पुस २७ बारे एक चर्चा

पुस २७ बारे एक चर्चा

टिप्पणी

एक पटक फेरि राष्ट्र निर्माता र पृथ्वीनारायण शाहको बहस सुरू भएको छ । के वर्तमान नेपालको निर्माता पृथ्वीनारायण शाह हुन् ? पारम्परिक र शाहवंशीय संस्कृतिमा गर्व गर्नेहरू र जस्का पुस्ताहरू कुनै न कुनै किसिमले शाहवंशीय शासन संस्कृतिको हिस्सा थिए, उनीहरूको निम्ति यस प्रश्नको उत्तर ‘हो’मा हुन्ु अस्वाभाविक होइन । तर जस्ले शाहवंशीय शासनसँग पटक पटक लडेर वर्तमान गणतन्त्रको स्थापना गरे, उनीहरूका निम्ति पृथ्वीनारायण शाह राष्ट्र निर्माता कसरी हुन् सक्छन् ? के वर्तमान नेपाल पृथ्वीनारायण शाहले युद्धमा जितेर राज्य विस्तार गरेको भौगोलिक र राजनीतिक भूखण्ड हो ? तथ्यहरू यसका विपरीत छन् ।

पहिलो कुरा, पृथ्वीनारायण शाहले नेपाल होइन, गोरखा राज्य विस्तार गरेका थिए । त्यसैले ऐतिहासिक अभिलेखहरूमा उनलाई गोरखाधीश भनिएको छ । त्यतिबेला नेपाल भनेको काठमाडौं उपत्यका नै बुझिन्थ्यो । पछि पछि नेपाल भनिन थालिएको हो । इतिहासको तथ्य हेरे हुन्छ ।

दोस्रो, ब्रिटिश–नेपाल युद्धमा गोरखाली सेनाको पराजयपछि नेपालको सीमा खुम्चिएर हालको अवस्थामा आएको हो । (वस्तुतः नेपाललाई एउटा राष्ट्रको रूपमा सैद्धान्तिकरण निरङ्कुश पञ्चायती व्यवस्थाको संस्थापक राजा महेन्द्रले राज्य आश्रृत विद्वानहरू, साहित्यकार, इतिहासकार र समाजशास्त्री आदि वौद्धिकहरूबाट गर्न लगाएका हुन् । उनीहरूले नै पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको राष्ट्र निर्माताको रूपमा व्याख्या र विभूषित गरे; होइन भने ‘गोरखा रेजिमेन्ट’ र ‘गोरखा पत्र’ हुँदैनथ्यो, ‘नेपाल रेजिमेन्ट’ र ‘नेपाल पत्र’ हुने थियो । होइन भने राजा नै भएपनि, एउटा विशिष्ट कालखण्डमा राजा त्रिभुवन आधुनिक नेपालका निर्माता हुन सक्थे । किनभने आधुनिक नेपालको इतिहास २००७ सालदेखि सुरु भएको थियो, जसमा जनता र राजनीतिक दलहरूको भूमिका उल्लेखनीय थियो । पृथ्वीनारायण शाहको नेपाल राणा शासनको अन्त्यसम्म पूर्ण सामन्ती र भारदारी शासनको राज्य थियो ।)

वर्तमान गणतन्त्र नेपाल त झन सर्वथा भिन्न छ । यो, हिमाल, पहाड, मधेश, सबै भेगका नेपाली जनताको अथक सङ्घर्ष, माओवादी जनयुद्ध, र संसदीय राजनीतिक दलहरूको संयुक्त जनआन्दोलन र मधेस केन्द्रित दलहरूको सङ्घीयताको आन्दोलन र हजारौंको शहादतको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जो राजतन्त्रको सबै रूपलाई निषेध गरेर आएको हो । यस नेपालका निर्माता कुनै राजा वा राजाको सेना वा भारदारहरू होइनन्, जनता र जनता मात्र हुन् । जनताले यस गणतन्त्रमा गर्व गर्न सक्छन् । यो कुनै एकल राष्ट्र होइन, देश हो, बहुल राष्ट्रिय देश । राष्ट्र भन्दा धेरै धेरै माथिको देश, जसमा थुप्रै राष्ट्रियता, राष्ट्रिय भाषा र संस्कृतिहरू सहिष्णुतापूर्वक बस्छन् । यस कारण गणतन्त्रमा पनि पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मान्नुको अर्थ नेपाली जनताको सौर्य, सङ्घर्ष, त्याग र बलिदानलाई अवमूल्यन गर्नु हुनेछ । जनताको साझा इतिहासलाई बिर्सनु हुनेछ ।

