काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको लामो विवादपछि बुधबार मतदान हुने भएको छ । प्रतिनिधि विवादका कारण एक साता रोकिएको महाधिवेशन बन्दसत्र नै नगरी निर्वाचन प्रक्रियामा गएको हो । 

प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको ११ औँ महाधिवेशनअन्तर्गत बुधबार मतदान हुने भएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११ औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि हुन लागेको हो । 

शनिवार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरिएपछि कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधरले विरोध जनाएका थिए । विरोधका बाबजुद पनि मनोनयन दर्ता आह्वान गरिए पनि पौडेल पक्षले मनोनयन दर्ता नै नगरेपछि पुनः नेताहरुबीचको सहमतिमा मंगलबार पुनः मनोनयन दर्ता गरिएको थियो । नेविसंघको विधानअनुसार १ सय २९ पदका लागि हुने निर्वाचनमा ६ सय ८५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

संघको एक सभापतिमा ८ जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा आधा दर्जन उम्मेदवार दर्ता भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीको उम्मेदवारी परेको छ भने महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।
एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते भृकुटीमण्डपमा महाधिवेशनको भब्य उद्घाटन गरिए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर