अध्यक्ष किरणले गरे १२ बुँदेसँगै भएका खतरनाक सहमतिको खुलासा

प्रकाशित मिति : २०७३ श्रावण २५

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र संसदवादबाट बाहिर निस्कन नसक्ने ठोकुवा गरेका छन् । 

क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको सोमबार कुपण्डोलमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रचण्डले दिल्लीमा भएको १२ बुँदै सहमतिकै क्रममा संसदवादभन्दा दायाँबायाँ नगर्ने सहमति गरेकाले अब उनीबाट क्रान्तिको आशा गर्न नसकिने बताएका हुन् । 

अध्यक्ष किरणले दिल्ली सम्झौताका क्रममा तत्कालीन समयमा अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले भारतसँग संसदीय घेरा तोड्न नपाउने, जनसेना समायोजन नगरी बुझाउने र भारतीय विस्तारवादका विरुद्ध नजाने सहमति गरेको अहिले उनीहरुका व्यवहारले पुष्टि गरेको बताए ।

उनले केही समयअघि पार्टी एकताका नाममा क्रान्तिकारी माओवादी छाडेर गएका नेता रामबहादुर थापा बादल सहितका नेताहरु समेत संसदवादमा फँसेको उल्लेख गर्दै आफूहरुलाई संसदवादी आहालमा डुबाएर सिध्याउने चालबाजी थाहा पाएपछि आफूहरु एकतामा नगएको उनको भनाई थियो ।

अहिले पार्टी एकतामा गएका नेताहरु पश्चातापमा परेको भन्दै उनले विगतमा आफूहरुले बहिस्कार गरेको र संविधान निर्माणपछि पनि आफैले पश्चगामी घोषणा गरेको संविधान कार्यान्वयन बादलसहितका नेताहरुले गर्नुपरेको प्रसंग उल्लेख गर्दै माओवादी केन्द्रले राष्ट्रियतालाई तिलान्जली दिएको उल्लेख गरे ।

एक फरक प्रसंगमा उनले अहिलृ ठूला मिडियाहरुमा क्रान्तिकारीहरु सेन्सरसिपमा परेको उल्लेख गर्दै पञ्चायतकालीन अवस्था जस्तै अहिले पनि पत्रकारहरुले सत्ताको गुणगान गाएमात्रै पत्रकार बन्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता प्रकट गरे ।

अध्यक्ष किरणले माओवादी केन्द्र संसदवादी भासमा फसेको र विप्लव समूहले कार्यदिशालाई नै ठोस गर्न नसकेकाले उनीहरुसँग तत्काल आफ्नो पार्टीको एकताको सम्भावना नरहेको बताए ।

सम्मेलनमा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवाल सदस्य रामसिंह श्रीसले क्रान्तिकारी विचार र लाईनलाई दृढतापूर्वक समात्न सक्नुपर्ने भन्दै थोरैले नै क्रान्तिकारी विचारलाई बचाइराख्न सक्ने बताए ।

सम्मेलनले इन्द्र राउतको संयोजकत्वमा ५१ सदस्यीय नयाँ कार्यमिति चउन गरेको छ ।