नेपाली जनताको अधिकार सुनिश्चित भएको संविधानका लागि लड्छौं : वैद्य

नेपाली जनताको अधिकार सुनिश्चित भएको संविधानका लागि लड्छौं : वैद्य

Kiran in Birathnagar Airportविराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले अहिलेको संविधानमा नेपाली जनताका अधिकार नसमेटिएको भन्दै त्यसका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताएका छन् ।

सुनसरीको इटहरीमा पूर्वी कमाण्डस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष वैद्यले अहिलेको संविधान पनि विदेशीको ग्राइण्ड डिजाइन अन्तर्गत बनेकोले नेपालीका अधिकार सुनिश्चित हुन नसकेको उल्लेख गरे ।

अहिलेको संविधान १६ बुँदे सहमतिका आधारमा बनेकाले कसरी विदेशीको गाइण्ड डिजाईन अनुसार भयो भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष वैद्यले रुपमा नेपाली नेताले १६ बुँदे सहमति गरेको देखिएपनि सारमा त्यस्तो नभएको उल्लेख गरे ।

उनले अब आफ्नो पार्टीले नेपाली जनताका अधिकारसहितको संविधान निर्माणका लागि संघर्ष गर्ने बताए । त्यस्तो संघर्ष कुन प्रकारको हुन्छ भन्ने जिज्ञासामा वैद्यले संघर्षको प्रक्रिया जस्तोसुकै पनि हुनसक्ने उल्लेख गरे ।

पूर्वी कमाण्ड अन्तर्गत लिम्बुवान, किरात, कोचिला र मिथिला राज्यको प्रशिक्षण कार्यक्रम बुधबार इटहरीमा भइरहेको छ । प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष वैद्यसहित नेताहरु सीपी गजुरेल, सीताराम तामाङलगातका नेता इटहरी पुगेका छन् ।