धर्म के हो ? धर्मबारे नेपालका र विश्वका कम्युनिस्टहरूको अवधारणा के छ ? धर्म, संस्कृति, रितीरिबाज, परम्परा आदिका बीचमा के सम्वन्ध र के कस्तो अन्तरविरोध छ ? यी बारे एउटा माक्र्सवादीको के दृष्टिकोण रहन्छ ?
माक्र्सले धर्मलाई किन अफिमको रूपमा परिभाषित गर्नु भएको छ ? अफिम भनेको एउटा लागु पदार्थ हो, जसको सेवनले सेवनकर्ता लट्ठिन्छ ।
नेपालमा अहिले विभिन्न संघसंस्थाहरूको आयोजनामा विभिन्न विकास निर्माणको लागि आर्थिक संकलन गर्न ’आध्यात्मवादबाट समाज विकास गरौ’ भन्ने नारा अन्तरगत श्रीमद्भागवत गिता वाचन गर्ने कार्यक्रम वा यस्तै अन्य धार्मिक कार्यक्रमहरूको भेल नै बगेका छन् । कतै स्कूल, कतै अस्पत्ताल त कतै धर्मशालाको निर्माण गर्नको निम्ति आर्थिक संकलनका लागि भनेर कार्यक्रम राख्ने गरिन्छ । यस्ता कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा समाजसेवीहरूको उपस्थिति मात्रै हुँदैन, त्यस्ता कार्यक्रमहरूको मूल आयोजकमा त्यहाँका स्थापित कम्युनिस्ट, कांग्रेस र हिजका पञ्च नेताहरूको नाम घोषणा गर्ने गरिन्छ ।
यसको मूल व्यवस्थापकमा क्रान्तिकारी कम्युनिस्टहरूका जिल्लादेखि केन्द्रसम्मका नेताहरूको बाहुल्यता देखिन्छन् । यसबाट सबैको मनमा एउटा प्रश्न उब्जीएको हुनु पर्दछ कि के विकासको लागि पैसा सङ्कलनको निम्ति सिद्धान्त, मूल्य मान्यता नै केही हुंदैन् ?
मानिस आध्यात्मवादी हुनु, कुनै निस्चित धर्मको अनुयायी हुनु उसको व्यक्तिगत मानव अधिकारको कुरा हो तर एकै पटक क्रान्तिकारी कम्युनिस्ट र एकै पटक श्रीमद्भागवत महायज्ञको व्यवस्थापक , त्यो पनि ’आध्यात्मवादबाट समाज विकास गरौ’ भनेर लेखिएको नारा टाँंगिएको व्यानरमूनी । माक्र्सवादी दृष्टिमा त्यो एक प्रकारको नेपालका कम्युनिस्टहरूको नौटङकी नै हो । र यो कम्युनिस्टहरूमा र खासगरी त्यो सन्दर्भमा कम्युनिस्ट पार्टीहरूका नेतृत्वभित्र मौलाउँदै गएको एनजीओकरण प्रक्रियाको एउटा अर्को उदाहरण सिवाय केही होइन । ववर्तमानको एमाले यी सबैको नेतृत्वमा छ ।
एमाले मात्रै होइन्, अहिले माओवादी, मसाल र देशका अन्य कम्युनिस्ट समुहका नेता तथा कार्यकर्ताहरूमा पनि सर्वहारा संस्कृतिको कार्यान्वयनमा अनेक खालका विकृतिहरू देखिदै गएका छन् । यसरी धर्म, संस्कृति र परम्पराबारे माक्र्सवादका अनुयायीहरूमा काफी भ्रम र विचलन देखिदै गएका छन् । सिद्धान्त र व्यवहारमा विरोधाभास देखिएका छन् । माओवादी, मसाल, एमाले तथा अन्य कम्युनिस्ट नेताहरू र पार्टीहरूमा धर्मबारे दोधारे प्रवृतिको वोलवाला प्रष्ट देखिएको छ । उनीहरूमा धर्म, संस्कृति र परम्पराबारे खुलेर आफ्नो दृष्टिकोणलाई जनताकोबीचमा पनि राख्न नसक्ने र यदि भने पनि व्यवहारमा लागु गर्न नसक्ने समस्या देखिएको छ ।
