तिम्रा हतियार
सधैं अरुका निम्ति पड्किन्छ भन्ने हुन्न
ओ ! अमेरिकी बड्डा
कहिलेकाहीँ
तिम्रा आफ्नै हतियार
तिमी आफैसँग पड्किन सक्छ
हतियार हो
हतियारले को आफ्नो, को पराइ चिन्दैन
ओ ! बड्डा
हतियारसँग धेरै नखेल
(थाहा छ बड्डा ?
एकदिन मेरो गाउँको एकजना सिकारी
राति चराको बास हान्न
भरुवा लिएर जङ्गल पस्यो
बन्दुकले रुखको
चरा हिर्काएन
उसको
आफ्नै अनुहार हिर्कायो
मध्यराति
बन्दुकका चोटहरू लिएर
आइपुगेको उसको अनुहारबाट
मैले बारुदका छिर्काहरू
निकालेको छु
र उसको अनुहारको
उपचार गरेको छु । )
ओ ! अमेरिकी बड्डा
समय सधैं आफ्नो हुँदैन
र हतियार कहिल्यै
आफ्नो हुन्न
यी दुई कुराहरूसँग
कहिल्यै नखेल्नु, नजिस्कनु
एउटा आगोसँग
र, अर्को हतियारसँग
यी कहिल्यै क्षमाशील हुँदैनन ।
०००
आँबुखैरेनी, तनहुँ





























