अध्यक्ष ज्यू नमस्कार,
कुशलताको कामना कार्यसफलताको कामना । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष भएको लामो समयपछि मुख्य काम थाल्नु भएको छ, शुभकामना नदिइ रहन सकिन् । शुभकामनासँगै आशंका पनि उत्पन्न भएको छ तपाईँको यो कामले मेरो खाटा बसिसकेको घाउ कोट्याएर फेरी आलो बनाइ त छाड्ने होइन् ?
म विधुर ढकाल नागरिकताको नाम । घर परिवारका सबैले सानै देखि दिनेश भनेर बोलाउँछन् । साथीभाइले विधुर भन्दा घरछिमेककाले दिनेश भनेर चिन्छन् ।
अहिले २४ वर्षको भएँ । आजभन्दा १२ वर्ष अगाडिको म १२ वर्षकै थिएँ । त्यतिवेला नाबालक नै ।
मेरो घर रुपन्देही जिल्लाको रुद्रपुर गाविस वडा नं. ४ गरगरे ।
१२ वर्ष अगाडि म कक्षा ८ मा पढ्दै थिएँ ।
२०६१ साल मंसिर २ गते राति ३ गते विहान, एक्कासी हाम्रो घरमा तत्कालिन शाही नेपाली सेनासहितको युनिफाइड कमाण्डको टोलीले घेरा हाल्यो । विहानको २ बजेका थियो । घर भित्र सेनाका जवानहरु प्रवेश गरे ।
मस्त निन्द्रामा थिएँ । दाइ एउटै कोठमा थियौँ सुतिरहेका । परिवारका अन्य सदस्यहरु अन्य कोठमा ।
बाहिर एक नासको धान झाँटेझै एक नासको आवाज आइरहेको थियो । भित्र सेनाको कर्कस आवाज, मा…. र मु….को गाली ।
म भन्दा पहिले नै दाइ व्यूँझिसकेको थियो । मेरो सिरानमा एउटा पुस्तक थियो । पुस्तकमा सहिद दाजु गणेश ढकालको बारेमा लेखिएको थियो । गणेश दाइलाई सेनाले २०५९ सालमा नै हत्या गरिसकेको थियो । उनको नाममा लेखिएको उक्त पुस्तक सेनाको हातमा लाग्यो ।
म पढ्ने टेवलमा मैले कविता लेख्ने डायरी थियो । मैले सानै देखि कविताहरु लेख्दै आएको थिएँ । विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा सहभागि भइ पुरस्कार पनि हाँसिल गर्दै आएको थिएँ । त्यस डायरीको अन्तिम कविता आज मलाई पनि याद छ, ‘अपहरित म…’
लेख्य रुपमा उक्त कविता मसँग छैन, तर पनि मानसपटलमा उक्त कविता मलाई ताजै छ । फेरि पनि त्यो कविता मैले लेखिन् । तर धेरै स्थानमा सुनाएँ । आज फेरि सुनाउँदै छु, लेख्दै छु । कविता यस्तो थियोः
अपहरित ‘म’
अस्ती राती अपहरित भएँ ,
हिजो राती
मलाई लामो दुरी हिँडाइयो ।
जंगल, पहाड, खोला नाला पार गर्दै,
एउटा खोँच,
एउटा सोँचमा पुराइयो ।
युद्धका बारेमा प्रवचन दिइयो,
लामा सिद्धान्त रटाइयो ।
एउटा पढ्दै गरेका दिमागमा
सुगा रटाईँ झै ।
हिजो राति मलाई तालिम दिइयो,
इन्सास, एसएमजी, स्वचालित हतियार चलाउन
पोख्त पारियो ।
सिद्धान्तले लैस बनाइयो ।
अब म युद्धका कथा फरर भन्न सक्ने भएँ,
सिद्धान्तका पाठ फरर भन्न सक्ने भएँ ।
अधिकारका कुरा
शोषणका कुरा कन्ठष्त पारिसकेको थिएँ ।
स्वचालित हतियार चलाउन सक्ने भएँ ।
दुश्मनालाई निसाना मजैले साँध्न सक्ने भएँ,
एम्बुस थाप्न र पड्काउन पनि सक्ने भएँ ।
अब म एउटा निपूर्ण योद्धा भएँ ।
आज राती डिभिजनको बैठक बस्यो
कमाण्डरहरुले रिपोर्ट गरेँ ।
वैठकमा एजेण्डा उठ्यो
एउटा ब्रिगेडको कमाण्डर
कामरेड समर अर्थात ‘म’
एउटा मोर्चा समाल्न जाँदै छु ।
साँची अपहरित म
दुस्मनको किल्लामा धावा बोल्न जाँदै छु ।
आज राति मेरो जिम्मामा परेको छ
…………किल्ला ।
जहाँ जानु छ,
धावा बोल्नु छ ।
अधिकारका लागि राज्यसत्तामा कम्पन दिनु छ ।
साँच्चै अपहरित म
अधिकार के हो थाहा छैन् ?
