एजेन्सी । भारत प्रशासित कास्मिरमा सुरक्षाकर्मीको गोली लागेर चार जना मारिएका छन् भने अन्य १५ जना घाइते भएका छन् ।
गत महिनादेखि नै तनावपूर्ण रहेको कास्मिरमा मंगलबार सुरक्षाकर्मीले पुनः गोली चलाएको हो ।
गत महिना कास्मिरमा हिजबुल मुजाहिद्दिनका प्रमुख बुरहान बानीको मृत्यू भएपछि कास्मिरमा लगातार हिंसा भड्किदै आएको छ । सो क्रममा राज्यले कफ्र्यु लगाउदै आएको छ भने प्रदर्शनकारीले पनि आन्दोलन जारी राखेका छन् ।
यो सँगै कास्मिरमा जारी पछिल्लो आन्दोलनमा मारिनेको संख्या ६५ पुगेको छ । पछिल्ला दुई दिनमा मात्रै कास्मिरमा ७ जनाको मृत्यु भइसकेको छ ।
भारत प्रशासित कास्मिरको बुदगाम जिल्लामा पछिल्ला केही दिनयता बारम्बार हिंसा भएको छ । मंगलबार पनि सोही जिल्लामा प्रहरीले गोली चलाएको हो ।
कास्मिरमा जारी पछिल्लो आन्दोलनका क्रममा करिब ३५ सय सर्वसाधारण र सोही सख्ंयामा सुरक्षाकर्मी घाईते भएका छन् । सुरक्षाकर्मीको गोली लागेर घाइते भएकामध्ये अधिकांशको टाउको ढाड र हातखुट्टामा चोट लागेको छ ।