जीवनसाथी समालोचक ताराकान्तलाई अर्पित श्रद्धासुमन

जीवनसाथी समालोचक ताराकान्तलाई अर्पित श्रद्धासुमन

संस्मरण

दराजभित्र रहेका किताबहरू केवल कागजका पानाहरू मात्र हुँदारहेनछन् । ती एउटा सङ्कल्प, चेतना र विचारका मौन साक्षी पनि हुँदारहेछन् । आज तिनै मौन साक्षीहरूसँग मेरो जीवनसाथी ताराकान्त पाण्डेयलाई भेटिरहेकी छु – एक साधना, सर्मपण र वैचारिक निष्ठा । मानिसहरू भन्छन् समयले घाउ पुरिन्छ तर मलाई लाग्छ केही घाउ पुरिँदैन तिनले अर्थ दिन्छन् । उहाँको अभाव मेरो लेखनको एउटा शक्ति–आधार बनेको छ । मौन बनेको उहाँको रिक्तताबाट शब्दहरू जन्मिन्छन्, तिनले अर्थ खोज्दै अन्ततः मेरो मनलाई सन्तोष र खुशी दिन्छन् । उहाँ हिँड्ने वैचारिक बाटो म एक्लैले हिँडिरहेको छैन । उहाँ मेरो शब्दमा हिँडिरहनु भएको छ र मेरो मौनतामा बोलिरहनु भएको छ ।

कोठाको दराजमा उहाँका हातले मिलाएर राखेका किताबहरू जस्ताको तस्तै छन् । अहिलेसम्म मैले तिनलाई छुुन पनि यत्न गरेकी छैन । केवल बाहिरको सिसाहरू मात्र पुछ्ने गर्छु । हरेक पटक सफा गर्दा उहाँको अध्ययनको परकम्पन आउँछ । दुई वर्ष वितिसकेछ मैले उहाँको आवाज नसुनेको, तर दराजमा उहाँले मिलाइराखेका किताबहरूले मलाई निहारी रहन्छन् । उहाँको मौन उपस्थिति अझै बोलिरहेकोझैं लाग्छ । कहिले काहीँ लाग्छ त्यस दराजबाट एउटा किताब निकाल्दा पनि कतै उहाँको मुटु दुख्थ्यो कि ? उहाँका हातको स्पर्शको डाम मेटिन्छ कि भन्ने लाग्छ तर कति दिनसम्म रहन्छ र ! एक दिन त स्वीकार गर्नै पर्छ । दुई वर्ष वितिसकेछ यी दराजका किताबहरूलाई कहिल्यै नथाक्ने उहाँका हातले नछोएको अनि गहिरो आँखाले नहेरेको । यी किताब उहाँले समाजका लागि लेख्नुहुन्थ्यो, समाजका लागि पढ्नुहुन्थ्यो र समाजकै लागि बोल्नुहुन्थ्यो । त्यसको हिसाब किताब उहाँलाई नै थाहा थियो । यही याद आउँछ । मन भारी हुन्छ । आज त्यही किताबहरू उहाँ बिना मौन छन् ।

भावुक हुँदै मैले त्यस दराजबाट एउटा किताब निकाल्छु – त्यो उहाँले लेखेको ‘अर्थको आन्नद’ थियो । किताब पल्टाउँछु उहाँको लेखाइमा एकाग्रता, उहाँको अध्ययनशील जीवन ! एकाएक आँखा अगाडि आउँछ । अचानक मेरो आँखाको आँसु पढ्दै गरेको पानामा खस्न थाल्छन्, आँसुले भरिएको आँखाले अक्षरहरू पढ्न गाह्रो हुन थाल्छ, आँसु पुछ्दै आफुलाई सम्हाल्छु । एकछिन पछि मनले भन्छ म कम्जोर भएछु ! तर अर्को मनले प्रतिवाद गर्छ यो कम्जोरी होइन ! यो मोह पनि होइन, यो उहाँप्रतिको अगाध स्नेह, गर्व र आदरको आँसु हो । आफ्नै मनको स्थिर धरातलबाट आफू र आफ्नो वरिपरीको परिवेशमा केहीबेर हराएछु ।

