
क) पृष्ठभूमि
१. ०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पछि दुई पटक संसदको चुनाव भयो । तर देश र जनताको जीवनमा परिवर्तन आएन । झन् यसको उल्टो सरकार र दलहरुको स्वेच्छाचारी, निरंकुशता, भ्रष्टाचार, महंगी, युवा वेरोजगार, स्वास्थ्य र शिक्षामा निजीकरण तथा माफियाकरण, वैदेशिक हस्तक्षेप बढेर गएको छ । यसै बीचमा आदिवासी जनजातिमाथि थप उत्पीडन हुँदै गएको छ । पश्चागामीहरुद्वारा यसैलाई निहु बनाएर राजतन्त्र पुर्नस्थापना गर्न भनेर आन्दोलन गर्न प्रयास पनि भयो, तर सफल हुन सकेन । राजतन्त्र भनेको कालो व्यवस्था हो । यस्तो वातावरणमा जेनजीको नाममा आन्दोलन भयो । ओलीको सरकार ढलेर शुशीला कार्कीको नेतृत्वमा गैरदलीय सरकार गठन भएको छ । सरकारको सिफारिसमा भंग भएको संसदको ठाउँमा फागुण २१ गते संसदीय निर्वाचनको घोषणा भएको छ । देशको अवस्था अहिले अन्यौल र अस्थिर रहेको छ ।
ख) जेनजी आन्दोलन
२. पछिल्लो चरणमा ओली सरकारको समयमा सामाजिक संजाल मार्फत गृह मन्त्रालय अन्र्तगत अध्यागमन विभागमा भएको भ्रष्टाचार, भूमिसुधार मन्त्रालमा भएको भ्रष्टाचार, सरकारी निकायसहित विभिन्न क्षेत्रमा भइरहेको भ्रष्टाचार र अनियमितको भण्डाफोरका कारणले सरकारले सामाजिक संजालका संस्थाहरुद्वारा नेपालमा कानून अनुसार दर्ता गर्न अस्वीकार गरेको बहानामा सामाजिक संजालमाथि प्रतिबन्ध लगाएपछि जेनजीलगायत जनता यस व्यवस्था, नेता र सरकारहरुसित झन् आक्रोशित भएका थिए । सामाजिक संजालमार्फत नेपोकिडहरुको स्वर्गिक जीवन शैलीको व्यापक प्रचारप्रसारले सर्वसाधारण जेनजी र जनतामा संसदीय दलका नेताहरुप्रति थप घृणा र आक्रोश बढायो । यसै बीचमा जेनजीको नाममा आन्दोलन हुने व्यापक प्रचार भयो । जेनजी आन्दोलनको नारा यस प्रकारका रहे ः सामाजिक संजाल पुनः संचालन गर्नु पर्ने, नेपोकिडको विरोध र भ्रष्टाचारको अन्त तथा सुशासनया व्यवस्था हुनु पर्ने ।
३. देशमा पैदा गरिएको विकृति तथा विसंगति र जनतामा उत्पन्न निरासा तथा असन्तुष्टि पाकेको अवस्थामा भाद्र २३ गते जेनजीका नाममा आयोजित विरोध प्रर्दशनमा यिनै नाराहरुको समर्थनमा सर्वसाधारण र राजनीतिसित सम्बन्ध नभएका हजारौँ जेनजीहरु कार्यक्रममा सहभागी भए । विरोध प्रदर्शनका क्रममा पश्चिमा समर्थित डिपस्टेट (भूमिगत गिरोह)बाटं संचालित आयोजकका जेनजीहरुका उद्देश्य, उक्त प्रर्दशनमा घुसपैठ भएका पश्चागामी शक्तिहरु र संसदीय पार्टीहरु, अनि यस घुसपैठले पैदा गरेको उत्तेजित वातावरण, उक्त प्रर्दशन दमन गर्न भएको गोली काण्ड तथा केही समयभित्र बानेश्वरमा १९ जना सर्वसाधारण जेनजीहरुको हत्या र सयौँ घाइतेका कारण जनता स्तब्ध, शोकाकुल र आक्रोशित अवस्था सृजना भयो ।
४. भाद्र २४ गते विहानैदेखि काठमाडौं उपत्यकाको रिङरोड भित्र प्रशासनले कफ्र्यु लगाएको थियो । तर २३ गतेको घटनाले साधारण जनताहरु दुखित र आक्रोशित भएको अवस्थामा सुरक्षाकर्मीहरुको सडकमा अनुपस्थित वा कफ्र्यु तोडे पनि मुकदर्शक भएको अवस्था रह्यो । सुनियोजित र षड्यन्त्रकारी तथा घुसपैठियाहरुको नेतृत्वमा तोडफोड र आगजनी भएको र पछि आक्रोशित जनता पनि त्यसमा सहभागी भए । सेनाको व्यारेक भएको सिंहदरवार, सँगैको सर्वोच्च अदालत, जिल्ला अदालत, संसद भवन, प्रधानमन्त्री क्वाटर, राष्ट्रपति भवन, विभिन्न मन्त्रालयहरु र सरकारी भवनहरु, पुलिस चौकीहरु, शपिङ महलहरु, कारखाना तथा नेताहरुको घरमा आगजनी सुरक्षा निकाय मूलतःं सेना मुकदर्शक भएको कारणले तोडफोड, आगजनी निश्चिन्त भएर गर्न दिइएको थियो । यस्तो घटनाहरु देशैभरी भए ।
