ललितपुर । सत्तारुढ मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक ले राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धनको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
पार्टीको विराटनगर महाधिवेशनपछि राजधानीमा बसेको पहिलो बैठकले बहुमतीय सरकारको विकल्प बहुमतीय सरकार हुन नसक्ने ठहर गर्दै राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको सरकारको औचित्यता कायमै रहेको निष्कर्ष निकालेको हो ।
केन्द्रीय समिति बैठकको निर्णय आइबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै फोरम लोकतान्त्रिकले राष्ट्रिय सहमतिका लागि पार्टीले अहम भूमिका निर्वाह गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि सम्पूर्ण पार्टी दृढताका साथ लाग्ने निर्णय गरेको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारको गठबन्धनको घटक भएका नाताले केन्द्रीय समितिले एक मतका साथ सरकारलाई निरन्तरता दिने निर्णय गरेको बताए ।
अध्यक्ष गच्छदारले संविधानप्रति असन्तुष्टि जनाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दललाई वार्तामा ल्याई संविधान कार्यान्वयनमा लैजान आफू र पार्टीले सक्दो पहल गर्ने बताए ।