलाई पूर्णतामा पु¥याउन पार्टीको आत्मगत स्थिति सुदृढ र सुसंगठित पारी क्रान्तिको ज्वाला दन्काई जनगणतान्त्रिक राज्यव्यवस्था स्थापना गर्नु आजको राजनीतिक दायित्व हुन आएको छ ।