मैले लेखेको कवितामा उहाँले दिएका स्पष्ट सुझावहरू आज मेरा लागि केवल स्मृतिको रूपमा मात्र बाँकी छन् । लेख्दै गरेको बेला उहाँका ती सिर्जनात्मक मार्गदर्शनको अभाव निकै खट्किन्छ र आफ्ना रचनाहरू अधुरा भएको अनुभूति हुन्छ । त्यतिबेला हुने गरेको उहाँ र मेरो बिचको साहित्यिक र वैचारिक संवाद अहिले आवाज विहिन भएता पनि आभास भइरहन्छ । यस्ता यादहरूले मलाई रोकेर राख्न खोज्छ तर म आफुलाई फेरि एउटा जिज्ञासु पाठकका रूपमा स्थापित गर्ने प्रयास गर्दै पुस्तक पठनतर्फ फर्किन्छु । पढ्दै पढ्दै जाँदा मैले चिनेको व्यक्तित्व देख्छु– एक इमान्दार, सशक्त र प्रतिबद्ध माक्र्सवादी समालोचक ताराकान्त पाण्डेय ।

‘अर्थको आनन्द’ पढदै गर्दा मैले पुस्तकभित्र मात्र होइन, आफ्नो मनभित्र पनि एउटा असाधारण व्यक्तित्व देखेँ ताराकान्त पाण्डेयलाई । उहाँ मेरा लागि अब केवल एक लेखक वा समालोचक मात्र रहनु भएन, एक जिवित विचार पनि बन्नु भएको छ । उहाँको चेतना उहाँका समालोचनाको शब्द शब्दमा मिसिएको वर्गीय पीडा, प्रगतिशील विचारले मलाई सचेत पाठक बनाएर लेख्न सिकायो । ताराकान्तको रूप श्रमको पसिनाले चम्किएको अनुहार थियो । उहाँको चरित्र कृतिम आदर्शको आवरण थिएन, वर्गसङ्घर्षबाट निख्रिएको सत्य थियो । विचारमा अडिग, निष्ठामा दृढ र लेखनमा इमानदार हुनुहुन्थ्यो । साहित्यलाई उहाँले परिवर्तनको हतियार बनाउनु भयो । माक्र्सवादी दृष्टकोण उहाँको लेखनमा नारा बनेर होइन, चेतना बनेको अनुभव भयो । वर्गीय संरचनालाई सौन्दर्यपूर्ण र यथार्थलाई निर्भिक ढङ्गले उजागर गर्नु भएको अनुभव गरँे ।

उहाँको वैचारिक निष्ठा कुनै अवसरवादी मोडतर्फ लागेन । समय बदलियो, सत्ता बदलियो तर ताराकान्त आफ्ना विचारमा विचलित हुनु भएन । यही उहाँको सबैभन्दा ठुलो परिचय बन्यो । साहित्य, समाज र सङ्घर्षलाई एकै साथमा राखेर हेर्नुभयो । ‘अर्थको आनन्द’का पानाहरू पढ्दै जाँदा म उहाँको चेतनासँग संवाद गर्छु र उहाँका साहित्यमा वैचारिक विश्लेषणबाट प्रतिबद्ध बन्छु जो पढेर सकिंदैन जो पढेपछि सुरु हुन्छ ।

