सेप्टेम्बर ११ काे आक्रमणबारे गुप्तचर रिपोर्ट सार्वजनिक

सेप्टेम्बर ११ काे आक्रमणबारे गुप्तचर रिपोर्ट सार्वजनिक

September-11एजेन्सी/वासिंगटन । अमेरिकी काँग्रेसले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा भएको आतंकवादी आक्रमण सम्बन्धि २८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा आक्रमणकारी र साउदी अबरबीचको सम्बन्धको समेत ब्याख्या गरिएको छ ।

दस्तावेजमा आक्रमणकारी र साउदी सरकारबीच कुनै औपचारिक सम्बन्ध नभएको देखिएको छ । तर साउदीकै कुनै व्यक्तिबाट आर्थिक सहयोग भने प्राप्त भएको हुनसक्ने औल्याइएको छ । यो दस्तावेज सार्वजनिक गर्ने विषयमा अमेरिकी कांग्रेस र अमेरिकी प्रशासनबीच वर्षौ बहस चलेको थियो ।

आक्रमणका क्रममा मारिएकाका परिवारले रिपोर्ट सार्वजनिक गर्न दबाब दिँदै आएका थिए । यो दस्तावेज ११ सेप्टेम्बरको आक्रमणमाथिको २००२ को कांग्रेसको छानविन रिपोर्टको मुख्य अंग हो । केही अमेरिकी अधिकारीहरु भने यो प्रतिवेदनले अमेरिका र साउदी अरबबीचको सम्बन्ध विग्रने भन्दै यसको विपक्षमा थिए ।

यो दस्तावेज जारी नभएपनि उक्त आक्रमणमा साउदी अरबको भूमिकाको विषयमा बारम्बार प्रश्न चिन्ह उठ्ने गरेको थियो । ११ सेप्टेम्बरको आक्रणममा संलग्न १९ आक्रमणकारीमध्ये १५ जना साउदी नागरिक थिए ।

रिपोर्टमा भनिएको छ, ‘एफबीआई र सीआईएका दस्तावेजअनुसार ११ सेप्टेम्बरको केही आक्रमणकारी अमेरिका पुगेका बेला सम्भवतः साउदीसँग जोडिएको केही व्यक्तिसँग सम्पर्कमा थिए ।’ ओमर अल बयुमी नामक एक साउदी गुप्तचर अधिकारी दुई आक्रमणकारीसँग क्यालिफोर्नियाको सान डिएगो सहरमा एक सार्वजनिक कार्यक्रममा भेटिएको जनाइएको छ ।

‘क्यालिफोर्निया पुगेको दुई महिनापछि ती अधिकारीको तलब ४६५ डलरबाट बढेर प्रतिमहिना ३ हजार ७ सय डलर भएको थियो,’ रिपोर्टमा भनिएको छ ।

सन् १९९९ मा दुई आक्रमणकारी फिनिक्सबाट वासिंगटन जाने क्रममा विमानका कर्मचारीसँग विमानको प्राविधिक पक्षबारे सोधपुछ गरिरहेको र ती मध्ये एकले विमानको ककपिटमा छिर्ने प्रयास गरेका कारण विमान आपतकालीन रुपमा अवतरण गर्नुपरेको तर उनीहरुमाथि मुद्दा दायर नभएको उल्लेख गरिएको छ ।

त्यसबेला नै उनीहरु ऋलकायदा या अरु कुनै आतंकवादी संगठनमा आबद्ध रहेको जनाइएपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि नहुँदा कुनै कारबाही हुन सकेको थिएन ।

अमेरिकी गुप्तचर एजेन्सीका सर्वोच्च कमाण्ड सम्हालेका अफिस अफ दी डायरेक्टर अफ नेशनल इन्टेलिजेन्स (डीएनआई) ले रिपोर्ट सार्वजनिक भएपनि यसमा सामेल तथ्यबारे गुप्तचर एजेन्सीको सहमति रहेको अर्थ नलाग्ने बताएको छ ।

साउदी अरबले भने अमेरिकाले आक्रमणमा साउदीको संलग्नताका बारेमा राख्दै आएको आशंका निवारण भएको भन्दै प्रतिवेदनको समर्थन गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेष्टले प्रतिवेदनमा ११ सेप्टेम्बरको आक्रमणका साउदीको संलग्नताको कुनै प्रमाण नभेटिएको जनाएका छन् । साउदी अरब र अमेरिकाबीच पछिल्लो समयमा यही विषयमा सम्बन्धमा तित्तता आएको थियो ।