सुर्खेत । गोरखा केन्द्र भएर ठूलो भूकम्प गएको डेढ वर्ष नपुग्दै सुदूरपश्चिममा ठूलो भूकम्पको त्रासदी बढेको छ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबारदेखि ५ रेक्टर भन्दा मुनीको साना भूकम्प लगातार गएपछि ठूलो भूकम्पको त्रासदी बढेको हो ।
बुधबार दिउँसो २ बजे ५ रेक्टर स्केलको भूकम्प गएपछि विहीबार दिउँसोसम्म क्रमशः २१ पटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुई दिनदेखि लगातार भूकम्प गएपछि बझाङ र आसपासका जिल्लाका बासिन्दाहरु त्रसित भएका छन् ।
साना भूकम्प गइरहँदा ठूलो भूकम्पको खतरा हुने भन्दै भूकम्प मापन केन्द्र सुर्खेतले सतर्क रहन आग्रह गरेपछि झनै त्रास बढेको जनाइएको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक भूकम्पको झड्का महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बझाङ्मा गएको भूकम्प गत वर्ष वैशाखमा गोरखा केन्द्र भएर गएको भूकम्पको परकम्पन नभइ बुधबार दिउँसो २ बजे गएको ५ रेक्टर स्केलको भूकम्पपछिको परकम्पन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि परकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । भूकम्पको भविष्यवाणी गर्न नसकिने भएकाले पूर्व सतर्कता अपनाउनु पर्ने केन्द्रका प्राविधिकहरु बताउँछन् । गोरखा र बझाङको भू–धरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का मापन नभएको र धक्का कमजोर बन्दै गएकाले खतरा भने कम रहेको छ । केन्द्रका प्राविधिक तीर्थ दाहालका अनुसार अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेकाले धक्का आइरहेको हो ।
लगातार भूकम्पको धक्का आउन थालेपछि सुर्खेतको वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरु पनि सतर्क अवस्थामा रहेका छन् । स्थानीय प्रशासनले पनि सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रशासनले सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गरेको छ ।