काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी आज भारतको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत बनेर निधी भारत जान लागेका हुन् ।
भारतमा रहँदा निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराजलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्ड नेतृत्वका नयाँ सरकार बनेलगत्तै मन्त्रिपरिषदले दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको थियो । सोहीअनुसार अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका छन् ।
भारतमा रहँदा निधीले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको भारत भ्रमणलगायतका विषयमा समेत छलफल हुनेछ ।
चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्रीलगायतका व्यक्तित्वसँग भेटेर चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।