तर पनि अधिकारका लागि राज्यसत्ता
कब्जा गर्न जाँदै छु ।
त्यतिवेला माओवादी जनयुद्ध चरम उत्कर्ष तिर थियो । जननिर्वाचित संसद विगठन गरी राजा ज्ञानेन्द्रले एक पटक सत्ता आफ्नो हातमा लिइसकेका थिएँ । पछि आँफैले असक्षम घोषणा गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।
एकातिर गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली काँग्रेस प्रतिगमनका विरुद्ध आन्दोलनको मन्त्र जप्दै थियो । अर्को तिर भाइ काँग्रेस देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेस प्रतिगमन आधा सच्चियो भन्दै सरकारको नेतृत्वमा थियो । साथमा नेकपा एमाले पनि थियो । यहि वेला माओवादीले राज्यसत्तालाई अन्तिम प्रहार गर्ने भन्दै रणनीतिक योजना बनाइ रहेको थियो । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ मिलन लामाले माझिदाई पोखरा फेवा तालको बोल भर्खरै निकालेका थिए । यही फेवा ताल आसपास गण्डक क्षेत्रमा माओवादीको सैन्य पहुँच बढिरहेको थियो ।
यस्तै अवस्थामा समाचारहरु आँउदै थिए, माओवादीले जनसेनामा भर्ति गराउनका लागि गाँउ गाँउमा उर्दी जारी गर्दै छन् । आफ्नो सेनामा भर्ति गराउनका लागि विद्यालयबाट बालबालिकाहरु ‘अपहरण’ गर्दै छन् । तालिम दिँदै छन् ।
हो यही सेरोफेरोमा लेखिएको थियो यो कविता ।
यो कविताको अर्को संयोग के पनि थियो भने, दुई रातको बयान एउटा मसिले लेखिएको थियो । त्यसपछि कलमको मसि सकियो र अर्कै मसी भएको कलमको प्रयोग गरेको थिएँ । सेनाको नजरमा माथिल्ला दुई रातको बयान म आँफै गरेको हुँ । तेस्रो रातको बयान कामरेड समरले गरेको थियो । अर्थात उनीहरुको नजरमा मात्र १२ वर्षको म कामरेड समर भएँ । एउटा कमाण्डर भएँ ।
मलाई घरबाट बाहिर निकालियो । मंसिरको विहानी चिसो तीन बज्ने तरखर गर्दै थियो । सुतिरहेको म, एउटा सामान्य सेण्डो र एउटा कट्टुमा थिएँ । जाडोले लगलग कामिरहेको । दुईजना मसँगै थिए ।
एउटाले भन्यो ‘कामरेड अझै पनि तपाईँ यतै हुनुहुन्छ ?, तपाईँले र मैले सँगै क्रान्तिकारीको सदस्यता लिएको, मैले छाडेर सेना भएँ, तपाईँ अझै पनि यही ?’ यस्तो भन्दा अचम्ममा परेँ । ‘म’ कामरेड ? मलाई नै थाहा थिएन् ।
अर्को भन्दै थियो, ‘यस्ता आतंककारीसँग के गफ गरेको यस्तालाई त बमले उडाउनु पर्छ । (घर नजिकैको गोठ नजिक लगिएको थियो), यीनिहरुले बम र बन्दुकहरु गोलामा गोठमा, थारामा परालको टौवामा लुकाउँछन्, यो जलाइ दिनु पर्छ ।’
यस्तै गर्दा जाडोमा मानसिक यातना दिइँदै थियो । म भित्र छँदा सुनिएको ‘धान चुटाई’ बन्द भइसकेको थियो । (यो धान चुटाई स्थानीय बुवा कमल पौडेललाई गरेको निर्मम कुटाइ थियो पछि थाहा भयो) उनलाई सोही दिन नजिकै जंगलमा लगेर गोली हानि हत्या गरियो । हत्या गरेपछि सेनाले आरोप लगाएको थियो, ‘बम हानेर भाग्दै गर्दा जवाफि कारवाहीमा आतंककारीको मृत्यु ।’