माक्र्सवादी लेखक, साहित्यकारहरूले पनि धर्मकाबारेमा वैज्ञानिक दृष्टिकोण सम्वन्धमा लामालामा लेखहरू लेख्ने तर उनीहरू स्वयममा पनि यी विकृतिहरूबाट माथि उठेर आफूलाई सर्वहारा संस्कृतिमा रूपान्तरण गर्न असफल देखिएका छन् । सर्वहारा संस्कृति अहिले बहुसंख्यक माक्र्सवादीको लागि सबै जनताको संस्कृतिमा बदलिएको छ । कम्युनिस्टको नेतृत्वमा सरकार बने तर राज्यलाई धर्मबाट अलग गर्न पर्छ भन्ने माक्र्स लेनिनको मान्यतालाई कार्यान्वयन गर्न पट्टि उनीहरूको ध्यान गएन, बरू राजाका सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने काम मात्रै उनीहरुले गरेका छन् । जनताले उपत्यकाका धार्मिक उत्सव तथा सांस्कृतिक पर्वहरूमा राजाको अनुहारको ठाँउमा धर्मनिरपेक्ष नेपालका राष्ट्रपति र कम्युनिस्ट प्रधानमन्त्रीहरूलाई देख्न थालेका छन् । राजाले जे जस्ता धार्मिक पुजा गर्ने, दान दक्षिणा दिने गर्दथे अहिले यिनीहरूले सोही गर्दै छन् । यसरी धर्मनीरपेक्षता अनुसार धार्मिक शासनबाट मुक्त हुन पाउने नागरिक अधिकार नेपाली जनताले उपभोग गरेको अनुभूतिगर्न पाएका छैनन् । धर्मनिरपेक्षताको अर्थ एउटा निस्चित धर्ममाथि प्रहारगर्ने तर अर्को धर्मको अनुयायी बन्ने होइन् । त्यसै अनुसार उनीहरूले सर्वहारा संस्कृतिलाई परिभाषित गर्ने गरिरहेका छन् । ’आध्यात्मवादबाट समाज विकास गरौ’ भन्ने उल्लेखित नाराले त्यस तर्फको दिशाको संकेत गर्दछ । उनीहरूमा सर्वहारा संस्कृतिलाई माक्र्सवादी लेनिनवादी र माओवादी दृष्टिकोण अनुसार व्यवहारमा लागु गर्दा कतै आम जनता जो धर्म, संस्कृति र परम्परामा बलियो आस्था राख्छन्, तिनीहरूबाट अलग्गिने डरले सताइएका छन् । घर, परिवार, नातागोता र समाजमा विद्मान धार्मिक अन्धभक्तिका कारण माक्र्सवादका अनुयायीहरूमा त्यसलाई तोडेर जान सक्ने दृढ इच्छा शक्तिको अभाव छ । परिणाम धर्म, संस्कृति र परम्परालाई आफ्नो जातीको पहिचानको रूपमा गर्वका साथ लिन थालिएको छ । यस लेखमा धर्मवारे माक्र्सवादी दृष्टिकोण के हो ? संक्षिप्तमा विवेचना गर्ने प्रयास गरिएको छ र साथै किन माक्र्सले धर्मलाई अफिमको रूपमा परिभाषित गर्नुभएको थियो । तर समाजमा सबैलाई धार्मिक स्वतन्त्रताको निम्ति पनि सङ्घर्षको आवश्यकता छ भनेर त्यसको लागि आन्दोलन गर्न र त्यसको समर्थन गर्न पर्नेमा जोड पनि दिनुभएको थियो । धर्मको सामाजिक आधार के हो ? धर्म सम्वन्धी वैज्ञानिक दृष्टिकोण के हो ? समाज र व्यक्तिको धार्मिक पूर्वाग्रहमाथि कसरी विजय प्राप्त गर्ने ? आदि प्रश्नहरूवारे संक्षिप्त चर्चा गर्ने प्रयास पनि गरिने छ ताकि लेनिनले भनेझै धर्म व्यक्तिको निजी मामला पनि होइन र सर्वहारावर्गको पार्टी धर्म प्रति उदासिन पनि रहन मिल्दैन भन्नेमा रहेको छ ।
लेनिनले सधैभरि जोड दिएको तत्थ्य के हो भने कम्युनिस्ट पार्टीले सधैभरि सवै तहका वर्ग, पेशा, क्षेत्रका मानिसको निम्ति जनवाद अति जरूरी छ भन्ने मान्यता राख्दछ र यदि उनीहरुले जनवाद प्राप्त गरेका छैनन भने तिनीहरूले जनवादको प्राप्तिको निम्ति सङ्घर्ष गर्नु पर्दछ भन्ने हो । जनवादको लागि गरिने सङ्घर्षमा सर्वहारावर्गले अनेक मागहरु राखेर जनतालाई सङ्घर्षमा गोलवन्द गर्दछ र ती मागहरूमा एउटा महत्वपूर्ण माग भनेको जनतालाई माक्र्सको भनाइमा ‘अन्तस्करणको स्वतन्त्रता दिइयोस , राज्यबाट चर्च वा मठ मन्दीर र चर्च वा मठ मन्दीरबाट शिक्षा संस्थाहरूलाई अलग गरियोस’ भन्ने हो । जहांसम्म राज्यको सम्वन्ध छ, त्यसवारे लेनिनको जोड यसले धर्मलाई व्यक्तिको निजी मामला घोषित गरिनु पर्छ भन्ने छ । तर यसैमा उहाँको जोड यो पनि छ कि त्यसको अर्थ सर्वहारावर्गको पार्टी धर्म प्रति उदासिन रहने अर्थ लगाउन हुँदैन् भन्ने हो । लेनिनबाट माक्र्सको त्यो प्रस्तावनालाई वैज्ञानिक आधारमा व्याख्या र विकसित गर्ने काम भयो जसमा धर्मलाई व्यक्तिको नीजि मामला मान्न सकिदैन् भन्ने थियो । किनभने सर्वहारावर्ग पूर्णतः वैज्ञानिक विश्व दृष्टिकोणले गर्दा यसलाई आवश्यक वनाइदिन्छ की धर्मको विरुद्ध सर्वहारावर्गले सम्झौताहिन र दृड सङ्घर्ष चलाउनु पर्छ । यसवारे लेनिन लेख्नु हुन्छ “जहाँसम्म समाजवादी सर्वहारावर्गको पार्टीको सम्वन्ध छ, धर्मलाई कसैको नीजि तथा व्यक्तिगत मामला मान्न सकिदैन् । हाम्रो पार्टी मजदूरवर्गको मूक्तिको निम्ति लडने वर्गिय रूपले सचेत, अगाडि वढिरहेको योद्धाहरूको संस्था हो । यस्तो संस्था धार्मिक विश्वासको रूपमा विद्यमान वर्गचेतनाको अभाव, अज्ञान अथवा रूढिवादकोप्रति नत उदासिन रहन सक्छ न उसलाई त्यसो गर्ने अनुमति नै छ । हामीले चर्चको पूर्ण रूपले विघटनको माग गर्दछौ ताकि शुद्ध सैद्धान्तिक र पूर्ण वैचारिक हथियारले आफ्ना समाचारपत्र र भाषणद्धारा धार्मिक अन्धवादका विरूद्ध हामीले लडाई लडन सकौ । साथै आफ्नो संस्था रूसी सामाजिक जनवादी मजदूर पार्टीको स्थापना हामीले सवैप्रकारका धार्मिक शोषणका विरूद्ध मजदूरहरूको ठिक यस्तै सङ्घर्षको निम्ति गरेका हौ । हाम्रो निम्ति वैचारिक सङ्घर्ष केवल एउटा नीजि मामला होइन त्यो त सम्पूर्ण पार्टीको, सर्वहारावर्गको मामला हो ।”तर अहिले नेपालमा धर्मसम्वन्धमा माक्र्सवादीहरूमा सर्वहाराकरण नभई भ्रष्टिकरण सुरू भएको छ । कैयौ कम्युनिस्ट नेताहरूले आध्यात्मवादबाट समाजविकास गरौ भन्ने नाराको व्यानरमा भागवत महायज्ञ गराएर ठूलो धनराशी जम्मा गरेर स्कूल, कलेज, अस्पत्ताल, मठमन्दीर आदिको विकासमा लगाउने अभियानमा आफूलाई केन्द्रीत गरिरहेका अनगिन्ति उदाहरणहरू छन् । र पार्टी केन्द्रदेखि जिल्लासम्मका नेताहरूले ‘आध्यात्मवादबाट समाजविकास गरौ’ भन्ने नाराको व्यानरमा भागवत महायज्ञको व्यवस्थापन समितिमा सगौरव जिम्मेवारी लिन्छन् । वावा रामदेवजस्ताले आध्यात्मवाद र कम्युनिज्म एउटै हो भनेर दिनमानै रात पार्ने प्रयास गर्दा नेपालका कम्युनिस्टहरू दङग परेका अनगिन्ति उदाहरणहरू छन् ।
सोवियत संघमा जव समाजवादको विजय र शोषकवर्गको उन्मूलन भयो, त्यसले गर्दा धर्मको सामाजिक आधार र चर्चको मुख्य आधार नष्ट भयो । माक्र्सवाद लेनिनवादको महान विचारले प्रशिक्षित सोवियत जनता आत्मिक रूपले पूर्णतया एउटा नयाँ साँचामा ढालिए । तव पनि पुँजीवादका अवशेष, धार्मिक विचारधारा, पूर्वाग्रहहरू र अन्ध विश्वासका अवशेषले अझैपनि केहि मानिसहरूको दिमागमा वासगरेको थियो र उनीहरुको सास्कृतिक विकास तथा कम्युनिज्मको निर्माणमा उनको सक्रिय सहभागिताको मार्गमा वाधक वनिरहेको थियो । यो पूर्वाग्रह भन्ने कति टासिएको हुन्छ की यो आफै समाप्त हुदैन् । यसले गर्दा यो आवश्यक पर्न जान्छ की सचेततापूर्वक त्यसका विरूद्ध सम्झौताहिन सङ्घर्ष चलाउन आवश्यक छ । लेनिनले कम्युनिस्ट पार्टी सोवियत जनताको वैज्ञानिक विश्व दृष्टिकोणमा प्रशिक्षित गर्ने हो र यो भनेर धर्मका विरूद्ध वैचारिक सङघर्ष चलाउने हो की धर्म आफैमा अवैज्ञानिक छ । धार्मिक पूर्वाग्रहमाथि विजय पाउन जनताको कम्युनिस्ट सिद्धान्तद्धारा प्रशिक्षित गर्नेको एक हिस्सा हो भनेर वारम्वार जोड दिनु हुन्थ्यो ।
लेनिनले आफनो लेख जसमा धर्मको मूल जरालाई पूर्णरुपले पर्दाफास गर्नु भएको छ तथा यो देखाउनु भएको छ कि धर्ममाथि कसरी विजय प्राप्त गर्न सकिन्छ ? त्यसले धार्मिक पूर्वाग्रहका विरुद्ध संघर्षको तथा वैज्ञानिक अनिश्वरवादी प्रचारको एउटा तेजिलो वैचारिक अस्त्र प्रदान गरेको छ । लेनिनले वताउनु भएको छ कि धार्मिक अवशेषहरूमाथि केवल धैर्यपूर्वक र दृढ विचारधारात्मक प्रशिक्षणको साथै माक्र्सवादी वैज्ञानिक विश्व दृष्टिकोणको व्यापक प्रचारद्धारा नै विजय पाउन सकिन्छ । उहाँले अझ जोडदिदै भन्नु भएको छ कि जनताका धार्मिक भावनाहरूमा ठेस पु¥याउनको निम्ति कसैलाई इजाजत दिन सकिदैन् किनभने त्यसले उनीहरूको पूर्वाग्रहहरूलाइ नै वल मिल्ने छ ।
मजदूरमाथिको आर्थिक उत्पीडनले अनिवार्यतः सवैप्रकारका राजनीतिक उत्पीडन र सामाजिक अपमानको जन्म दिन्छ । यसले आम जनताको आत्मिक र नैतिक जीवनलाई हीन र अन्धकारपूर्ण वनाउदछ । आफ्नो आर्थिक मुक्तिको लागि गरिने हरेक सङघर्षको निम्ति मजदूरले एकदम कम राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सक्दछ तर पूंजीमा आधारित सत्ताको उन्मूलन गरिदैन तव तक स्वतन्त्रताको कुनै पनि माला उनीहरूलाई वेकारी तथा उत्पीडनवाट मुक्ति मिल्न सक्दैन् ।
धर्म आत्मिक शोषणको एउटा रूप हो । जो सवैठाँउ ती जनसमुदायहरूको जीवनको जो अर्काको निम्ति निरन्तर काम गर्दछन् र अभाव तथा अलगावले गर्दा पहिले देखिनै संत्रस्त छन्, अझ झन वढता वोझिलो वनाई दिन्छ । शोषकवर्गको शोषणको विरूद्धको सङ्घर्षमा शोषितवर्गको अशक्तता उसको मृत्यु पछि उसले बढता सुखी जीवन पाउछ र भगवानले शोषकलाई आफै कार्यवाही गर्नेछन् भन्ने विश्वास पैदा गर्दछ । जसरी प्रकृतिको विरूद्ध संङ्घर्षको दौरानमा असभ्य जातिहरूको नपुंसङ्कताको कारण देव, दानव, चमत्कार आदिमा उनीहरूको विश्वासको सृष्टिगरेको थियो । जो मानिस जीवनभर मेहनत मजदूरी गर्दछ तर सधैभरि अभाव र गरिवीमा जीवन विताउदछ त्यस्तालाई धर्मले यस संसारमा विनम्र तथा धैर्यतापूर्वक रहने र उसको मृत्युपछि मात्रै सुःख प्राप्त हुन्छ भन्ने आशामा सान्त्वना दिने प्रकारको शिक्षा दिन्छ । तर जो मानिस अरूको श्रममा आफूलाई जीवित राख्दछ उसलाई धर्मले दिनदुःखीलाई हेरचाह गर्नुपर्छ भन्ने खालका व्यवहार सम्वन्धी शिक्षा दिन्छ । यसरी धर्मले शोषकवर्गलाई शोषकको रूपमा आफनो अस्तित्वको औचित्यता सिद्धगर्ने सजिलो र सस्तो वाटो देखिाइदिन्छ र उसको निम्ति सस्तोमा स्वर्गको टिकट प्रदान गर्छ ।
माक्र्सले धर्मलाई जनताको लागि अफिम सरह हो भन्नुभएको छ । त्यसैले धर्म एकप्रकारको आत्मिक शराव हो जसमा पैसाको निम्ति दास वनाउन चाहनेहरूको लागि आफनो प्रतिभालाई, आफनो मानवोचित जीवन धान्ने मार्गमै विताइदिन्छ । तर जो दास आफनो दासत्वको वारेमा सचेत भइसकेको छ र आफनो मूक्तिको लागि संघर्षमा उठिसकेकोछ, उसको आधा दासता समाप्त भइसकेको हुन्छ । वर्तमान वर्र्गीय रूपले सचेत मजदूर जो ठूला कारखाना तथा उद्योगहरूमा काम गर्दा प्रशिक्षित तथा शहरी जीवनशैलीद्धारा प्रबुद्ध भएका छन् धार्मिक पूर्वाग्रहलाई घृणापूर्वक ठूकराई दिन्छन् र मरेपछि स्वर्गजाने चिन्ताको कुरालाई पादरीहरू र धर्ममा अन्धा भएकाहरूको जिम्मा छाडी आफनो जीवनलाई यहि पृथ्विमा नै एउटा सुःखी र समृद्धिशाली जीवन स्थापना गर्ने कोशिस गर्दछन् । आजको सर्वहारावर्ग यस्तो समाजवाद होस जो धर्मको शोषणको विरुद्ध संघर्षमा विज्ञानको मद्त लिन्छ र अहिलेकै जीवनलाई सुःखी र समृद्धिशाली जीवन वनाउनको निम्ति संघर्षको लागि मजदूरवर्गलाई संगठित गरेर मृत्युपछिको जीवनको विश्वासवाट उनीहरूलाई मुक्ति दिन्छ ।
कम्युनिस्टको धर्म सम्वन्धी दृष्टिकोणमा धर्मलाई व्यक्तिको नीजि मामिला वनाउनु पर्छ भन्ने नै रहन्छ तर यसवाट केहि गलत अर्थपनि लाग्न सक्छ । त्यसैले यो आवश्यक छ कि यसको भनाइको ठिक व्याख्या गरिनु पर्छ । कम्युनिस्टले माग गर्छन कि जहाँसम्म राज्यको सम्वन्ध हो, त्यसले धर्मलाई व्यक्तिको नीजि मामिलाको रूपमा लिनु पर्छ । तर जहाँसम्म कम्युनिस्टहरूको सम्वन्ध हो, धर्मलाई हामीले कुनैपनि हालतमा व्यक्तिको नीजि मामिलाको रूपमा लिनु हुदैन् । धर्मसंग राज्यको कुनै पनि सम्वन्ध र धार्मिक संघ संस्थाको पनि सरकारसंग कुनै सरोकार र सम्वन्ध हुनुहुदैन् । प्रत्येक व्यक्तिलाई यसबारे पूर्ण स्वतन्त्रता हुनु पर्दछ कि उसले चाहे जो धर्म मानोस वा कम्युनिस्टले जस्तै कुनै पनि धर्म नमान्ने नास्तिक पनि हो । नागरिकसंग धर्मको आधारमा भेदभाव गर्नु एउटा अशोभनीय सहन नसकिने काम हो । कम्युनिस्टहरूको यो माग हुनुपर्छ कि सरकारी कागजपत्रहरूमा नागरिकले अपनाउने धर्मवारे उल्लेख गरिनु गलत काम हो र त्यसलाई समाप्त गरिनु पर्छ । चर्च तथा मठ मन्दीर र त्यसका पादरी र पुजारीलाई राज्यले कुनै पनि प्रकारको सहयोग दिनु हुदैन् । यसरी यो एउटै धर्म मान्नेहरूको स्वतन्त्र संस्था हुनेछ र राज्यवाट पूर्ण स्वतन्त्र रहने गरिनुपर्छ ।
तर नेपालमा भने कुनै पनि कम्युनिस्ट नेता जो संस्कृति मन्त्री पनि छन्, पशुपति मन्दीरका पनि नेता भएका छन् र उनीमार्फत पशुपति मन्दीर र त्यसका पुजारीलाई राज्यले हरेक प्रकारको सहयोग दिइरहेको छ ।
जनआन्दोलन २०६२÷०६३ले भूलेको कडिको रूपमा यसलाई लिन सकिन्छ कि धर्मलाई राज्यवाट पूर्ण स्वतन्त्र राखिनु पर्छ भन्ने मागलाई राजनीतिक स्वतन्त्रताको एउटा आवश्यक अंगको रूपमा पुरा गरिनु आवश्यक छ । तर पनि यस मामलामा गत आन्दोलनको स्थिति विशेष रूपले राम्रो रहयो किनभने सेना र पुलिस शासित सामन्ती “प्रभुको सेवक” को दासताका विरूद्ध त्यसवेला उनीहरू पनि विरोधमा उठेका थिए । किनभने धर्मको नाममा एकतन्त्रको घृणित नोकरशाहीले मठमन्दीका पुजारी र पण्डित तथा पुरोहित पनि राजतन्त्रप्रति असन्तोषको भावना पैदा गरिदियो । मठमन्दीरका कट्टरपन्थी पुजारी र पण्डित तथा पुरोहित जतिसुकै अधम र अज्ञानी किन नहोउन, नेपालको पुरानो, मध्यकालिन व्यवस्थाको पतनको वज्रपातले उनीहरू पनि जाग्रीत भएर उठे । उनीहरूले पनि स्वतन्त्रताको माग गरिरहे । पुजारी र पण्डित तथा पुरोहितवर्गका इमान्दार र सच्चा सदस्यहरूको मागको समर्थन गर्नु र त्यसलाई पूर्णतातर्फ पुराउनु सरकारको पनि कर्तव्य हो । जहाँतक समाजवादी सर्वहारावर्गको पार्टीको सवाल हो, उसको निम्ति धर्म व्यक्तिगत मामला होइन । कम्युनिस्ट पाटीै मजदूरवर्गको मुक्तिको लागि संघर्ष गर्नेवाला वर्ग चेतन, अग्रणी योद्धाहरूको संस्था हो । यस्तो संस्था धार्मिक विश्वासको रूपमा व्यक्त हुने वर्गचेतनको अभाव भएको अज्ञान तथा रूढीवादको सम्वन्धमा तटस्थ रहन सक्दैन् नत उ रहन आवश्यक छ । पार्टीले धार्मिक अन्धभक्ति, रूढीवादका विरुद्ध संघर्ष आफनो समाचारपत्र, भाषण तथा संघर्ष गरेर त्यसलाई मजदूरवर्गमाथि गरिने हरेक प्रकारका धार्मिक शोषणका विरुद्ध संघर्ष गर्नु पर्छ । कम्युनिस्टहरूको निम्ति वैचारिक संघर्ष कुनै व्यक्तिगत मामला हुँदैन् , यो त सम्पूर्ण पार्टीका,े सवै सर्वहारावर्गको मामला हो । यदि यस्तो हो भने हामी आफनो कार्यक्रममा यो घोषणा गरौ कि हामी अनिश्वरवादी हौ । तर नेपालमा अहिले पहिले पहिले भन्दा अझ फरक र अझ बढता धार्मिक पूर्वाग्रहमा कम्युनिस्टहरू फस्दै गइरहेका छन् । यसो हुनुका पछाडि नेपालका कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूको वर्गीय पृष्ठभूमि किसान हो । किसानहरूमा पाइने धर्म, इस्वर, सत्ता आदि प्रतिको भक्तिभावले उनका छोरा छोरीहरूमा प्रभाव पार्दछ । किसानहरू जतिजति सम्पन्न बन्दै जान्छन्, उनीहरूमा क्रमसः धर्म, इस्वरप्रति भक्तिभाव बढदै जान्छ । जब उनीहरूमा रहेको सम्पत्ति क्रमसःसुदखोरका हातबाट खोसिन्छ, अनि उनीहरूको इस्वरप्रतिको आस्था कम हुँदै जान्छ । रूढिवादीहरूले समाजमा बढदै गइरहेको नास्तिकता, इस्वर र धर्मप्रतिको विमुखतालाई कलियुगको लक्षण बताउँछन् । तर वास्तबमा यसको मूल कारण कलियुग नभई किसानहरूको विग्रदै गएको जीवनका अवस्थाहरूमा खोज्नु पर्दछ । उनीहरू समाजमा विभिन्न प्रकारका अन्याय अत्याचारका जति बढी शिकार बन्दै गइरहेका हुन्छन्, उति उति उनीहरूको इस्वरको न्यायमाथिको आस्था खतम हुँदै गइरहेको हुन्छ । यहि नेपालका कम्युनिस्टबारे पनि सत्य हो । त्यसैकारण उनीहरूको अनिश्वरवाद अहिले एउटा ढोंगका रूपमा अगाडि आएको छ र सर्वहारा संस्कृति भनेको कम्युनिस्टको लागि किताबको नखाने माछा वन्दै गएको छ ।
































