काठमाडौं । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको तालिवान विद्रोहीको आक्रमणमा परी मारिएका १२ नेपालीको शव ल्याउन विमान चार्टर गरेको छ । नेपाल वायुसेवा निगमको विमान चार्टर गरी मृतक नेपाली र घाइतेहरुलाई ल्याइने भएको परराष्ट् मन्त्रालयले जनाएको छ ।
नेपाली कामदारको शव नेपाल ल्याउन विमान चार्टर गरेर काबुल पठाउने तय भएको र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भरतराज पौडेलले शव नेपाल ल्याउनेबारेमा आवश्यक तयारी भएको जानकारी गराएका हुन् ।
सोमवार काबुलमा तालीवानी आक्रमणकमा परी १२ नेपालीको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन् । घटनामा १४ नेपालीको मृत्यु भएको भनिए पनि दुई जना भने भारतीय नागरिक भएको पुष्टी भएको छ ।
मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न मन्त्रालयमा मंगलबार विहान उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृह, पर्यटन, श्रम मन्त्रालय तथा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्रधिकरण, नेपाल वायुसेवा निगमका उच्च पदाधिकारी सम्मिलित बैठक बसेको थियो ।
बैठकको निर्देशनअनुससार प्रक्रिया अघि बढेको जानकारी प्रवक्ता पौडेलले जानकारी दिए । विमानको उडान तथा अवतरणको आवश्यक अनुमतिका लागि अफगानिस्तान सरकारसँग कूटनीतिक तहबाट अनुरोध भइसकेको जानकारी उनले दिए । जहाज पठाउनका लागि अफगानिस्तानसँग ल्यान्डिङ अनुमति तथा भारत र पाकिस्तानसँग आकासको अनुमति लिनुपर्ने हुन्छ । बुधबार विहान ३ बजे नै चार्टर गरिएको नेपाल वायुसेवा निगमको विमान काबुलतर्फ उड्ने जनाइएको छ ।
सबैको शव ल्याएपछि परिवारको इच्छाअनुसार काठमाडौँमा हस्तान्तरण गर्ने वा जिल्लामा पु¥याइदिने व्यवस्थासमेत गृह मन्त्रालयमार्फत भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार घाइतेको स्वाथ्य उपचारको उचित व्यवस्थापन गर्न पाकिस्तानको इस्लामावादस्थित कार्यबाहक नेपाली राजदूत तीर्थराज अर्याललाई आवश्यक निर्देशन दिइसकिएको छ ।
सरकारको निर्देशनअनुसार कार्यबाहक राजदूत तीर्थ सिग्देल मङ्गलबार बिहानै अफगानिस्तानका लागि पहिलो उडानबाट त्यहाँ पुगेर त्यहाँको कम्पनी, अफगान सरकारी प्रतिनिधिसँग भेटघाट तथा अस्पताल पुगेर घाइतेसँग भेट गरेका थिए ।