५. सेनाद्वारा प्रधानमन्त्रीको निर्देशन पालना गर्न अस्वीकार गरिएर आगजनी तथा तोडफोडका घटना घटाई ओलीलाई राजीनामा दिन बाध्य पारिएको थियो । मुढे बलका ओलीले २३ गते नै राजिनामा दिएको भए सायद २४ गते उक्त घटना हुने थिएन ।
६. गरिनु पर्ने सबै तोडफोड, आगजनी, लुटपात र विध्वंस भइसकेपछि राति १०ः०० बजेदेखिं सेना परिचालन हुने घोषणा सेनाद्वारा आएको र परिचालित पनि भयो ।
७. राष्ट्रपति, दलका नेताहरु सुरक्षाको नाममा ब्यारेकमा एक प्रकारले नजरबन्द गरिएको स्थिति थियो । यस बीचमा प्रधान सेनापतिले जनताको नाममा सम्बोधन गर्दा पृथ्वीनारायणको फोटो राखेर गरे, तर राष्ट्रपतिको फोटो राखिएन । सेनाले जेनजी भनिएकाहरुसँग वार्ता, त्यसै गरि विभिन्न व्यक्तिहरु शुशिला कार्की, दुर्गा प्रसाईं, बालेन शाह, हर्क सामपाङ आदिसित वार्ता गर्ने काम भयो । यही बीचमा सेनाले राष्ट्रपतिलाई राजीनामा दिन दवाव दिएको कुरा बाहिर आयो ।
८. यसै बीचमा जेनजीहरुका माग भनेर राष्ट्रपतिको राजीनामा, संसद विघटन, संघीयता खारेज, संविधान खारेज गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनु पर्ने कुरा बाहिर आयो ।
९. पश्चिमा मूलरुपमा अमेरिकी साम्राज्यवाद र दक्षिणको सहमति र साथै जेनजी, सेना र राजनीतिक दलहरुको पनि सहमतिमा भनेर शुशिला कार्कीलाई गैरदलीय सरकार बनाउन भाद्र २७ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो र जेनजीहरुको दवावले भनेर संसद विघटन गरी फागुण २१ गते संसदको चुनाव गर्ने घोषणा भयो ।
ग) जेनजी आन्दोलनया नाममा भएको घटनाको निष्कर्ष
१०. माथि उल्लेख गरिएका कुराले जेनजी आन्दोलन जेनजी उमेरका सर्वसाधारणहरुको सामाजिक संजाल पुनः शुरु गरिनु पर्ने, नेपोकिडको विरोध र सुशासनका कुरामा इमान्दारीपूर्वक समर्थन गरेको भएतापनि यस आन्दोलनका आयोजक भने पश्चिमाबाट परिचालित हुन् । यसमा बारबारा फाउण्डेसन, फ्रि तिब्वत स्टुडेन्ट मुभमेन्ट, टिबिओ आदिसहितका संस्थाहरुको लगानी र आन्दोलनमा भएको घुसपैठ राम्रैसँग बेनकाब भयो । त्यसै गरी दक्षिणको पनि आगजनी र तोडफोडमा सहभागीता रहेको घटनामा सहभागीहरुबाट स्पष्ट भयो । शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरामा मूलतः पश्चिमा र दक्षिणको मुख्य भूमिका रहेको कुरा दलाइ लामा र भारतबाट प्रधानमन्त्री शुशीला कार्कीलाई तल्काल दिएको बढाइले थप पुष्टि गरेको छ । यस घटनाले जेनजी आन्दोलनका नाममा एक सुनियोजित षड्यन्त्र हो भन्ने पुष्टि भएको छ । यसमा देश र जनताप्रति सच्चा भावना भएकां सर्वसाधारण जेनजीहरुलाई नराम्ररी प्रयोग गर्न उनीहरु सफल भएका छन् । यी सबै कुरा भएर पनि देश र जनताको समस्याको मूल जड संसदीय व्यवस्था, संसदीय पार्टीका नेताहरु र मूल रुपमा ओलीको घमण्डले यस घटना घटाउन साम्राज्यवाद र विस्तारवाद एक प्रकारले सफल भएका छन् । यसमा कमजोर पक्ष भनेको क्रान्तिकारी र देशभक्तहरुको कमजोर स्थिति पनि रहेको प्रष्ट भएको छ । यससँगै बालेन, रास्वपा आदि पनि बेनकाब भएका छन् । यस आन्दोलनले जेनजी उमेर समुह र युवाहरु बीचमा राजनीतिक चासो भने बढाउन सफल भएको छ । भ्रष्ट संसदीय दलका नेता कार्यकर्ताहरुमा डरत्रास पैदा गरेको छ ।
