भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको दलित संगठनहरूले गरे घोर निन्दा

भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको दलित संगठनहरूले गरे घोर निन्दा

टेक बहादुर विश्वकर्मा

 

काठमाडौं । नेपालमा क्रियाशील विभिन्न क्रान्तिकारी दलित संगठनहरूले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य हस्तक्षेपको घोर निन्दा तथा भत्सना गरेका छन् । उनीहरूले अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा सन् २०२६ जनवरी ३ मा भेनेजुएलामाथि सैन्य आक्रमण गरी निर्वाचित राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमती, प्रथम महिला सिलिया फ्लोरेसलाई गिरफ्तार गरी अमेरिका लगेर मुद्दा चलाउने तथा अर्को व्यवस्था स्थापना नहुञ्जेलसम्म भेनेजुएलाको सत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने घोषणालाई चरम साम्राज्यवादी, फासीवादी र दादागिरीपूर्ण हस्तक्षेपको संज्ञा दिएका छन् ।
सातवटा विभिन्न दलित मोर्चाहरुले संयुक्त रूपमा आज पुष २४ गते जारी गरेको विज्ञप्तिमा मादुरोको पक्षमा उभिने राज्य प्रशासक तथा भेनेजुएली जनतामाथि “धेरै नराम्रो हुनेछ” भनी अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्की सार्वभौम राष्ट्रमाथिको खुला चुनौती र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशहरूमा गर्दै आएको सैन्य हस्तक्षेप, सत्ता उल्ट्याउने षड्यन्त्र र प्राकृतिक स्रोतहरूमाथिको लुटको निरन्तरता नै भेनेजुएलामाथिको यो आक्रमण भएको ठहर गरिएको छ । यस प्रकारका कार्यहरूले विश्व शान्ति, जनअधिकार र विधिमा आधारित विश्व व्यवस्थामाथि गम्भीर खतरा उत्पन्न गरेको संयुक्त धारणा छ ।
दलित संगठनहरूले भेनेजुएला एक सार्वभौम तथा स्वाधीन राष्ट्र भएको स्मरण गराउँदै त्यहाँको शासन व्यवस्था, सरकार परिवर्तन तथा राजनीतिक निर्णय गर्ने सम्पूर्ण अधिकार भेनेजुएलाका जनतामै निहित रहेको बताएका छन् । कुनै पनि प्रकारको बाह्य हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै उनीहरूले राष्ट्रपति निकोलास मादुरो तथा प्रथम महिला सिलिया फ्लोरेसको अविलम्ब, बिना सर्त र सकुशल रिहाइको जोडदार माग गरेका छन् ।
विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनसत्ता तथा सामाजिक न्यायको रक्षाका लागि संघर्षरत भेनेजुएलाका देशभक्त जनता, श्रमिक वर्ग र उत्पीडित समुदायप्रति दरिलो ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै नेपालमा समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत हस्तक्षेप बढाउन खोजिएको सन्दर्भ उल्लेख गर्दै विश्वका उत्पीडित जनताको साझा शत्रु अमेरिकी साम्राज्यवादविरुद्ध एकताबद्ध संघर्ष गर्न देशभक्त, क्रान्तिकारी, श्रमिक, दलित तथा उत्पीडित समुदायहरूलाई आह्वान गरिएको छ ।
संयुक्त विज्ञप्तिमा श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालका संयोजक टेक बहादुर विश्वकर्मा, जात व्यवस्था उन्मूलन मोर्चा, नेपालकी महासचिव रुपा सुनार, एकीकृत दलित मुक्ति मोर्चा, नेपालका संयोजक कृष्ण सेवा, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल, दलित अधिकार मञ्च, नेपालका अध्यक्ष सुजन शहासंकर तथा जनपक्षीय दलित मोर्चाका अध्यक्ष देवराज विश्वकर्माको हस्ताक्षर रहेको छ ।

विज्ञप्तिको पुर्णपाठ यसप्रका छः
भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे दलित संगठनहरूको संयुक्त विज्ञप्ति
अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा ३ जनवरी २०२६ मा भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका निर्वाचित राष्ट्रपति निकोलास मादुरो तथा उनकी श्रीमति, प्रथम महिला सिलिया फ्लोरेसलाई गिरफ्तार गरी अमेरिका लगेर मुद्दा चलाउने, साथै भेनेजुएलामा अर्को व्यवस्था स्थापना नहुञ्जेलसम्म त्यहाँको सत्ता अमेरिकाले सञ्चालन गर्ने घोषणा गर्नु चरम साम्राज्यवादी, फासीवादी दादागिरीपूर्ण हस्तक्षेप हो । साथै मादुरोको पक्षमा उभिने राज्य प्रशासक तथा भेनेजुएली जनतामाथि “धेरै नराम्रो हुनेछ“ भनी ट्रम्पले दिइएको धम्की सार्वभौम राष्ट्रमाथिको खुला चुनौती र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हो । राज्य आतङ्कको आडमा सञ्चालित अमेरिकी साम्राज्यवादवादी निन्दनीय हस्तक्षेपको हामी नेपालमा क्रियाशील क्रान्तिकारी दलित संगठनहरू संयुक्त रूपमा घोर निन्दा तथा भत्सना गर्दछौं ।
अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशहरूमा गर्दै आएको सैन्य हस्तक्षेप, सत्ता उल्ट्याउने षड्यन्त्र र प्राकृतिक स्रोतहरूमाथिको लुटको निरन्तरता नै भेनेजुएलामाथिको यो आक्रमण हो, जसले विश्व शान्ति, जनअधिकार र विधिमा आधारित विश्व व्यवस्थामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।
भेनेजुएला एक सार्वभौम तथा स्वाधीन राष्ट्र हो, जहाँको शासन व्यवस्था, सरकार परिवर्तन तथा राजनीतिक निर्णय गर्ने सम्पूर्ण अधिकार भेनेजुएलाका जनतामै निहित छ र कुनै पनि प्रकारको बाह्य हस्तक्षेप अस्वीकार्य छ । यस सन्दर्भमा हामी सार्वभौम तथा स्वाधीन राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो तथा उनकी श्रीमतिको अविलम्ब, बिना सर्त र सकुशल रिहाइको जोडदार माग गर्दछौं र राष्ट्रिय स्वाधीनता, जनसत्ता तथा सामाजिक न्यायको रक्षाका लागि संघर्षरत भेनेजुएलाका देशभक्त जनता, श्रमिक वर्ग र उत्पीडित समुदायप्रति हाम्रो दरिलो ऐक्यबद्धता प्रकट गर्दछौं ।
अतः नेपालमा समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत हस्तक्षेप बढाउन तल्लिन विश्वका उत्पीडित जनताको साझा शत्रु अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षमा एकताबद्ध हुन तथा भेनेजुएलाका जनताको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता मजबुत बनाउन देशभक्त, क्रान्तिकारी, श्रमिक, दलित तथा उत्पीडित समुदायहरूलाई हार्दिक आह्वान गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
मितिः २४ पौष २०८२ ।

रामलाल सी
अध्यक्ष
श्रमिक समुदाय मोर्चा, नेपाल
केन्द्रीय समिति

टेक बहादुर विश्वकर्मा
संयोजक
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल
केन्द्रीय सम्मेलन आयोजक समिति

रुपा सुनार
महासचिव
जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल
केन्द्रीय समिति

कृष्ण सेवा
संयोजक
एकीकृत दलित मुक्ति मोर्चा, नेपाल
केन्द्रीय समिति

उपेन्द्र छटुन्जेल
अध्यक्ष
नेपाल राष्ट्रिय दलित केन्द्र
केन्द्रीय समिति

सुजन शहासंकर
अध्यक्ष
दलित अधिकार मञ्च, नेपाल
केन्द्रीय समिति

देवराज विश्वकर्मा
अध्यक्ष
जनपक्षीय दलित मोर्चा
केन्द्रीय समिति