प्रगतिवादी समालोचकहरूले प्रगतिशील कविता, लेख र आख्यानको विश्लेषण तथा मूल्याङ्कन मात्र गरेर हुँदैन । तर उहाँले यस्ता सिर्जनालाई समग्र वर्गीय रूपान्तरणको ऐतिहासिक प्रक्रियासँग सुसङ्गत रूपमा जोडेर व्याख्या गर्ने कार्य विशेष गहिराइका साथ सम्पन्न गर्नुभएको अनुभूत हुन्छ । किनभने नेपालमा जनयुद्धका समय र शान्तिप्रक्रियाको समय एउटा संक्रमणकालीन समय थियो । साहित्यमा वर्गीय अर्थ र क्रान्तिकारी शक्तिको दृष्टिबाट अत्यन्तै महत्वपूर्ण समय थियो । देशभित्र गहिरो राजनीतिक उथलपुथल, विभिन्न अधिकारमुखी आन्दोलनहरू र सामाजिक रूपान्तरणको सङ्घर्ष चलिरहेको थियो । यस्तो अवस्थामा प्रगतिवादी समालोचकले युद्धकालीन कविता, कथा, लेखलाई केवल सौन्दर्यका आधारमा मात्र नभई तिनको वर्गीय अभिप्राय, जनमुखी उद्देश्य र राजनीतिक चेतनाका आधारमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता थियो । यसले गर्दा कवि, कथाकारहरूको वैचारिक र लेखन क्षमताको उचाइलाई स्थापित गर्न सहयोग पुगेको यर्थाथ पनि हो । यसै सन्दर्भमा जनयुद्धमा जन्मेका कवि, कथाकारका रचनाहरूमा केन्द्रित हुनुभन्दा पनि सुधारवादी चेतनाको विकासतिर जोडिएका आन्दोलन र बहसहरू पनि भइरहेको थियो र अहिले पनि नभएको होइन । यसले गर्दा एकातिर जनयुद्घका उपलब्धिहरूलाई जोगाएर देशमा आमूल परिवर्तनका लागि सङ्घर्ष गरिरहेकाहरूका लागि यो चुनौति थियो । देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि नेपाली जनताले ठूलो बलिदान दिएका थिए । उनीहरूको त्याग, सङ्घर्ष र आशाले भरिएको त्यो कालखण्ड केवल राजनीतिक परिवर्तनका लागि मात्र थिएन समाजको वर्गीय संरचना तोडेर नयाँ सत्ता र सम्बन्धहरू निर्माण गर्ने उद्देश्यका लागि थियो । तर अर्कोतिर बलिदानको अवमूल्यन गर्ने र क्रान्तिको मर्मलाई सुधारवादी मार्गतर्फ मोड्ने प्रयास पनि भइरहेको थियो । जसले आमूल परिवर्तनको आकाङ्क्षालाई कमजोर पार्ने रणनीति अङ्गालिरहेको थियो । यस्तो प्रवृत्तिलाई उहाँले बाहिरबाट मात्र होइन भित्री रूप अर्थात् नजिकबाट अध्ययन गर्नुभएको थियो । यस्तो संक्रमणकालीन अवस्थामा कवि र आख्यानकार तथा लेखकहरूको दृष्टिमा प्रकट भएका क्रान्तिको चेतना केवल व्यक्तिगत अनुभूतिलाई नभई वर्गीय यथार्थलाई प्रतिनिधित्व गरिरहेको थियो । उहाँले यस्ता अभिव्यक्तिलाई समाजको वर्गीय संरचनासँग गाँसेर विश्लेषण र मूल्याङ्कन गर्नुभयो यसले केवल कवि र आख्यानकारलाई यस आन्दोलनमा उच्च राख्ने काम मात्र गरेन बरू उनका रचनाहरूलाई एउटा ऐतिहासिक, वैचारिक हिस्सा पनि बनाउन सहयोग पुगेको थियो । माक्र्सवादी दृष्टिकोणमा यस्तो समालोचना क्रान्तिको वैचारिक निरन्तरता पनि हो । यसरी उहाँले कला र साहित्यलाई जनताको पक्षमा उभ्याउने र इतिहासमा त्यसको स्थान सुनिश्चित गर्ने काम गर्नुभएको छ । उहाँले स्रष्टाहरूको रचनालाई व्याख्या मात्र गर्नुभएन सामाजिक रूपान्तरणका लागि योजना निर्माण गर्न अग्रगामी वैचारिक भूमिका निर्वाह गर्ने काम गर्नुभयो । यही वैचारिक प्रतिबद्धता र निरन्तर साधनाले उहाँलाई समय र राजनीतिक परिवर्तनले कहिल्यै पनि वैचारिक रूपमा विचलित गर्न सकेन । उहाँ सदा नाम र दामका लागि बजारमा चर्चित हुने होडबाजीबाट टाढा रहनुभयो र आफ्नो निष्ठा र विचारमा आँच आउन दिनु भएन ।

