काठमाडौं । नेकपा माओवादी केन्द्रबाट आइतबार पाँच मन्त्री र चार राज्यमन्त्री थप गरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आइतबार अपरान्ह अयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी थिइन् भने अन्य चार राज्यमन्त्रीलाई प्रधानमन्त्री दाहालले सिंहदरबारमै सपथ गराएका हुन् । नेकपा माकेका जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, अजयशंकर नायक र धनीराम पौडेलले मन्त्रीको सपथ लिएका हुन् । शर्मालाई उर्जा, कार्कीलाई सूचना तथा सञ्चार, पाण्डेलाई संघीय मामिला तथा स्थानीय विकास, नायकलाई कानून न्याय तथा संसदीय मामिला र पौडललाई विना विभागीय मन्त्रीमा सपथ गराइएको छ ।
मधेसबाट पटक पटक मन्त्री भएका प्रभु शाहलाई नै मन्त्री बनाउने तयारी गरिए पनि शाहले चाहेको मन्त्री नपाएपछि अन्य मन्त्री अस्वीकार गरेका छन् । स्थानीय विकास मन्त्री मागेका शाहलाई कानून मन्त्री दिने दाहालको योजना थियो ।
यस्तै, आइतबार विस्तार गरिएका चार राज्यमन्त्रीमा श्रीप्रसाद जबेगु, धनमाया बिक, राधिका तामाङ र सत्यनारायण भगत छन् । पाँचथरका समानुपातिक सांसद् श्रीप्रसाद जबेगुलाई स्थानीय विकास, धनकुटाकी समानुपातिक सांसद् धनमाया विकलाई विनाविभागीय, नुवाकोटकी समानुपातिक सांसद् राधिका तामाङलाई कृषि विकास तथा रौतहटबाट निर्वाचित सांसद् सत्यनारायण भगतलाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।