विचरा हात बाँधेर चुट्नु चुटेर हत्या गरिएको थियो । एउटा ६० वर्ष नागेको अवस्थाको मान्छे, निर्मम याताना पछि बम हानेर भाग्न सक्ने अवस्थामा हुन्छ की हुँदैन आफ्नो ठाँउमा छ । अर्को कुरा शरीरमा एकसरो कपडा नटिक्ने अवस्थासम्म कुटिएको मानिसले कहाँबाट सकेट बम हान्न सक्ला ? सिधै सेनाले झुटको खेती गरेको भन्ने प्रष्ट रुपमा जो कसैले पनि बुझ्छ ।
बाहिरको चुटाई बन्द भएसँगै भित्र कोठमामा दाइको चिच्याहट सुरु भयो । सँगै म माथि पनि । केही लामो कपाल भएको मलाई कपाल उखलिदिए । चरम कुटाइले पीडा भुलेको मलाई याद नै थिएन् मेरा टाउकोमा रम नै छैनन् । टुप्पीमा अझै पनि एक इञ्च भन्दा भन्दा ठूलो वृत्ताकारको टाटो छ ।
त्यतिकैमा ती राउण्ड गोलीको आवाज आयो (उक्त गोली कमल पौडेललाई हानिएको थियो) । त्यसपछि उनीहरुले मलाई एउटा नाम भने भोली सालझण्डी जानु, क्याप्टेन विमल गिरीलाई भेट्नु । गोलीको आवाज सँगै हाम्रो घर घेरा हालेका सेनाहरु पनि निस्किए । घरभित्र रुवाबासी थियो ।
हाम्रो घर देखि करिव ५०० मिटरको दुरीमा सडकमा रगत र गोलीका खोका देखिए । पहिला घरमा चर्पी बनाउने त्यति चलन पनि थिएन्, मानिसहरु विहान बोतलमा पानी लिएर दिसा बस्न जंगलमा नै जान्थे । यही क्रममा कसैले जंगलको बीचमा सानो खाडलमा स्याउलाले छोपिएको अवस्थामा कमल पौडेलको लास फेला पारेका थिए ।
त्यसको दुई दिन घरमा बस्न सक्ने थिएन् । सेना फर्किँदै भन्ने सुनियो । फेरी पनि यातना दिन्छ भन्ने डर थियो । बुटवलबाट मानवअधिकारबादीहरु कमल पौडेलको शव निकाल्न आएका थिए । उक्त स्थानमा गाँउका अनेक भेला भएका थिए । घर नजिकैको उक्त स्थानमा हामी जान सक्ने अवस्थामा थिएनौँ । गएनौँ । विछप्ति अवस्थामा ।
सेना फेरी फर्किने र फेरी यातना दिने डर थियो । त्यसैले घर पनि बसेनौँ । १२ को म १३ को दाई त्यस दिन कपिलबस्तु गयौँ । बुवाकी फुपुकोमा । त्यस रात त्यही बसियो । त्यहाँ पनि उस्तै डर थियो । चार गते विहान अंकल (बुवाकी फुपुको छोरा हरी)लाई घरमा गएर केही पैसा ल्याइदिन भन्यौँ । अनी त्यसपछि अन्त कतै जाने वा माओवादी योद्धा बनेर युद्धमा सामेल हुने दुई भाइको निचोड थियो ।
अंकलले पैसा लिएर आएनन् । दुईवटा पत्रिका लिए । त्यहाँ हामीलाई दिइएको यातनासँगै कमल पौडेलको हत्याको बारेमा समाचार थियो । समाचारमा मानवअधिकारबादीले विरोध जनाएका थिए ।
बाबा लिन आउनुहुन्छ । कहिँ जानु पर्दैन भन्ने मम्मीको सन्देश थियो । त्यसै गर्यौँ । चार गते राती करिब ९ बजे तिर बुबा हामी भएको ठाँउमा आइपुग्नु भयो साइकलमा । ल जाँउ मरे सँगै मरौँला बाँचे सँगै घर जाउँ भनेर भन्नु यो । हामी एउटा साइकलमा तीन जना बाबु छोरा घर गयौँ । घर पुग्दा करिब एक दुई बजेको थियो ।
२०६१ साल मंसिर ५ गते, नोभेम्बर २० (अन्तर्राष्ट्रिय बाल अधिकार दिवस) विहान
