काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पाी खेले । उनले अविजित ५० रनको योगदान दिए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनमा नटआउट रहे ।
बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।
उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
समूह सी मा रहेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्यो । यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर एटमा स्थान बनाउँदा नेपाल र स्कटल्यान्डसहित इटाली समूह चरणबाट बाहिरिए ।
मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।
समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।
नेपाललाई विश्वकपमा जित निकाल्न १२ वर्ष लाग्यो। समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पार्यो।
दोस्रो पटक नेपालले सन् २०२४ मा विश्वकप खेल्दा जितविहीन यात्रा टुङ्ग्याएको थियो।
जारी विश्वकपको समुह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार भोगेको थियो।





















