माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

Prachanda-1काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित बनेका छन् ।

बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दलको साथ पाएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता समेत बनेका छन् ।

यसअघि गणतन्त्र स्थापनाअघि पहिलो प्रधानमन्त्री बनेका थिए भने उनीभन्दा अघि मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै उनीभन्दा पछि एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र केपी शर्मा ओली कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।

व्यवस्थापिका संसदमा हाल रहेको सदस्य संख्या ५९१ मध्ये संसदमा ५७३ जनाको उपस्थिति रहेको थियो । प्रचण्डको पक्षमा ३ सय ६३ मत र विपक्षमा २१० मत मात्रै परेपछि प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिएपछि उनकोमात्रै उम्मेदवारी परेको थियो ।

उनको उम्मेदवारीको पक्षमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपालगायत संसदका १६ वटा दलको समर्थन प्राप्त भएको छ भने उनको विपक्षमा एमाले, राप्रपा नेपाल, नेमकिपालगायतका दल रहेका थिए ।