घरमा पुस्तक पसल थियो । विहान ६ बजे तिर घरका सबै उठिसेका थिए । म पनि उठेर पसल खोल्दै थिएँ । आडैमा रहेको मिठाइ पसलमा एक जना युनिफर्म लगाएको पुलिसले सोध्यो । चुडामणी ढकालको घर कुन हो । अर्कोले आडैमा रहेको सेना बोल्यो । यी यो रहेछ । पसलको बोडमा लेखिएको थियो प्रो. चुडामणी ढकाल त्यही हेरेर उसले ठोकुवा गरेका थियो ।
सेनाले त्यतिवेलासम्म घर घेरा हालिसकेका थिए । उनीहरु आए पछि हाम्रो परिवारका बुबा म र मेरो दाईलाई समेत गिरफ्तार गरे । गाँउका अन्य केहीलाई पनि उनीहरुले गिरफ्तार गरेका थिए । उनीहरुलाई ३ गते कमल पौडेलको हत्याको घटनामा मुचुल्कामा सिग्नेचर गराउन लगिएको भन्ने भयो ।
घर देखि केही दुरी हिडाइयो । जंगलको बाटो हिँडाउँदा अब मरिन्छ की भन्ने भयो । अब मार्छन भन्ने मनमा डर थियो । घरका अरुलाई पनि त्यही भान भइसकेको थियो ।
मम्मीले वुटवल काइलाे बुवालाई फोन गरेर हामीलाई आर्मिले लगेको कुरा बताउनु भएछ । काइलोबुवाले त्यहाँबाट स्थानीय एफएम रेडियोमा यस बारेमा खबर दिनुभयो ।
हामीलाई जंगलको बीचबाट एउटा बालुवा बोक्ने ट्रकमा हालियो । त्यसपछि फायरलाईनमा एउटा सार्वजनिक बसमा चडाइयो । करिब नौ बजे तिर सालझण्डीस्थित युनिफाइड कमाण्डको व्यारेकमा पुराइयो । बुबा र अरु पक्राउ गरी ल्याइएका लागि बाहिर राखियो । मलाई एक्लै भित्र लगियो । भित्र एक्लै अनेक मानसिक याताना दिइयो । हत्या गर्नेसम्मको धम्की दिइयो । अझै पनि त्यसको मानसिक असर बाँकी नै छन् । राति सपनाले अझै पनि झस्काउँछ ।
एउटा सेनाको जवान आँउछ, मा…. र मु…. को गाली दिएर लात्ताले हानेर जान्छ । अर्को आएर नरम भाषामा सोध्छ, भाइ तेरो पढाइ यति राम्रो रहिछ, किन आतंककारी भएको पढेर ठूलो भए पनि हामी जस्तो मान्छे बन्न सक्छस् ।
मलाई मृत्युको पर्खाइ थियो । त्यसैले अब डर भन्ने पनि हटिसकेको थियो । मैले जवाफ फर्काउँथे, ‘मलाई तपाईँ जस्तै मान्छे मार्ने बन्नु छैन् ।’
फेरी भन्छ, ‘यति सानैमा तलाईँ कसरी बन्दुकहरुको नाम आयो ? बम गोलाका मात्र कविता लेखिरहेको छस, चराचुरुंगीको लेख न बरु ।’
मैले फेरी जवाफ दिन्छु, ‘सर अब तपाईँहरुले नै यति नाल इन्सास, थ्रिनटथ्री बरामद यो यति थान बरामद भन्नु हुन्छ, अनी कण्ठ भइहाल्यो नी, फेरी चराचुरुंगी तपाईँका बन्दुकका निसाना बनिसके कसरी तिनको बारेमा लेख्नु ।’ मेरो साहित्यीक जवाफ थियो ।
उ आजित भए जान्छ ।
फेरी कपाल रातो बनाएको, जो अघिल्लो रात मलाई चरम यातना दिएको थियो, उ आँउछ । परै देखि कराउँदै ।
‘अरे साले यो आतंककारीलाई यहाँ किन जिउँदै राखेको ?’ आउन नपाउँदै एक भ्वाक लात्ताले हान्छ । ‘यसलाई पनि उतै जंगलमा मार्नु पर्ने नी ?’ फेरी कराउँछ । मा………मु…..को गाली । उसको मुखमा खाली यहीबाहेक अरु शुद्ध शब्द मैले सुनिन् ।
