सप्तरीको ‘तिलाठी’ भारतीय हस्तक्षेपविरुद्धको सशक्त प्रतिरोध !

सप्तरीको ‘तिलाठी’ भारतीय हस्तक्षेपविरुद्धको सशक्त प्रतिरोध !

‘मरता तो क्या नही करता’ भन्ने स्थितिमा भारतीय ज्यादतीको सप्तरी तिलाठीका जनताले सशक्त प्रतिरोध गरेका छन् । काठमाडौंका शासकहरुलाई यखितर सप्तरीको ‘तिलाठी’ राष्ट्रियताको पाठ सिकाउने थलो मात्र होइन, भारतीय हस्तक्षेप विरुद्ध प्रतिरोधको पनि केन्द्र बन्न पुगेको छ । काठमाडौंका शासकहरुभन्दा दसगजामा बस्ने जनता ‘कैयौं गुणा’ बढी राष्ट्रवादी छन् भन्ने कुरा यस घटनाले पनि प्रष्ट पारेको छ । वास्तवमा शासकहरुले राष्ट्रियताको पाठ दशगजामा बस्ने नेपाली जनताबाट सिक्न जरुरी छ ।
राष्ट्रभक्तिको सलाम गर्नेपर्छ– तिलाठीबासीहरुलाई । महान सहिद साकेतचन्द्र मिश्रको जन्मभूमि तिलाठीप्रति सिङ्गो नेपाल र नेपालीहरुले यतिखेर गर्वानुभूति गरेका छन् । यस प्रतिरोध आन्दोलनमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादव, हर्षबद्र्धन कर्ण, संजीव झा, रोशन झा, सुशिल यादव, शंकर यादवसहित १४ नेपालीले मातृभूमिको रक्षाका लागि बगाएको रगतको मूल्य साँच्चै नै महान छ । राज्यले घाइतेहरुको यथाशिघ्र निःशुल्क स्वाथ्योपचार गर्न जरुरी छ ।
तिलाठीका जनताको यो प्रतिरोध आन्दोलनले भारतीय पक्षलाई पछि हट्न बाध्य पारेको छ । अब भारतीय पक्षले त्यो बाँध नबनाउने भएको छ । भारत र नेपालका स्थानीय अधिकारीहरुको कुनौली सीमामा भएको वार्ताले बाँध नबनाउने सहमति गरेको छ । यो प्रतिरोधले भारतीय ज्यादतीलाई गतिलो पाठ सिकाएको छ । दशजगामा यस्तै प्रतिरोध आन्दोलनहरु ठाउँ ठाउँमा उठ्न जरुरी छ । भारतीय ज्यादती विरुद्ध जनस्तरबाट नै प्रतिरोध आन्दोलन नउठाएसम्म सीमाका जनताले भारतीय ज्यादतीबाट मुक्ति पाउने सम्भावना छैन । राज्य भएर पनि नभएजस्तै छ । शासहरु भारतीय सत्तासिन वर्गको तावेदारीमा लिप्त छ । सत्तामा पुग्न र सत्तामा टिकीरहन दिनरात दिल्लीकै चाकडीमा शासहरु, नेताहरु मग्न छन् । जनताले भोगीरहेका समस्याहरुप्रति राज्य पूरै उदासिन छ ।

भारतसँग सीमा जोडिएका दर्जनौं ठाउँमा भारतले यसरी नै बाँध बाधेर नेपाली भूभाग डुबानमा पार्दै आएको छ । सीमाका हजारौं नेपालीहरु डुवानका कारण विस्थापित बन्नुपर्ने स्थिति पैदा भइरहेको छ । ठाउँ ठाउँमा यस्ता प्रतिरोध हुने गरेको भएपनि तिलाठीको जत्तिको चर्चा पाउन सकेका छैनन् । र, अधिकांश प्रतिरोध भारतीय सीमा सुरक्षा बलका कारण दबाइएको छ । नेपालीहरु निमुखा भएर भारतीय पक्षको सँधै ज्यादती सहन वाध्य हुनु परेको छ । दिनदिनै सीमा मिचिएको छ । रातारात जंगे पिलरहरु गायब हुने गरेका छन् । दिनदिनै नेपाली चेलीहरुको सीमामा अस्मिता लुटिएको छ । घास, दाउरा, मेलापात जाँदा नेपालीहरु एसएसबीको गोलीका शिकार भएका छन् । यस्तो ज्यादतीका विरुद्ध दशजगाका नेपालीहरु दिनदिनै लडिरहेका छन्, तर उनीहरुले यो लडाइँमा काठमाडौका शासकहरुको साथ पाउन सकेका छैनन् ।
भारतले वर्षौँदेखि प्रचलित अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त, प्रावधान र व्यवहारविपरीत दशगजा क्षेत्रमा एकतर्फी रुपमा जबर्जस्ती बाँध, तटबन्ध, सडक लगायत संरचनाहरु निर्माण गर्दै आइरहेको छ । जुनसुकै बहाना र प्रयोजनका लागि निर्माण गरिएको भएपनि यी संरचनाहरु गैरकानूनी, अनुचित र अपराधजन्य छन् । यस्ता सबै बाँध, सडक र तटबन्धहरु भत्काइनुपर्छ । र, नेपाली राष्ट्रियता तथा जनजीवनमा प्रतिकूल असर पर्ने कुनै पनि कार्य भारतीय पक्षले गर्नु हुँदैन ।
नेपाल एउटा सार्वभौम राष्ट्र हो । यही भारत बेलायती साम्राज्यवादको गुलाम हुँदा पनि नेपाल स्वतन्त्र रह्यो । नेपाली वीरयोद्धाहरुले बलिदानीपूर्वक नेपाललाई स्वतन्त्र र सार्वभौम हैसियतमा राखे । तर ००७ सालदेखि यता नेपाली शासकहरुमा रहेको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रका कारण नेपाल भारतीय सत्तासिनवर्गको अप्रत्यक्ष रुपमा गुलाम बन्दै आइरहेको छ । शासकहरुको यही गुलामी प्रवृत्ति विरुद्ध विद्रोहको झिल्को हो, सप्तरीको तिलाठी ।
विश्वमान चित्रमा नेपाललाई सार्वभौम र स्वतन्त्र तथा स्वाभीमानी राष्ट्रको हैसियतमा राख्न चौतर्फी रुपमा रहेको भारतीय हस्तक्षेपको चौतर्फी प्रतिरोध गरिन जरुरी छ । हजारौं तिलाठीहरुले दशजग्गामा यसरी नै प्रतिरोध आन्दोलनहरु उठाउन जरुरी छ । यस्ता प्रतिरोध आन्दोलनले मात्र वर्षौंदेखिको भारतीय हस्तक्षेप र ज्यादतीहरुलाई ठेगान लगाउन सक्नेछ ।