काठमाडौं । गत जेठको पहिलो साता नेपालको पहिलो संसदवादी पार्टी बन्ने लक्ष्य सहित विभिन्न माओवादीका टुक्राहरुसँग एकता गरेर बनेको माओवादी केन्द्र तीन महिना पनि नपुग्दै सांगठनिक अन्यौलतामा फसेको छ ।
केन्द्रदेखि जिल्लासम्म आयोजक समितिको नाममा भद्दा संगठन निर्माण गरेपनि त्यसको अधिवेशन कार्य अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रभावित बनेको छ ।
माओवादी केन्द्रले औपचारिक रुपमा नै सरकारमा रहुन्जेलसम्म महाधिवेशन नगर्ने र बैठक पनि तत्काल नबस्ने घोषणा गरेपछि माकेको सांगठनिक संरचना आफ्नै लागि भारी बन्ने भएको छ ।
आगामी १० र ११ गतेका लागि तोकिएको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकसमेत रद्द भएको छ । पार्टी एकताको घोषणा गरेपछि ६ सय ९९ आयोजक समिति सदस्यको बैठक एक पटक पार्टी प्यालेसमा बोलाईपनि अर्को बैठक बस्न सकेको छैन ।
माकेको आयोजक समिति नै करिब २४ सय सदस्यीय रहेकाले बैठक बस्न असहज भएपछि भृकुटीमण्डपमा बैठक बस्ने बताइएपनि सो बैठक रद्द भएको हो । माकेको महाधिवेशन आयोजक समितिको बैठक यही भदौं १० र ११ गते आयोजना गर्ने तयारी थियो ।
पार्टी एकताकै समयमा पदाधिकारी निर्माण गरेर जाने तयारी भएपनि विभिन्न पार्टीबाट आएका नेताहरुबीच को वरिष्ठ हुनेलगायतका विषयमा जोडकोण मिल्न नसकेपछि त्यसबेला कार्यालय टिम निर्माण गरिएको थियो ।