लेनिनका तीन सन्दर्भ र नेपालको क्रान्ति

लेनिनका तीन सन्दर्भ र नेपालको क्रान्ति

विचार

एक शताब्दीपछि भिन्न भूगोलको भिन्न परिवेशमा बसेर लेनिनलाई पढ्दा मैले उहाँका कार्यदिशाका तीन सन्दर्भ सबभन्दा उल्लेख्य ठान्दछु । १. प्रथम विश्युद्धको पूर्वानुमान र त्यो युद्धमा श्रमिकवर्गले खेल्नुपर्ने भूमिकाको सन्दर्भ । २. रूसमा फरवरी क्रान्तिपछि सोभियतले तत्काल सत्ता हातमा लिने कि नलिने भन्ने सन्दर्भ । र ३. अक्टोबर क्रान्ति कहिले सुरु गर्ने भन्ने सन्दर्भ । यी तीनवटै सन्दर्भमा लेनिनले दिनुभएको लाइनले मार्क्सवादको सारलाई दृढतापूर्वक पक्रेर क्रान्तिको सही दिशानिर्देश गरेको थियो ।
प्रथम विश्वयुद्धलाई हेर्ने दृष्टिकोण र त्यसमा समाजवादीहरूले खेल्ने भूमिकाका सम्बन्धमा लेनिनको लाइन कार्यान्वयनमा गएको भए आजको संसारको चित्र अर्कै हुन सक्थ्यो । हुनत अतीतमा भइसकेका कुरालाई इतिहासमै पुगेर उल्ट्याउन नसकिने भएपछि यसो गरेको भए यस्तो हुन्थ्यो होला भनेर गरिने अनुमानको धेरै अर्थ नहोला ! तर समाज विकासका सन्दर्भमा गरिएका प्रक्षेपणहरूको निशाना चुक्नु र नचुक्नुका सीमा र सामर्थ्यका अर्थमा यस्ता समीक्षाहरूले पनि अवश्य मूल्य राख्तछन् ।
संसारको यथार्थलाई यथार्थमै देख्ने दृष्टकोण लेनिनले मार्क्सवादको गहन अध्ययनबाट प्राप्त गर्नुभएको थियो । मार्क्सवादी दर्शन,

अर्थशास्त्र र राजनीतिको चुरो पक्रेका उहाँलाई साम्राज्यवादी मार्गमा कुँदिरहेको पुँजीवादी प्रणालीमा युद्धको अवश्यम्भाविता थाहा पाउन बेर लाग्ने विषय थिएन । विश्वका स्रोतसाधन लुट्ने र बजार विस्तार गर्ने एकाधिकार प्राप्तिका निम्ति ङ्यार्रङुर्र गर्न थालेका युरोपका साम्राज्यवादी शक्तिराष्ट्रहरू निकट भविष्यमै भीडन्तमा जाने आभास भइसकेको हुनाले विश्वयुद्ध सुरु हुनुभन्दा चार वर्ष अघि नै मजदुरवर्गीय आन्दोलनमा यो युद्धले पार्ने प्रभाव र मजदुरवर्गले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा सुरु भइसकेको थियो । १९१० र १९१२ मा भएको दोस्रो अन्तर्राष्ट्रियको सम्मेलनमा व्यापक बहस भयो । दोस्रो इन्टरनेसनलमा युरोपका सबै समाजवादी पार्टीहरू सामेल थिए । लेनिनले ‘विश्वका मजदुर एक होऊ’ भन्ने मार्क्सवादी अन्तर्राष्ट्रियतावादको सार पक्रनुभयो र त्यही कार्यदिशा पारित भयो पनि । यी दुवै सम्मेलनमा समाजवादीहरूले यो युद्ध रोक्नेगरी भूमिका खेल्नुपर्ने निर्णय गरियो । १९१४ सम्म आइपुग्दा युरोपका महाशक्तिहरू महायुद्धमा उत्रिहाले । इतिहासमा प्रथम विश्वयुद्धका नामले परिचित यो युद्धमा एकातिर बेलायत, फ्रान्स र रूस अनि अर्कातिर जर्मनी, अस्ट्रोहङ्गेरी र अटोमन साम्राज्य गठबन्धनमा थिए ।