उत्पीडित तथा सर्वहारावर्गको नेतृत्व अस्वीकार गर्ने प्रवृत्तिले यथास्थितिलाई नै स्थायित्व दिने काम गर्छ । यसले परिवर्तनको भाषा बोल्छ तर सत्ता र संरचनाको मूल स्वरूप भने जस्ताको तस्तै रहन्छ । यस्तो प्रवृत्तिले कला, साहित्यलाई बजारीकरण गर्न सहयोग पु¥याउँदै व्यक्तिवादी चरित्रको विकास हुन्छ र प्रचारप्रसार तथा लोकपृयतामा सन्तुष्ट हुन्छन् भन्ने मूल्याङ्कन उहाँको समालोचनामा देखिन्छ । साहित्यिक सिर्जनाको कला, भाषा, अन्तरवस्तुमा स्पष्ट विचलन देखिन्छ । उहाँले यस्ता प्रवृत्तिको नजिकबाट शुक्ष्म अनुभव मात्र होइन गहिरो अध्ययन पनि गर्नुभएको छ ।

माक्र्सवाद गतिशीलतामा आधारित हुन्छ । यसको मूलभुत स्वभाव नै गतिशीलता र ऐतिहासिक द्वन्द्वात्मकता हो । यसले समय, समाज, अर्थव्यवस्था र चेतनाको निरन्तर परिवर्तन प्रकृयालाई विश्लेषण गर्छ । माक्र्सवादी समालोचना पनि गतिशील हुन्छ र यसले समय, राजनीतिक परिवर्तनका क्रममा साहित्यिक कृतिहरूको गहिरो अन्तरवस्तुलाई वर्गसङ्घर्षमा जोडेर सामाजिक चेतनाको तहलाई समय अनुसार गतिशील बनाउन सहयोग गर्छ । यसले गर्दा साहित्यिक कृतिहरू समाजको रूपान्तरण आन्दोलनका हतियारको रूपमा काम गर्छन् । मैले उहाँलाई यिनै आधारमा टेकेर एउटा गतिशील, सशक्त र दूरदृष्टिसम्पन्न माक्र्सवादी समालोचकका रूपमा पाएँ ।

उहाँका समालोचनामा आउने कविहरू आज मेरा लागि अविस्मरणीय छन् । म सम्झिन्छु कवि कृष्णसेन, पूर्णविराम, निभा शाह, विमल निभा, अनिल श्रेष्ठ, विनोद बिक्रम के.सी आदि । किनकि उहाँले समालोचना लेख्दै गर्दा कहिलेकाहीँ म पछाडि उभिएर उहाँले उल्लेख गरेका यी कविहरू र कविताका पङ्तिहरू पढ्ने गर्थें । उहाँले ती कविताको रूप, कला र सौन्दर्य पक्षलाई समाजको वर्गीय प्रेम र सम्बन्धसँग जोडेर त्यसको भावलाई उच्च मूल्य दिएको देख्थेँ । उल्लेख गरेका कवि र उनका कवितामा कविका अनुहार र व्यवहार भन्दा पनि कविताको कला सौन्दर्यमा माक्र्सवादी दृष्टि केन्द्रित भएको पाउँथे । कवि, आख्यानकार समालोचकप्रति आभारी होस्् वा नहोस्् । समालोचकलाई सम्मान गरोस् या नगरोस्, समवेदना होस् या नहोस् तर सच्चा समालोचकले कविताको भावलाई समाजमा यर्थाथ रूपमा चित्रण गर्नु उसको सतचरित्र हो । मैले उहाँलाई यही चरित्रको समालोचकका रूपमा पाएँ ।

पुँजीवादी व्यवस्थाले शोषितहरूको रगत चुसिरहेको छ । अहिलेको भूमण्डलीकरणमा युवाहरू जागिर र अध्ययनको प्रलोभनमा पुँजीवादी बजारमा विक्री भइरहेका छन् । गरीब मुलुकका युवाको ताकत र सिर्जनात्मकतालाई जागिर र अध्ययनको अवसरका नाममा नियन्त्रित मात्र होइन उनीहरूका सिर्जनात्मक क्षमतालाई नै मारिदिएको छ । कुनै पनि सिर्जना केवल सिर्जना मात्र होइन यसले समाजमा एउटा विचार तथा चेतनाको विकास पनि गर्छ । यस्ता चेतनाहरू आज पुँजीवादी व्यवस्थामा नाम र दामका लागि विक्री भए । स्रस्टाहरू कहिलेकाहीं सत्ता र त्यसको दमनको पक्षमा त कहिले काहीं विद्रोह र परिवर्तनको पक्षमा हुन्छन् । यही सन्दर्भमा जब कुनै प्रगतिशील तथा माक्र्सवादी समालोचकले सिर्जनाको गहिरो अध्ययन गरेर त्यसको आन्तरिक संरचना, विचारधारा, सौन्दर्य र त्यसले प्रभाव पारेको वर्गचेतनालाई उजागर गर्छ तब त्यो विश्लेषण सिर्जनाकारका लागि मार्गनिर्देशक बन्न सक्छ । समालोचकको उद्देश्य कुनै एक स्रस्टालाई स्थापित गर्नु मात्र होइन बरू सामाजिक चेतनाको विकास गर्नु पनि रहन्छ ।

हालको साहित्यिक परिवेशमा माक्र्सवादी लेखन भन्दा संसोधनवादको प्रभाव बढ्दै गएको देखिन्छ । यतिबेला मलाई आज भन्दा १५ वर्ष अगाडि संसोधनवादको तीब्र प्रभाव भएको बेला पूर्णविरामलाई कस्तो अनुभव भयो उहाँले लेखेको त्यो सन्दर्भ यहाँ उल्लेख गर्न सान्दर्भिक लाग्यो । पूर्णविरामलाई त्यो समय सौन्दर्य होइन, कुरूपता दृष्टिगोचर भएछ । उनले यस परिघटनालाई वैचारिक विचलनकै रूपमा ग्रहण गरे । (पाण्डेय, २०६८) पूर्णविरामको कवितालाई व्याख्या गर्दै भनिएको हो । म सम्झन्छु आज उनको कविता समाजमा जीवित बनेको छ । पाण्डेयले व्याख्या गरेको कवि पूर्णविरामको कविताको टुक्रा यहाँ सान्दर्भिक रहेको छ ।
हिटलरलाई सलाम गर्नेहरू
अब जतिसुकै भाषण गर
म मूच्र्छित हुन्न
मूर्छामा देखिएका नक्कली माक्र्सहरू
मलाई अब मूर्दा पार्न सक्दैनौ
म व्युँझेको छु नक्कली माक्र्सहरू

