काठमाडौं । सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक हप्ताभित्र राहतस्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
नेकपा माककेका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको शुक्रबार बसेको बैठकले मृतक परिवारलार्य १० लाख दिने निर्णय गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कष्णबहादुर महराले जानकारी दिए । साथै घाइते परिवारको सबै खर्च ब्यहोर्ने तथा पहिले नै भएको खर्च समेत सरकारले तिर्ने निर्णय गरेको छ ।
सरकारले मृतक परिवारको पहिचान तथा समन्वयका लागि सम्बन्धित राजनीतिक दलले सहयोग गर्ने र आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको मन्त्री महराले बताए ।
सरकारले आन्दोलनका घाइतेले आफ्नै खर्चले उपचार गराएको भए घाइते र अनुमानित खर्चको विवरण सम्बन्धित दलले यकिन गरी पेस गरेपछि मन्त्रालयले उपयुक्त खर्च मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेकाहरूको मुद्दा र बन्दी रिहाइसँग सम्बन्धित विवरण मन्त्रालयले एक हप्ताभित्र तयार गर्ने तथा आन्दोलनका क्रममा अपाङ्ग भएकाहरूको विवरण दुई हप्ताभित्रमा सङ्कलन गर्ने निर्णय भएको महराले जानकारी दिए ।
सरकार तराई–मधेस आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडका घटनाको उच्च छानबिनका लागि आयोग गठन गर्न गृह मन्त्रालयले एक हप्तामा प्रक्रिया सुरु गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग शुक्रबार विहान वार्ता भइ तीन बुँदे सहमति भएपछि मन्त्रिपरिषद् बैठकले वार्ताको सहमति कार्यान्वयन गरेको हो । सरकारको यो निर्णयसँगै मोर्चाका नेताहरु पनि खुशी देखिएका छन् ।