बुटवलमा हुने प्रशिक्षण सफल पार्ने निर्णय

बुटवलमा हुने प्रशिक्षण सफल पार्ने निर्णय

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुपन्देहीले भदौ ८ गते बुटवलमा हुंने मध्यपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको छ । 

पार्टी जिल्ला सचिवालयको बुटवलमा बसेको बैठकले कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय समितिले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रम सफल पार्न पार्टी, रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा आरपी शर्मा, राजु भुजेल, खुमानन्द भुसाल, विनोद मरासनी सदस्य रहेका छन् ।

प्रशिक्षणमा अवध, तमुवान, पश्चिम र पूर्वी मगरांतका गरी चार राज्य समिति र रुपन्देही जिल्ला समितिका सदस्य गरी तीन सय जनाको सहभागिता रहने केन्द्रीय सदस्य प्रेमसागर पौडेलले जानकारी दिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य किरण, सी.पी.गजुरेल, रामसिंह श्रीस, परि थापा, सीताराम तामाङ लगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेता पौडेलले बताए । 

त्यस्तै, बैठकले केन्द्रले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत भदौं १५ गते भैरहवा र २४ गते बुटवलमा प्रदर्शनसहित विरोध सभा गर्ने निर्णय पनि गरेको छ ।

पार्टीले सुकुम्वासीका समस्याका बारेमा १५ गते,राष्ट्रिय स्वाधिनता र अपर कर्णालीका बारेका विरोध स्वरुप २४ गते प्रदर्शनसहित बुटवलमा विरोध सभा गर्न लागेको जनाएको छ ।

बैठक पार्टी संयोजक भुलबहादुर सुनारीको अध्यक्षता र अवध राज्य समिति इन्चार्ज प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।