कविको निष्ठा विचारप्रति अचल छ । कवि अलमलमा परे पनि, कवि हराए पनि पुँजीवादले माक्र्सवादको अस्तित्व छैन भनेर हल्ला मचाइरहेको बेला कवि र माक्र्सवाद दुबैले यसको विरुद्धमा प्रतिरोध गरेको यर्थाथ हो (पाण्डेय, २०६८) यो सन्दर्भ आज पनि उत्तिकै ससक्त भएको देखिन्छ । कविको वैचारिक विचलनको अनुमान प्रगतिवादी समालोचकले गर्न सक्दैन । कवि वा स्रष्टा चाहे पलाएन हुन् वा समर्पणहिन हुन् उसले लेखेको सिर्जना तुरुन्तै मर्दैन । सिर्जना ऐतिहासिक पाठ हो जसले समयको चेतना बोकेको हुन्छ । त्यसैले लेखक यस विचारबाट टाढा भएपनि वा लेखकले यो यथार्थ बुभ्mदैनन् भने वा टाढा हुन्छन् भने उसले सिर्जना गरेको विचार समाजमा बाँचिरहन्छ । तर त्यसलाई समाजमा अर्थ दिन, समयको सन्दर्भमा जोड्न र सामाजिक रूपान्तरणको आन्दोलनसँग जोड्न प्रगतिवादी तथा माक्र्सवादी समालोचकको निर्णायक भूमिका रहेको हुन्छ । यो प्रगतिवादी तथा माक्र्सवादी समालोचकको इमान्दारिता हो र यस्तो इमान्दारिता र भूमिका माक्र्सवादी समालोचक ताराकन्त पाण्डेयले निभाएको कुरा उहाँले लेखेको ‘अर्थको आनन्द’ पढेर अनुभव गरेँ र यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानँे ।

स्रस्टाको मूल्याङ्कन अर्थात् उसको भाषा, शैली, कौशलता र नवीनतामा मात्र सीमित हुँदैन । जब समालोचकले स्रस्टाको रचनालाई वैचारिक तथा माक्र्सवादी आलोकमा राखेर विश्लेषण गर्छ, तब त्यो मूल्याङ्कनले स्रस्टालाई सामाजिक वर्गसंरचनासंँग जोडिदिन्छ । माक्र्सवादी विचारले साहित्यलाई आत्मकेन्द्रित होइन सामाजिक रूपान्तरणको एउटा साधन ठान्दछ । उहाँले स्रस्टाको रचनाभित्र भएका शुक्ष्म वर्गचेतना, प्रतिरोधको स्वर वा शोषण विरुद्धको भावना उजागर गर्नुभयो । तब ती रचना केवल रचना मात्र होइन एउटा आन्दोलनको दस्तावेज बन्न पुग्छ । यस्तो अवस्थामा स्रस्टाको सामाजिक मूल्य वृद्धि हुँदै जान्छ । माक्र्सवादी स्रस्टाको भावलाई समाजका श्रमजीवी वर्गसँग सिर्जनात्मक र वैचारिक एैक्यबद्धताको कार्य गर्ने काम उहाँको समलोचनाले गरेको पाइन्छ । यसैकारण वर्गीय प्रेम बढ्दै र गहिरिँदै जान्छ । यस अवस्थामा केवल समाजसँग मात्र होइन स्रस्टा र माक्र्सवादी समालोचकका बिचमा पनि वर्गीय प्रेम त्यसरी नै बढ्दै जान्छ र यो हुनुपनि पर्छ । यही हो वैचारिक निष्ठा र वर्गीय एैक्यबद्धता । यसै सन्दर्भमा माक्र्सवादी समालोचक ताराकान्त पाण्डेयको सम्झना आउँदा उहाँले आफ्ना समालोचनामा उल्लेख र व्याख्या गरेका सिर्जना र स्रष्टाहरूको व्याख्या र विश्लेषणले केवल स्रष्टाहरूलाई स्थापित गर्न सहयोग मात्र गरेन बरू उहाँको वैचारिक योगदानले वर्गीय आन्दोलनलाई थप सबल, गतिशील र प्रभावकारी बनाउने महत्वपूर्ण भूमिका खेलेको छ ।

