चितवन । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल क्रान्तिरकारी चितवन जिल्ला समितिले शैक्षिक सुधारका विभिन्न १६ बुँदे मागपत्र पेश गरेको छ ।
अखिल क्रान्तिकारी चितवन जिल्ला समितिको अध्यक्ष अमृत चापागाईको नेतृत्वमा चितवन जिल्ला शिक्षा अधिकारीलाई भेटेर १६ बुँदे मागपत्र बुझाएको हो ।
राणाकालीन समयमा पढ्नका लागि राणा या राजा परिवारमा नै जन्मिनुपर्ने अवस्था जस्तो २१ औं शताब्दीमा गणतन्त्र स्थापना भइसकेपछि पनि शिक्षा जस्तो मौलिक अधिकारमा राज्य गम्भीर बन्न नसकेको र शिक्षामा भइरहेको निजीकरण र व्यापारिकरणको विरोध गरिएको छ ।
क्रान्तिकारीले उच्च माध्यमिक शिक्षालाई अनिवार्य र निशुल्क गर्न, संशोधित शिक्षा ऐन लागु गर्न, सामुदायिक उच्च माविको भौतिक पूर्वाधारको विकास गर्न, निजी क्षेत्रलाई क्रमशः राष्ट्रियकरण गर्दै लैजाने र सहकारी तथा ट्रष्ट मोडेलमा सञ्चालन गर्ने व्यवस्था गर्न, निजी क्षेत्रमा सञ्चालि शिक्षण संस्थामा भौतिक पूर्वाधार निर्माणका लागि विशेष प्राथमिकता दिन माग गरेको छ ।
यसैगरी बिना दर्ता सञ्चालित विद्यालय तथा कन्सलटेन्सी खारेज गर्न, सरकारी विद्यालयमा नियमित अनुमगन, विदेशी नाम राखेर सञ्चालन गरिएका विद्यालयको नाम परिवर्तन गराउँन, विद्यार्थीले चाहेको शिक्षण संस्थामा सहज स्थानान्तरणको व्यवस्था गर्न, भूकम्पमा अभिभावक गुमाएकालाई छात्राबाससहित निशुल्क शिक्षाको ग्यारेन्टी गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ ।