काठमाडौं । उपत्यका बन्दको दिन आज विहानै कोटेश्वरबाट प्रहरीले पाँच वर्षकी बालिकासहित ७ जनालाई पक्राउ गरेको छ । निर्वाचन बहिस्कारका लागि आज आव्हान गरिएको उपत्यका बन्दको क्रममा पर्चा वितरण गर्दैगर्दा प्रहरीले पक्राउ गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा संगठनका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना, पार्टीका केन्द्रीय सदस्यहरु शोभा सेन्चुरी र झनक श्रेष्ठ रहनु भएको छ ।
पर्चा वितरणमा हस्तक्षेप गरी महिलाहरुलाई पुरुष प्रहरीले लछारपछार पार्न थालेको फोटो खिचेको भन्दै प्रहरीले झनक श्रेष्ठलाई आफ्नी पाँच वर्षकी छारीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य संयुक्त संघर्ष समितिका सदस्यहरुमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु लक्ष्मी सुनार, रुपा सुनार र भवन सेन्चुरीलाई पनि सोही क्रममा पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।
पक्राउ परेका सबैलाई कोटेश्वरको प्रहरी वृत्तमा राखिएको पनि जानकारी प्राप्त भएको छ ।
उपत्यका बन्दको पूर्वसन्ध्यामा आयोजना गरिएको मशाल जुलुस प्रदर्शनको क्रममा देशैभर पाँच दर्जन बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको थियो । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरी नेता कार्यकर्ताहरु गिरफ्तारीको घोर विरोध गर्दै संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले एक वक्तव्य जारी गरी अविलम्ब रिहाइको जोडदार माग गर्नुभएको थियो ।






