११) समग्रमा भन्नु पर्दा जेनजी आन्दोलनलाई बाहिरबाट हेर्दा नेतृत्वविहिन भएको अवस्था देखियो । तर यसमा दुई वटा पक्ष रहेको भने स्पष्ट देखियो । एउटा पक्ष देश र जनताप्रति इमान्दार तथा देश र जनताको प्रगतिका लागि सडकमा उत्रिएका ठुलो संख्याका इमान्दार जेनजीहरु रहे भने अर्को पक्ष भनेको डिपस्टेट (विदेशी भूमिगत गिरोह)द्वारा परिचालित मुठ्ठीभरका जेनजीहरु रहे । इमान्दार जेनजीहरु छायाँमा परे किनकि यो संगठित समूह थिएन । देश र जनताप्रति इमान्दार नरहेका जेनजीहरु हावी भए किनकि यसलाई पश्चिमा सहयोग, निर्देशन र आवश्यक आडभरोसा थियो ।
घ) देशको अहिलेको मूल समस्या
१२. अमेरिकी साम्राज्यवादको मूल लक्ष्य भनेको चीनलाई घेर्नु रहेको छः । त्यसैले उ नेपालमा सैन्य बेस क्याम्प राख्ने कोशिस गरिरहेको छ । भारतीय विस्तारवादको चाहना भनेको नेपाललाई अर्धउपनिवेश, नवउपनिवेश बनाएर आर्थिक, राजनीतिक र धार्मिक स्वार्थ सिद्ध गर्नु रहेको छ । अब तिनकै कठपुतली सरकार बनिसकेपछि यस दिशामा नेपाललाई लगेर यहाँ ठुलठुला देशको स्वाधीनता र जनतामाथि घात गरिने स्थिति आजको मूल समस्याको रुपमा निर्माण भएको छ । त्यसैले आज कठपुतलि सरकार देशको स्वाधीनताका लागि ठुलो तगारो भएको छ । फागुण २१ गते चुनाव भए पनि नभए पनि यस परिस्थितिमा परिवर्तन आउनेछैन । त्यसैले यस सरकारलाई खारेज गरेर देशको स्वाधीनता रक्षा गर्न आज देशभक्त, प्रगतिशील र वामपंथीहरुको शसक्त संयुक्त आन्दोलन अपरिहार्य भएको छ । अर्कोतिर यस वेला सम्पूर्ण जनता यस स्वाधीनताको आन्दोलनमा एकढिक्का हुन अवरोध भइरहेको स्थिति भनेको देशको जनसंख्याको झण्डै ३४.५० प्रतिशत आदिवासी जनजाति, २०.४२ प्रतिशत मधेशी र उत्पीडित क्षेत्रया ११०.३० प्रतिशतलाई राज्यबाट भइरहेको उत्पीडन रहेको छ । यस बाहेक दलित, महिला र मुस्लीम समुदायलाई पनि अमानवीय उत्पीडन भइरहेको छ । साथै धनी र गरिबको खाडल पनि अत्यन्त गहिरो छ । यो वर्गीय समस्या हो । त्यसैले नेपालको इतिहासमै आज देश र जनताका लागि सबैभन्दा ठुलो समस्या उत्पन्न भएको छ ।
ङ) समस्या समाधानको बाटो
१३. यदि आदिवासी जनजाति, मधेशी उत्पीडित समुदायलाई अधिकारको सुनिश्चित भएकोे पहिचानसहितको संघीयता दिइयो भने यहाँका राष्ट्रियताहरु एकढिक्का हुनेछ, र राष्ट्रिय एकता कायम हुनेछ । हालको संघीयता नक्कली संघीयता हो र यो सारमा एकात्मक छ । त्यसै गरीे दलित, महिला, मुस्लिमलाई विशेषाधिकार दिन सक्दा ती पनिं राष्ट्रिय एकतामा समावेश हुनेछन् । यसमा गरिब जनतालाई पनि समावेश गरिनु पर्दछ । यस प्रकारको मजबुत राष्ट्रिय एकता निर्माण हुने अवस्थामा मात्र देशको स्वाधीनताको आन्दोलन निष्कर्षमा पु¥याउन सकिनेछ । त्यसैले यस प्रकारले उत्पीडितहरुलाई अधिकार दिने इच्छा शक्ति र बचनाबद्धतासहित देशभक्त, प्रगतिशील, वामपंथीहरुको स्वाधीन संयुक्तः सरकार बनाउने कुरा आज अपरिहार्य भएको छ । यसले मात्र देशको राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र जनतालाई अधिकारं सम्पन्न गर्न सक्नेछ र सुशासन, स्वास्थ्य, शिक्षा, रोजगारी आदि समस्या हल हुनेछ । त्यसैले आज स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न देश र जनताको गंभीर प्रश्न बनेको छ र देशभक्त, प्रगतिशील, बामपंथीहरुको शसक्त आन्दोलनले कठपुतली सरकारलाई फालेर स्वाधीन संयुक्त सरकार बनाउन बिलम्ब गर्नु हुँदैन ।






























