काठमाडौं । अत्यधिक मससुनी वर्षाको कारणले निकै प्रभावित हुन पुगेको प्युठान जिल्लाको फोप्ली गाविसमा शिघ्र राहत र उद्धारका कामहरु पुगून् भन्ने उद्देश्यले शुक्रवार हेलिकप्टरबाट गरिन थालेको काम सफल हुन सकेन ।
नेपाली सेनाको एक टुकडी त्यहां पुगेर हेलिकप्टर बस्ने सङ्केत लेखेर तयार गरे पनि बाक्लो कुहिरो र सिमसिम पानीका कारणले प्रयास विफल हुन गएको स्थानीयहरु बताउंछन् । सहयोगका लागि कोही पनि नआउने र आफूहरु चारैतिरबाट पहिरोले घेरिएको अवस्थामा रहंदा मनमा खिन्नता पैदा भएर निराश मात्र आउने स्थानीयहरुले त्यहां पुगेका सेनाहरुसामु गुनासो गरे ।
अग्ला लेकका फेदीहरुमा बाक्लो कुहिरोले ढाके पनि लेकका टुप्पाहरु कहिलेकाहिं त कुहिरो हटेर सर्लक्क खुल्ला पनि हुने गर्दथे । तर छिनभरमा नै कुहिरोले ढाकिने भएकाले हेलीकप्टर तुरन्त गएर राहत सामग्री झारेर उडिहाल्ने अवस्था पनि थिएन ।
अर्को कुरा त्यहां वातावरण नै शोकमग्न छ र स्थानीय जनताले मानवीय तथा भौतिक सहयोगको अपेक्षा गरिरहेका छन् ।