आफगानमा रहेका २४ नेपाली स्वेच्छाले स्वदेश फर्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तालिवानी विद्रोहीसँग नेपालीको कुनै वैरभाव र युद्ध नभएको बताएका छन् । अफगाननिस्तानको काबुलमा मारिएका १२ नेपालीलाई श्रद्धाञ्जली दिन त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले तालिवानीसँग कुनै युद्ध र वैरभाव नभए पनि १२ नेपाली अनाकहमा मारिएको गुनासो गरे ।
“कुनै युद्ध होइन, कुनै वैरभाव छैन, त्यस्तालाई हत्या गर्ने आतङ्ककारी क्रियाकलापको परिणामतः १२ जना नेपालीको निधन भयो, उहाँहरुप्रति सबैका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”– प्रधानमन्त्रीले भने ।
कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको उनको भनाइ थियो । बुधबार अपरान्ह नेपाल ल्याएका नेपालीको शवमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए ।
श्रद्धाञ्जली दिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सेवाको भावनाले काम गरिरहेका निर्दोष र कुनै सम्बन्ध नभएका नेपालीलाई हत्या गर्ने कार्यको निन्दा र भत्र्सना गरे । प्रधानमन्त्री ओलीले आक्रमणमा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने र सम्बन्धित स्थानमा शव पु¥याउने प्रबन्ध मिलाइएको जानकारी दिए ।
सबैको उद्धार कार्यपछि मृतकका परिवारलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा छलफल गरेर अघि बढ्ने उनले बताए । बुधबार दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट नेपालीको शव ल्याएको हो । सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरी बुधबार शव नेपाल ल्याएको हो । त्यस विमानमा अफगानिस्तानमा कार्यरत २४ नेपाली नागरिक स्वेच्छाले काम छोडेर स्वदेश फर्केका छन् ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीलगायत विमानस्थल पुगेका थिए ।
सोमबार अफगानिस्तानमा भएको आत्मघाती हमलामा परी १२ नेपालीको मृत्यु भएको थियो । घटनामा अन्य सात जना घाइते भएका छन् ।