युद्ध जितेर विस्तार गरेको इतिहासको आधारमा राष्ट्र निर्माता मान्ने हो भने उनीभन्दा शताब्दिऔँ अगाडी केन्द्रीकृत सामन्ती शासनको सुरुआत गर्ने लिच्छवी शासकहरू, नेपालको राज्यको सीमा गङ्गाको सीमासम्म पु¥याउने, इतिहासमा भनिएका भास्कर वर्मन (बर्मा)हरू पनि राष्ट्र निर्माता हुन सक्छन् । किनभने उनीहरूले राज्य विस्तार र सांस्कृतिक राष्ट्रको सुरुआत गरेका थिए ।

ऐतिहासिक यथार्थ के हो भने पृथ्वीनारायण शाहले तरबारको बलमा हालको नेपालको सीमाभित्र बसेका विविध सांस्कृतिक समुदायहरूलाई जितेर गोरखाली शाहवंशीय केन्द्रीकृत र विस्तारित गोरखा राज्यको निर्माण गरेका थिए । हाल पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्दा उनी इतिहासका महत्वाकाङ्क्षी, चतुर र कुशल योद्धा शासक भन्दा बढी होइनन् । यो भन्दा बढी अतिरञ्जित हुनेछ । पञ्चायतकालीन इतिहासकारहरूले यही गरे ।

वर्तमानमा पुराना चरित्रको राजनीतिक शक्ति र समुदाय वर्तमान सत्ताका शासक वर्गको बेइमानी र गैरजनवादी चरित्रको कारण उत्पन्न राजनीतिक तरलताको मौका छोपेर पुरानो राष्ट्रको वकालत गरिरहेको छ । उही हिन्दू उच्च जातीय शाहवंशीय खस अहङ्कारवादी राष्ट्रको एकल र सङ्कीर्ण परिभाषा, उही दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको विभूषण, उही नेपाली भाषा (परिमार्जित खस भाषा विशिष्ट)को वर्चस्वकारी महिमागान । त्रासदी के छ भने ती पुरानो राष्ट्रको गर्वमा आधुनिक गणतन्त्र नेपालका शासकवर्ग पनि अभिभूत भएको देखिन्छ । यस गणतन्त्रमा सबै संस्कृति, भाषा, पोशाक र पहिचान नेपाली हो र यस साझापनाको बोध र गर्व नै सङ्घीय गणतन्त्रको मर्म हो ।

पुरानो राष्ट्रको वकालत गर्नेहरू राष्ट्रिय एकता र पृथ्वीनारायण शाहलाई मिसमास पारिरहेका छन् । उनीहरू पृथ्वीनारायण शाहको जन्मदिनलाई पञ्चायतकाल र बहुदलीय संवैधानिक राजतन्त्रकालमा मनाएझैँ अहिले पनि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा व्याख्या गरिरहेका छन् । तर पुस २७ गते, राजतन्त्र र शाहवंशीय शासन सत्तामा गर्व गर्नेहरूको निम्ति राष्ट्रिय एकता दिवस हुन सक्छ, जनताको सर्वाेच्चता स्वीकार गर्नेहरूको निम्ति हुन सक्दैन । बरू यस दिनले अन्य सांस्कृतिक समुदायको पहिचान र संस्कृति गुमेको दुःख स्मरण गराउँछ ।

यस गणतन्त्रमा एकता दिवस गणतन्त्र घोषणा भएको दिनलाई मनाउनु ठिक हुन्छ । जुन दिन इतिहासमा जनताको सर्वाेच्चता स्थापना भयो र सबै समुदायको संस्कृतिको पहिचान समान हैसियतमा स्वीकारियो । सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था मात्र होइन, जनताको संस्कृति पनि हो । अहिले विविध कोणबाट यसै जनताको संस्कृतिमाथि आक्रमण गरिँदैछ र इतिहासमा जनताको भूमिकालाई ओझेलमा पार्ने कुप्रयत्न हुँदैछ । विचार गरौँ, आधुनिक नेपालको निर्माता कुनै राजा होइन, जनता हो भनेर ठोकुवा भन्न सकिन्छ । जनता जिन्दावाद !