‘त्यो गरगरे चोकमा असइ काट्ने पनि यही होइन्?’, अर्को सेना आँउछ कड्केर चिच्याउँछ ।
होइन सर त्यतिवेला म स्कुलमा थिएँ । मेरो स्कुल त्यहाँ देखि पर छ । मैले त चार बजेपछि मात्र थाहा पाएको ।
‘जंगलमा पुलिसको जीप एम्बुसमा पारेर भाग्ने नी यही हो, त्यो वेला यसको स्कुल छुटेको थियो ।’ अर्को आवाज ।
वनको गाडी जलाउने नी यही हो । यस्तै आवाजसहितका यातनाले शरीर पुरै शिथिल भइसकेको थियो ।
यसरी नै चरम यातना खेप्दै बसिरहेको म केही समय पछि एउटा अर्को सिपाही आँउछ । नुनको सोझो गर्नु पर्ने बाध्यता बोकेको ।
नामः लेखनाथ पौडेल,
घरः धादिङ,
दर्जाः सिपाही ।
म धन्यवाद दिन्छु । यी जवानलाई । मलाई आर्मीको बंकरभित्र साहारा दिनेलाई ।
मुख सुकेको थियो । पानी समेत खान पाएको थिइन् । त्यतिवेला खुब चलेको बनना चुईगम हातमा लिएर उ आउँछ । भाइ ला खा । आवाज कर्कस भए पनि भाइ शब्दले कही तानेको थियो । तर पनि मबाट केही झार्नको लागि काउलो पारेको आभास मलाई थियो ।
खान्न । सटिक जवाफ दिएँ ।
खा केही पनि हालेको छैन् । विष हालेको भनिस की ? होइन् । यी आदा म खान्छु आदा तँ खा । उसले बननाको चुइगमको आदा आँफूले खायो र आदा मलाई दियो ।
त्यही आदा चुइमगमले पनि भित्र आँत चिसो बनायो । केही पल बाँचिन्छ की भन्ने भयो ।
के गर्छस भाइ यस्तै हो नुनको सोझो गर्नै परो । सरकारको नुन खाए पनि यस्तै रैछ । हामीले भनेर केही नहुने । माथिकाले जे भन्छन् त्यही गर्नु पर्यो ।
अर्को कुरा तेरो रिहाइको लागि आर्मी क्याम्प घेर्न आउँदै छन् भन्ने सुनेको छु । बाहिर धेरै विरोध भएको छ । तलाई छाड्छन् अब ।
यो सुनेपछि भने केही आशा पलायो ।
एकै छिनमा पहिलेकै रातो कपाल वाला आयो । ओइ मा…… यसमा सिग्नेचर गर मु……………
खाली कागज थियो । मैले खाली कागजमा सही गर्न मानिन् । पहिले के हो लेख्ुनपर्ने लेख्नु अनी मात्र । अब त म पनि अली दरो भएको थिएँ ।
उसले एउटा खेस्रा तयार गर्यो ।
‘………….आतंककारी गतिविधिमा संलग्न रहेको हुँदा अब आइन्दा नलाग्ने सर्तमा छाडियो…………..’
मैले यसमा पनि सही गर्न मानिरहेको थिइन् । किनकी म आतंक कारी गतिविधिमा लागेकै थिइन् ।
तर पछि उही लेखनाथ पौडेलले आएर केही हुँदैन सही गर भनेर भने पछि भने गरेँ । र फेरी खुला आकासमा निस्किन पाएँ ।
अध्यक्ष ज्यू,
मेरो शरीरमा लागेका घाउमा खाटा बसिकेको छ । दुख्न छाडेका छन् । मानिसिक रुपमा कहिले काँही राती सपनामा झस्कने मात्रै हो । तपाईँले कारवाही गर्छु भन्दै उजुरी माग्नु भएको रहेछ । उजुरी त दिन्छु तर त्यही उजुरीले मेरा खाटा बसेका घाउ फेरी कोटिन्छन की ? फेरी मानसिक यातानामा पो पर्छुकी ? डर लागिरहेको छ । तपाईँको सत्य निरुपण तथा मेलमिलाप आयोगले मेरो घाउमा मलम लगाइदिने भए पक्कै पनि मसँग जम्मा भएका उजुरीका फाइल बुझाउने छु । तपाईँको जवाफको प्रतिक्षमा ।
उही बालक
दिनेश