प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस सुन्तलीलाई दिने

DHURMUS-SUNTALI WITH PRACHANDAकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग दिने घोषणा गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितका लागि आवास निर्माण कार्य गरिरहेका धुर्मुस सुन्तलीलाई सहयोग गर्ने घोषणा गरेका हुन् । 

भूकम्पपछि आएको मानवीय बिपत्तिमा राहत दिन फाउण्डेसनले चलाएको अभियान प्रशंसनीय रहेको भन्दै उनले यसले देशैभरी सकारात्मक सन्देश गएको बताए । 

भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवर्धक बनाउने बताए ।

भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दूत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको गुनासो गरेका थिए । 

उनीहरुले पुनर्निर्माणले तीब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए । प्रचण्डले आफूले पाउने करिब एक लाख तलब आएपछि धुर्मुस सुन्तलीलाई दिने वचन दिएका हुन् ।