नयाँ उदारवाद, आधुनिकीकरणको प्रभाव साहित्यमा पनि परेको देखिन्छ । अनेकौं वैचारिक विचलन र अन्योलताबाट समाज गुज्रिरहेको बेला अर्कोतिर पुँजीवादी बजारको प्रभाव, सामाजिक सञ्जाल, संचार माध्यमहरूको वर्चश्व र सांस्कृतिक उपभोक्तावादले सिर्जनात्मक चेतनालाई खण्डित गरिदिन्छ ।

आजका धेरै सिर्जनशील युवा नाम र पैसाका पछाडि दौडिदै यस पुँजीवादी संरचनाभित्र आफ्ना क्षमता, सिर्जनाहरू बेच्न बाध्य छन् । यो उनीहरूको आफ्नो चाहना होइन अर्थतन्त्र, शिक्षा र चेतनाको नाममा निर्माण गरिएको प्रणालीको परिणाम हो । यसले उनीहरूलाई वैचारिक दृष्टिकोण भन्दा उपभोग, प्रतिस्पर्धाको संस्कारमा बाँधिदिएको छ । सामुहिक परिवर्तन र विकास भन्दा पनि व्यक्तिगत सफलतालाई प्राथमिकता दिन्छ । अर्कातर्फ सांस्कृतिक आन्दोलनहरू सामाजिक रूपान्तरणका लागि भन्दा पनि व्यक्तिगत पहिचान, व्यक्तिगत स्वार्थ आत्म प्रदर्शनमा केन्द्रित हुनेतिर उन्मुख देखिन्छ । यस्ता बिकृतिहरूले साहित्य सिर्जनामा पनि गहिरो प्रभाव पार्दैछन् । माक्र्सवादी समालोचकले यस्ता विकृतिहरूको अध्ययन गरी वैचारिक र कमजोर पक्षहरूको पहिचान गरेर वर्गसङ्घर्षको आन्दोलनसँग जोड्ने काम गरेको हुन्छ । यसप्रकारको प्रवृत्ति र परिवेशको बारेमा गरेको उहाँको शुक्ष्म विश्लेषणले वैचारिक धारणा स्पष्ट गर्न ठुलो योगदान पु¥याएको पाइन्छ ।

यही कुराहरूलाई पढ्दै बुझ्दै वर्ग चेतनाको ‘अर्थको आनन्द’का पानाहरू बन्द गरेँ, तर मेरो मन भने बन्द छैन । तिमी खुलेर बसिरहेका छौ ताराकान्त मेरो मनभित्र ! स्मृतिभित्र ! जिन्दगीमा कहिल्यै नसोचेको त्यो पल पनि आउँदो रहेछ जहाँ आफ्नो जीवनसाथीको लागि श्रद्धाञ्जली तथा श्रद्धासुमन लेख्नुुपर्ने कठोर क्षणसँग सामना गर्नुपर्ने । केवल जीवनसाथीको रूपमा मात्र होइन तिमीले मलाई एक सचेत सहयात्रीको रूपमा पनि रुचाएका थियौ । लेख्नका लागि साधना चाहिन्छ, जीवनका सत्यहरू स्वीकार गर्न सक्नुपर्छ भन्ने तिमीले सिकाएका थियौ । यही चेतना लिएर म बाँकी जीवनलाई सार्थक र सफल बनाउने दृढ सङ्कल्प गर्दै तिमीले देखाएको विचारमा कलम चलाई रहेकी छु, बस ! यही मेरो प्रेम हो, यही मेरो श्रद्धासुमन हो तिम्रो लागि !

सन्दर्भसूचि
पाण्डेय, ताराकान्त (२०६८) अर्थको आन्नद, विवेक सिर्जनशील प्रकाशन प्रा.लि ।