काठमाडौं । नुवाकोटमा सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी एक नवजात शिशुसहित ७ जनाको मृत्यु भएको छ ।
गोरखाको सिर्दिवास गाविस–८ फिलिम भन्ने स्थानबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३२ मिनेट जाँदा सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो ।