जनयुद्धकालीन सामाजिक यथार्थताको उद्घाटक प्लास्टिकको फूल

जनयुद्धकालीन सामाजिक यथार्थताको उद्घाटक प्लास्टिकको फूल

समीक्षा

प्लास्टिकको फूल कथासङ्ग्रह खगेश्वर भण्डारीद्वारा लिखित १२ ओटा कथाहरूको सँगालो हो । यस सङ्ग्रहभित्रका कथा द्वन्द्वकालीन घटनालाई जीवन्तरूपमा प्रस्तुत गर्न सक्षम देखिएका छन् । अझ यसो भनूँ विगतमा माओवादीद्वारा नेतृत्व गरिएको दीर्घकालीन जनयुद्धमा घटित घटनाहरूलाई आख्यानीकरण गरेर निर्माण गरिएका कथाहरूको सँगालो हो । यस कुरालाई लेखकले सङ्ग्रहका कथा सुरु हुनुभन्दा पहिले आफ्नै कलम शीर्षमा पनि स्वीकार गरेका छन् —

‘यस प्लास्टिकको फूल कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरू मेरो देखाइ, भोगाइ, पढाइ र सोचाइमा उनिएको ज्ञान, सिप र कल्पनाको मिश्रण हुन् । … … … । जनयुद्धलाई अतिरञ्जित वा नजरअन्दाज गर्नबाट जोगाउनु युद्धकालीन पिँढीको जिम्मेवारी हो । युद्धकालीन पिँढी र युद्धमा सहभागी पुस्ताबाट सत्यकुरा लेखिएन भने यसको ऐतिहासिक समीक्षा गलत हुनसक्छ ।’

यस प्रकार लेखकद्वारा आफ्ना कथालाई जनयुद्धकालीन समयका सत्य घटनामा आधारित छन् भनिएको छ । यसो भनेर आफूले आउने पुस्ताले जनयुद्धकालीन समयको सत्यसँग परिचित बनोस भनी कर्तव्य पूरा गरेको हो भन्ने आसय व्यक्त गर्ने खगेश्वर भण्डारी मुख्यतः दाङ तुलसीपुरका स्थायी बासिन्दा हुन् । सामान्यतः आफ्नो जीवनवृत्तिको बाटो शिक्षण कार्यलाई रोजेका भण्डारी साहित्य सृजनाका साथै चित्रकारितामा पनि उत्तिकै सक्रिय छन् । विभिन्न पुरस्कारद्वारा सम्मानित भण्डारीका २०६६मा रातो सिपाही (खण्डकाव्य), २०७१मा सेतो विस्तरा (उपन्यास) र २०८२मा जीवनसूत्रका गीत (किशोर कविता) प्रकाशित भएका छन् भने फेरि २०८२मै प्लास्टिकको फूल (कथासङ्ग्रह) पनि प्रकाशित भएको छ । यही पछिल्लो कृति प्लास्टिकको फूल कथासङ्ग्रहको यहाँ परिचयात्मक चर्चा गरिंदै छ ।

यस कथा सङ्ग्रहका बारेमा लेखकद्वारा जनयुद्धकालीन समाजको सत्यतालाई आख्यानका रूपमा प्रस्तुत गरिएको भनिए पनि सबै कथामा जनयुद्धरत समाज मात्र नभएर आफू बाँचेको समाजका कतिपय सार्वभौमिक एवं सार्वकालिक याथार्थिक विषय पनि कथाका आधारभूमिका रूपमा जस्ताको तस्तै आएका छन् । त्यसैले सङ्ग्रहका कथालाई कथाका आधारभूमिका आधारमा जनयुद्धप्रभावित समाजका कथा र जनयुद्धेतर समाजका कथाका रूपमा छुट्याएर हेर्न सकिन्छ । यसै आधारमा कथालाई दुई भागमा विभाजित गरिएको छ । यो विभाजन पङ्तिकारले आफ्नो सजिलोका लागि मात्र गरेको हो अन्य अध्येता पनि यसैमा आबद्ध हुुनुपर्छ भन्ने छैन ।

अतः जनयुद्धप्रभावित समाजका कथा र जनयुद्धेतर समाजका कथाको अत्यन्त संक्षिप्त परिचय यसपछि क्रमशः प्रस्तुत गरिंदैछ ।

१) जनयुद्धप्रभावित समाजका कथा
जयुद्धप्रभावित समाजका कथा भनेर यहाँ त्यस्ता कथालाई भनिएको हो जुन कथामा समाजमा जनयुद्धको प्रभावको यथार्थतालाई आख्यानीकरण गरिएको छ । त्यस्ता आख्यानीकरण गरिएका कथाको संक्षिप्त परिचयात्मक चर्चा क्रमशः प्रस्तुत गरिंदै छ ।

जनयुद्धप्रभावित समाजका कथा अन्तर्गत पहिलो कथाको शीर्षक रातो चुन्नी हो । यस कथामा जन्मनासाथ बाबुआमाको वात्सल्य प्रेमबाट वञ्चित भएको कथाको नायक जयको जीवनमा घटेको घटनाको यथार्थतालाई आख्यानीकरण गरेर प्रस्तुत गरिएको छ । कथामा जिम्दारको करणीबाट जन्मिएको कथा नायकले करणी गर्ने र आफ्नी आमालाई हराउन बाध्य पार्ने जमिनदारलाई फेलापारेर पनि उसप्रति सहानुभूति व्यक्त गरेको कुरा बुढी आमैलाई सुनाउँछ र आमाको चिनो रातो चुन्नीको आधाभाग देखाउँछ र आफ्नो यात्रामा अघि बढछ । चुन्नी देखेर आफ्नो जेठो छोरो भन्ने थाहा पाए पनि उनले केही भन्दिनन् तर पछि उसैलाई खोज्दै आएको सेनाले बुढी आमैको हत्या गरेपछि जय पनि त्यहीँ आइपुग्दा आफ्नै आमा भएको थाहा पउँछ र बुढी आमैको छोरो आफ्नो भाइलाई पनि साथै लिएर नयाँ युगको बाटोमा अग्रसर हुन्छ र यहीँ कथाको समापन पनि हुन्छ ।

दोस्रो शीर्षक प्रताप सर हो । यस कथामा प्रताप सर नै कथाको मुख्य पात्र हो । ऊ स्कूलको एउटा असल शिक्षक पनि हो । तर, एक दिन स्कूलमा ‘गंगालालको रगत’ नाटक चलिरहेको वेला नाटकको अन्त्यतिर गंगालालको अभिनय गरिरहेको बाँधिएको अवस्थामा एक्कासि सेना आएर गोली हान्छ र प्रताप सरको साँच्चै मृत्यु हुन्छ र कथाको पनि अन्त्य हुन्छ । तर, यहाँ एक्कासि सेना आउनु र प्रताप सरको हत्या गर्नुको कारण भने स्पष्ट भएको छैन ।

तेस्रो कथा सुनौलो फल हो । यस कथामा जनयुद्धका समयमा एकजना माओवादी संगठकले आफू बसेको घर(सेल्टर)वाला पनि युद्धमा जाने भएपछि त्यस घरको बालकलाई सुनौलो बिहानीको फल ल्याइदिने बाचा गरेर दुवै हिंडेका हुन्छन् । खाराको युद्धमोर्चामा त्यो बालकको बाबु गोकुल दाइ सहिद भएपछि घरमा खबर दिन आएका गोकुलका साथीहरूले बालकलाई त्यो फल पकिनसकेको र पाकेपछि ल्याइदिने वाचागर्दै हिंडेका हुन्छन् । यता बालक हुर्किएपछि त्यो फलको कुरा बुझेर आफ्नो बाबु सहिद भएको र आफू पनि त्यही फलको पर्खाइमा रहेको चिठी त्यही संगठक (म पात्र) ले प्राप्त गरेपछि कथाको अन्त्य भएको देखाइएको छ ।

चौथो कथा प्रतिफल हो । यस कथामा गाउँमा माओवादीको सुराकी गरेर उनीहरूलाई गिरफ्तार गराउने, थुनाउने र मराउनेसम्मको काम गरिरहेको जगन्नाथ नामको पात्रले एकपटक माओवादी कार्यकर्ता बसिरहेको सेल्टरमा सेना लिएर आउँदा माओवादीको साटो उसैको आफ्नै छोरो शम्भु मारिएको देखाइएको छ । यसबाट के भन्न खोजेको महसुस हुन्छ भने अर्काको कुभलो गर्नेले सजाय स्वरूप आफ्नै नोक्सानी गरिरहेको हुन्छ ।

पाँचौँ कथा फेरि पनि शीर्षकमा छ । यो जनयुद्धको घाइतेअपाङ्ग भएर विवश जीवन बाँचिरहेको योद्धाको परिवारको दारुण कथा हो । यसमा युद्धका वेला सिसिएमलाई बँचाउँदा दुवै खुट्टा गुमाउन पुगेको योद्धा(शेखर)को जीवनको विवशता, निरीहता र उसले भोगेको दुःखलाई देखाइएको छ । अन्त्यमा उसकी जीवनसँगी सालिनीले अब हामी हाम्रालागि संघर्ष गर्ने हो भनेपछि कथाको अन्त्य भएको छ ।

छैटौँ कथा एक जोर जुत्ता हो । यो जनयुद्धमा बेपत्ता भएको व्यक्तिको परिवारको दर्दनाक एवं दारुण कथा हो । यो पहिले युद्धका वेलामा शरण लिएर जुत्ता र ज्याकेटसमेत मागेर लगाउने माओवादी कार्यकर्ता गणतन्त्र आएपछि मन्त्री भएको र त्यही व्यक्तिलाई जुत्ता र ज्याकेट दिएर सहयोग गरेकै कारण बाबुलाई बेपत्ता पारिएको एक युवक आफ्नी आमालाई अस्पतालमा राखेर मन्त्री भेट्न जाँदा अपमानित भएर फिरेपछि विदेशिएर आमाको उपचारमा लागेको ऋण तिर्नुपरेको दयनीय स्थिति र सत्तासीन बिग्रिएको माओवादीको परिचयात्मक कथा पनि हो — एक जोर जुत्ता ।

सातौँ कथाको कीर्षक बुढी बोईको कथा हो । यो युद्धकालीन समयमा घटेको घटनाको आख्यानीकरण गरिएको कथा हो । यसमा सेनाले गाउँ सर्च गर्दा आशङ्काका भरमा मान्छेलाई गिरफ्तार गरेर जङ्गलमा लगी मारेका थुप्रै घटनाको प्रतिनिधित्व भएको छ । यो कथा एकजना बुढी बोईले आफ्ना छोराबुहारी हर्क र दिलमायाँ यसरी मारिए भनेर आफ्नो पनातिलाई सुनाएपछि कथाको अन्त्य भएको छ ।

यसरी उक्त सातैओटा कथा जनयुद्ध प्रभावित समाजको यथार्थलाई प्रस्तुत गर्न सफल भएका छन् भने जनयुद्ध प्रतिको आस्थामा बाँचेका पात्रहरू अझै पनि क्रान्तिको आशामा सहिदका सपना साँचेर बसेका छन् भन्ने कुरालाई पनि देखाएका छन् ।

२) जनयुद्धेतर समाजका कथा
जनयुद्धेतर समाजका कथा भनेर यहाँ त्यस्ता कथालाई भनिएको हो जुन कथामा नितान्त समाजको सामाजिक यथार्थको आख्यानीकरण गरिएको छ । यस्ता कथामा जनयुद्धको खासै प्रभाव देखिंदैन तर समाजमा भने त्यस प्रकारका सामाजिक घटना सार्वकालिक एवं सार्वभौमिक रूपमा भटित भएका देखिन्छन् । यहाँ त्यस्तै कथाको संक्षिप्त परिचयात्मक चर्चा गरिंदै छ ।

जनयुद्धेतर समाजका कथा अन्तर्गत पहिलो कथा बुढेसकाल हो । यस कथामा हाम्रो समाजको सामाजिक यथार्थतालाई जस्ताको तस्तै उतार गरिएको छ । यसमा आज एउटा परिवारका बुढाबुढीले आफ्ना सन्तानलाई हुर्काएर सक्षम बनाउँछन् तर सन्तन भने तिनै आमाबाबुलाई छोडेर सहरमा वा विदेशमा गएर बस्ने गरेका घटना सर्वत्र छन् । बेसहारा भइसकेपछि आमाबाबु वृद्धाश्रममा पुग्ने गरेका छन् । हाम्रो समाजको सार्वकालिक एवं सार्वभौमिक बनेको यही यथार्थलाई यस कथाले जस्ताको तस्तै प्रस्तत गरेको छ ।

दोस्रो कथाको शीर्षक बौलाहाको कथा हो । मान्छेलाई देश, काल, परिस्थिति, वातावरण दुराचारी समाजले बौलाहा बनाउन सक्छ, जसरी यस कथाको एउटा, बिएससि पास, भद्र शिक्षक व्यावहारिक कौशलका अभावमा बौलाहा कहलिएर सडकमा भौँतारिदै हिंडन बाध्य भएको छ तर उचित सङ्गत र वातावरण पाउनासाथ ऊ फेरि राम्रो बनेको छ । बौलाहा बनेको रघुवीरको जीवनभरिको सम्पूर्ण कमाई म्यानपावर कम्पनीले खाइदिएपछि र उसको उजुरी कसैले नसुनेपछि बिस्तरै ऊ सामान्य समाजका आँखामा बौलाहा बन्यो । यस प्रकारको बौलाहाको कथा हाम्रो समाजको सामाजिक यथार्थका रूपमा पर्याप्त मात्रामा देख्न र सुन्न पाइन्छ । यो कथा समाजको यही र यस्तै यथार्थताको आख्यानीकरण हो ।

भयभ्रष्ट तेस्रो कथाको शीर्षक हो । यस कथामा मरुभूमिमा मृगशावकको जीवन पानीको खोजीमा यतार उत गर्दागर्दै अन्त्य भएको देखाइएको छ । यस पकारको कथा मृगतृष्णाका रूपमा अन्यत्र व्याख्यायित छ । मान्छेको जीवन पनि त्यही मृगतृष्णामा आबद्ध छ भन्ने मत परापूर्वकालदेखि चलिआएकै छ । यद्यपि यसमा मृगलाई शक्तिशाली हिंस्रक जन्तुको भयबाट भीत भएर भौँतारिएको वा पथबाट विचलित भएको देखाइएको छ तथापि मृगतृष्णाको वर्णन पर्याप्त गरिएको छ । अतः यो कथाले पनि सार्वकालिकता र सार्वभौमिकताको धर्मको निर्वाह गरेको छ ।

चौथो कथा पुर्खाको नासो हो । नेपालको सीमाको रक्षाका लागि धेरैले आफ्नो जीवनको वलिदान गरेका छन् । यसमा त्यही वलिदानको तीनपुस्ते कथा छ । दुई पुस्ताले आफ्नो जीवनको अन्त्य गरिसकेका छन् भने सीमाको सुरक्षाको जिम्मा अब नयाँ पुस्ताको वा भविष्यको पुस्ताको हातमा आएको छ । यसैको प्रतीकका रूपमा नेपाली खुकुरी रुद्रवीरको नातिका हातमा आइपुगेको कथा हो पुर्खाको नासो, खुकुरीको तीनपुस्ते कथा, नेपालीको नियमितता ।

पाँचौँ कथा प्लास्टिकको पूmलमा वर्तमानको कृत्रिमताको यथार्थलाई आख्यानीकरण गरिएको छ । आज हाम्रो समाजमा मान्छे प्रकृति र प्राकृतपनबाट क्रमशः टाढा हुँदै गएको र कृत्रिमतामै रमाउन थालेको छ । कथामा हजारी फूललाई भन्दा प्लास्टिकको पूmललाई महत्व दिएको देखाइएको छ । यस्तो देखाएर आजको मान्छेको बौद्धिकताप्रति व्यंग्य गरिएको छ । यसरी उक्त पाँचैओटा कथामा समाजमा सार्वकालिक र सार्वभौमिक रूपमा घटित भइरहेका सामाजिक घटनाको यथार्थताको आख्यानीकरण भएको छ ।

अतः निस्कर्षका रूपमा के भन्न सकिन्छ भने खगेश्वर भण्डारीका कथामा हाम्रो समाजका यथार्थ घटनालाई आख्यानीकरण गर्न कथाकार सफल भएका छन् भने जनयुद्ध कालीन समाजका अनेकौँ दुर्दान्त घटना र तत्कालीन सरकारी सेनाका घातबाट विक्षिप्त बनेका र आक्रोशित बनेका सामाजका कतिपय परिवारका पीडा, आक्रोश र जनताका समस्यालाई सफलतापूर्वक आख्यानीकरण गरिएको छ ।
खगेश्वर भण्डारी
प्लास्टिकको फूल (कथासंग्रह)
अक्षरधाम प्रकाशन