शहर र अँध्यारो

शहर र अँध्यारो

कविता

शहर झकमक पार्न
हरेकदिन निस्कन्छन् जुलुश
राता टोपिका
काला टोपिका
पँहेला दौरा सुरुवालका
शहरको अँध्यारो निखार्न ।

कुटो बोकेर शहरमा
ज्यामीहरू, श्रमिकहरू
रोप्छन् सुन्तलाको बेर्ना
मल दिन्छन्, बल दिन्छन्
हुुर्किएपछि ज्यामिर बन्छ
अमिलो फल्छ
बादल फ्याँकेर सगरको
तेजिलो घाम पठाए पनि
धिपधिपे धमिलो बल्छ ।

अँध्यारोले थिचेको यो शहर
युगले मागे जस्तो
कालिगढको सीप लागेजस्तो
कहिल्यै सुन्दर देखिएन
शहरको पृथ्वी
बाङ्गो टिङ्गो
नाङ्गो बुङ्गो घुमेको छ
जुलुश हिँडेर शहरमा
काँचुली पटक पटक फाल्यो
अँध्यारो लगेर आर्यघाटमा बाल्यो
फेरि बैरियो त्यही बासी अँध्यारो ।

शहर घुर्छ घोरिन्छ रुन्छ
त्यो अँध्यारोपना
उसलेमात्र फालेको होइन
कसैले पनि फालेको छैन
छर्लङ्ग देरखएकै छ नि
टुपिसम्म झ्याङ्गिएको निशा
नवउदारताको फोहोरी क्रिया
अलिकति दिल्लीबाट आउँछ
आधाउधि वाशिङ्टनले पठाउँछ
थेरैतिनो बेलायती सजाउँछ ।

पुराना तमसुकहरूमा
बाँधिएको छ टनटनी
त्यो गिदीको सिँहदरबार
नयाँ बनाइएको गृह घरबार
ओत लागेको पाली
तिरीज खाने बाली
जुलुश बोक्ने ढल्कु
टेकु, नख्खु बल्खु
सबै वर्णसङ्कर हुन
मलाई धुन खोज्छौभने
भोकाहरूको आरनमा जोत
मेरो भित्ता राम्ररी पोत ।