काठमाडौं । नेपालमा क्रान्तिको ठूलो सपना बाँडेर बिचैमा छाडेर संसद छिरेका नेताका छोराछोरीका बिलासी जीवनले दशौं हजार सहिद, घाइते, अंगभंग र वेपत्ता भएकाको सपनालाई गिज्याइरहेको छ ।
कतिपय नेताहरु त मन्त्री बन्न र राजनीतिक नियुक्ति खानका लागि जतिपटक सरकार गिराउन र बनाउन फोहोरी राजनीतिक खेलमा लिप्त मात्रै छैनन् भ्रष्टाचार र संसद किनबेच जस्तो घृणित कार्यमा लागेका समाचार बेलाबेलामा आइरहन्छन् ।
आफूलाई क्रान्तिकारी भनाउनेहरुको यस्तो व्यवहारले उनीहरुको सिद्धान्तलाई गिज्याउँछ भने सिद्धान्त नै फरक भएकाहरुको अवस्था कस्तो होला ? हामीमा प्रश्न उठ्नु स्वभाविक हो ।
तर अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी सासा भने ह्वाइट हाउसको ऐसआरामपूर्ण जीवन छाडेर रेष्टुरेन्टमा काम गर्छिन भन्दा पत्याउन गाह्रो पर्छ तर यो साँचो हो ।
ओबामाकी १५ वर्षीय छोरी सासा गर्मी विदाको समयमा मासाच्युसेट्सको मार्था वाइनयार्डमा एक रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी छन् ।
बोस्टन हेराल्डको रिपोर्टअनुसार साशा अर्था नतासालाई सुरक्षा होस भनेर बेलाबेलामा गुप्तचर विभागका ६ जना एजेन्ट समेत गोप्य रुपमा आउने गरेका छन् ।
ओबामा परिवार विदाको समयमा अक्सर यो सहरमा आउने गर्छन । तस्बिरमा राष्ट्रपति ओबामाकी छोरी सासा रेष्टुरेन्टको वेटरको आधिकारिक पोशाक निलो टिसर्ट र क्यापमा रिसेप्सनमा काम गरिरहेको देखिएको छ ।
सासासँगै काम गर्ने कर्मचारीले उनी रेष्टुरेन्टको तल्लो तलामा काम गर्ने गरेको र उनीसँग अरु केही मानिसहरु पनि आएको बताएका छन् ।
ह्वाइट हाउसमा उनको काम बारे कुनै टिप्पणी भएको छैन तर मिशेल ओबामाले आफ्ना बच्चाहरुलाई सामान्य रुपमा हुर्काउन चाहेको बताउने गरेकी छन् । रिसेप्सनबाहेक उनको काम ग्राहकलाई टेबलमा खाना लगिदिने र लञ्चको समयमा टेबल सफा गर्ने हो ।
पश्चिमी देशका ठूला हस्तीका छोराछोरीले यसप्रकारको काम गर्नु कुनै नौलो कुरा होइन तर, यसबाट हाम्रोजस्तो देशका कथित क्रान्तिकारी नेताका छोराछोरीले केही सिक्ने कि ?