क्रान्तिका निम्ति ‘तीन जादुगरी हतियार’ अनिवार्य : वैद्य

क्रान्तिका निम्ति ‘तीन जादुगरी हतियार’ अनिवार्य : वैद्य

Mohan Baidhyaकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नयाँ जनवादी क्रान्तिका लागि तीन जादुगरी हतियार हतियार अनिवार्य रहेको बताएका छन् ।

प्रविधिको विकाससँगै फौजी कार्यदिशालाई समृद्ध गर्ने बताउँदै आएको क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले क्रान्तिका लागि तीन जादुगरी हतियार अनिवार्य रहको बताएका हुन् ।

पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिकारी माओवादीले क्रान्तिका तीन जादुगरी हतियारको रुपमा व्याख्या गर्दै आएको छ ।

उनले क्रान्तिकारी कार्यदिशा भएरमात्रै क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै त्यसका लागि तीन जादुगरी हतियार पार्टी, सेना र संयुक्त मोर्चा बनाउने र त्यसलाई सशक्त बनाउने गरी अघि बढ्नुपर्ने बताए । पार्टीका हरेक समितिहरु चुस्त दुरुस्त बनाएर अघि बढ्न सकेमा पार्टी सशक्त बन्नसक्ने उनको भनाई थियो । ‘आज पार्टी पार्टीजस्तो नभएर मोर्चाजस्तो बन्न गएको छ । मोर्चाको अवधाराणा विस्तारै कमजोर हुँदैछ । यसलाई हामीले अन्त्य गर्नुपर्छ र मोर्चालाई बृहत र पार्टीलाई चुस्त र प्रभावकारी बनाएर अघि बढ्नुपर्छ’, उनले भने । 

नेकपा (क्रान्तिकारी माओवादी)को मध्यकमाण्डस्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष किरणले विगतमा कम्युनिष्ट पार्टीले सर्वहारावर्गका जनताको नेतृत्व गर्न नसकेकाले मुक्ति सम्भव नभएको भन्दै यसैका कारण पटक–पटक क्रान्तिमा फुट फैदा भएको बताए । 

माओवादी आन्दोलनलाई कसरी ध्वस्त पार्न सकिन्छ भनेर देशी विदेशी दलाल, प्रतिक्रियावादी र साम्राज्यवादी शक्ति लागेको उल्लेख गर्दै उनले पछिल्लो समयमा पार्टी एकीकरणको नाममा क्रान्तिकारी धारलाई सिध्यान खोजेपनि नसकेपछि नेता रामबहादुर थापा बादल नेतृत्वको समूहलाई अलग गराएको बताए । 

उनले भने, ‘हामी सबै भएर दोस्रो कथित संविधानसभा निर्वाचनको विरोध गरेको हो । अहिले आएर बादलजीहरु त्यही संविधान कार्यान्वयन गर्नुपर्छ भनेर भाषण गर्दै हिड्नु भएको छ ।’

अध्यक्ष किरणले आफूहरुले एकताका लागि गरेको प्रस्ताव गलत मनसायका साथ नराखेको उल्लेख गर्दै उनले सुधार गर्न सकिन्छ भने किन बिग्रिन दिने भनेर आफूले सक्दो प्रयास गरेपनि प्रचण्डले सारसंग्रहवादी र टालटुले प्रस्ताव ल्याएपछि त्यसलाई क्रान्तिकारी शक्तिले स्वीकार गर्न सक्ने अवस्था नभएको बताए । 

‘बादलजीहरु जानुभयो, सरकारमा गएपछि सबै कुरा हुने पनि भयो । त्यसो भइसकेपछि यहाँ बसेर संघर्ष किन गर्ने ?’, उनले प्रश्न गरे, ‘यहाँ हैरानी र परेशानीमात्रै छ भन्ने उहाँहरुलाई लागेको थियो । तर, क्रान्तिकारीको बाटो सधैं उज्वल हुन्छ, क्रान्तिको जित सम्भव छ भन्ने कुरा उहाँहरुले बिर्सनुभयो र नवसंशोधनवादमा पतन हुनुभयो ।’

तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्रको जवाफमा कार्यालयका तर्फबाट आफूले प्रस्ताव तयार पारेपनि बादलले त्यसको विरुद्ध अर्को प्रस्ताव ल्याएको, प्रस्तावमा नयाँ जनवाद छाड्ने, सरकारमा जाने र राष्ट्रिय जनवादको प्रस्ताव अस्पष्ट र गोलमटोल ढंगले प्रस्तुत गरिएको बताए । 

सोही क्रममा सो समूहले पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर अभियान नै चलाएर जनवादी केन्द्रीयतालाई मिचेको, पार्टीले एकताका लागि बनाएको समितिलाई नै छलेर बादल र देव गुरुङले आफूखुसी सहमति गरेपछि एकताको औचित्य समाप्त भएको उनको भनाइ थियो । Mohan Baidhya

उनले अब पार्टीलाई नयाँ आधारमा अघि बढाउने सही समय आएको भन्दै अध्यक्ष किरणले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई सुदृढ गरेर अघि बढ्ने गरी केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराउँदै उनले कार्यकर्तालाई सोही अनुसार अघि बढ्न निर्देशन दिए ।

अहिले आमजनतामा क्रान्तिको नेतृत्व गर्ने विप्लव र संसदको नेतृत्व गर्ने प्रचण्ड भएको भन्दै भ्रम छरिएको प्रसंग उल्लेख गर्दै उनले दुवैको एउटै एजेन्डा रहेको बताए । ‘विप्लवजीहरु एकीकृत क्रान्तिको नाममा सत्ता साझेदार खोजिरहनु भएको छ । प्रचण्डजीको त संसदको उपयोगमात्रै नभएर संसदवादमा नै फँसिसक्नु भएको छ । त्यसकारण उनीहरु दुईमा के फरक छ ?’ उनले भने, ‘दुवैले अबको क्रान्ति कसरी अघि बढ्छ भन्नेबारेमा केही उल्लेख गर्न सकेका छैनन् । हामी नयाँ जनवादी क्रान्तिको दिशामा अब केन्द्रित हुनुपर्छ ।’ उनले अहिले माओवादी केन्द्रको कार्यदिशा र एमालेको कार्यदिशामा भिन्नता नरहेको पनि बताए । 

उनले प्रविधिको विकाससँगै फौजी कार्यदिशालाई पनि नयाँ आधारमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । विगतमा हामीले रुस र चीनको क्रान्तिको फ्युजनको कार्यदिशा अवलम्बन गरेर कन्फ्युजन पैदा भएको भन्दै किरणले अब नेपाली मौलिक विशेषतामा आधारित नयाँ जनवादी क्रान्ति नै कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको मुख्य कार्यदिशा हुने उल्लेख गरे । यसका लागि रुस र चीनको क्रान्तिबाट पाठ सिक्न सकिने उनको भनाई थियो । अध्यक्ष किरणले अब केन्द्रीय समितिदेखि तल्ला समितिसम्म पार्टीको कार्यदिशाबारे बहस र छलफल चलाउने जानकारी दिए । 

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र हजारीलालबाट २५ सय लालतिर अघि बढेको भन्दै उनले ब्यंग्य समेत गरे । पार्टी संगठन निर्माणका लागि क्रान्तिकारी माओवादीले केही योजना समेत तयार गरेको छ ।

सोही अनुसार भदौ महिनाभित्र संगठन सुदृढिकरण, प्रशिक्षण, भेला बैठक र संयुक्त मोर्चा गठनको काम सक्ने, असोज १ गतेदेखि कात्तिक मसान्तसम्म आर्थिक अभियान सञ्चालन गर्ने, मंसिर १ गतेदेखि मसान्तसम्म पार्टी सदस्यता वितरण, नविकरणका काम सक्ने गरी कार्ययोजना ल्याएको उनले जानकारी दिए । 

यसैगरी क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्या समाधानका लागि ध्यानाकर्षण गराउने उद्देश्यले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर आगामी भाद्र २४ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । 

प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले आगामी दिनमा संयुक्त मोर्चालाई सशक्त बनाएर लैजाने बताए । उनले विगतमा संयुक्त मोर्चाले प्रभावकारी भूमिका खेल्न नसकेको उल्लेख गर्दै अब त्यसलाई पुनरावृत्ति हुन नदिने बताए । 

उनले संयुक्त मोर्चा गठनको विषय बाहिर आउनेवित्तिकै त्यसलाई चुनावमा जाने साधनको रुपमा ब्याख्या गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न सबै कार्यकर्तालाई आग्रह गरे । क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनता र जनतन्त्र, जनजीविकाका कार्यक्रमलाई पनि संघर्षको चरणअनुसार संगै लिएर जाने बताए । 

सो प्रशिक्षण कार्यक्रममा नेवा, ताम्सालिङ र भोजपुराका करिब पाँचसय नेता कार्यकर्ताहरु सहभागी थिए ।