दोस्रो अन्तर्राष्ट्रियको सम्मेलनमा युद्धको विरुद्धमा जाने निर्णय गरिएको भए पनि युद्ध सुरु भइसकेपछि फ्रान्स, बेलायत र जर्मनीका समाजवादी पार्टीहरू निर्णयलाई कार्यान्वयनमा लैजानुपर्नेमा राष्ट्रियताको नारा दिँदै त्यस निर्णयका विपरीत उभिन पुगे । साम्राज्यवादी स्वार्थ र अहंकारको लडाइँमा सामेल भएर मजदुरहरू मारिनुपर्ने अवस्थाको सिर्जना भयो । शासकहरूले शत्रुराष्ट्र ठानेका देशका मजदुरहरूलाई शत्रु ठानेर मजदुरहरू नै लड्नुपर्ने भयो । यो ‘विश्वका मजदुर एक होऊ’ भन्ने मार्क्सवादी अन्तर्राष्ट्रियतावादको गम्भीर उल्लङ्घन थियो । राष्ट्रवादको नारामा अरू त अरू रूसमा मार्क्सवादको बौद्धिक आधारशिला खडा गर्ने अग्रगण्य सिद्धान्तकार मानिएका तथा रुसी समाजवादका पिता भनिने प्लेखानोभ समेत भड्किन पुगेका थिए । पछि १९१७ को फरवरी क्रान्तिका समयमा त उनले अमेरिकी अखबारमा रूसमा अब मजदुरको कुनै पनि हडताल र प्रदर्शनलाई अपराध घोषित गरिनुपर्छ भनेर लेखेका थिए । उनको तर्क थियो ‘जर्मन राक्षस अगाडि बढिरहेको अवस्थामा देशका जनताहरू आपसमा लड्नु हुँदैन, पहिला दुष्टलाई भगाऊँ’ (बेनीपुरी, पृ. ८०) । युरोपका समाजवादी दलका मुख्य नेतृत्वले अन्धराष्ट्रवादी मार्ग पक्रेपछि पनि त्यो निर्णयमा असहमत त्यस दलका ससाना लडाकु समूहले यो युद्धको विरोध गरिरहे । अन्ततः उनीहरू शासकहरूद्वारा थोपरिएको प्रताडना र युद्धसमर्थक जनताको कोपभाजनको शिकार हुन पुगे । तहसनहस पारिए ।

दोस्रो अन्तर्राष्ट्रियमा पारित कार्यदिशा पक्रेर युरोपका समाजवादीहरू प्रथम विश्वयुद्धको विरुद्धमा एक ठाउँमा उभिएको भए युरोपमा समाजवादी आन्दोलनको नयाँ तरङ्ग जरुर पैदा हुनेथियो । भलै अन्य देशका शासकहरूको शासकीय व्यवस्थापनको अवस्था रूसका जारहरूको झैं अस्तव्यस्त र अन्यौलग्रस्त थिएन । रूसका मजदुर, किसान तथा सेनामा फैलँदै गएको असन्तुष्टि र जागरणको लहरको व्याप्ति अन्य देशका जनतामा त्यसै स्तरमा माथि उठेको नभए पनि चुनौती दिनसक्ने हैसियतमा विद्यमान थियो । चुनौतीका बिचमा उभिएर एकताबद्ध भई गरिएका छलफल, अध्ययन र समर्पणले नयाँ नयाँ युक्तिहरू खुल्दै जाने गर्छन् । सङ्कटकालको यो अपूर्व एकताले रूसमा झैंगरी युरोपमा समाजवादी क्रान्ति सम्पन्न हुनसक्थ्यो; खासगरी बेलायत, फ्रान्स र जर्मनीमा ।

दोस्रो अन्तर्राष्ट्रियले पारित गरेको कार्यदिशा अनुसार रूस र युरोपमा एकैसाथ क्रान्ति सम्पन्न भएको भए सिङ्गो युरोप समेतको सोभियत सङ्घ बन्न सक्तथ्यो । अन्तर्राष्ट्रियतावादले निर्देशित गरी सहकार्यमा सम्पन्न भएको क्रान्तिले राष्ट्रियताको सङ्कीर्ण सीमाभित्र बाँधिनुपर्ने थिएन । युरोपका देशहरूमा अमेरिकी साम्राज्यवादले खुट्टा टेक्न पाउने थिएन । सोभियत सङ्घमा भाँडभैलो मच्चाउने नियतले घुसपैठ गर्ने र अनेक किसिमका अवरोध खडा गर्ने मुख्य माध्यमभूमि बन्ने थिएन युरोप । ऊ बेलाको सोभियत सङ्घ र युरोप एकढिक्का भई बनेको विश्वको सर्वशक्तिमान् समाजवादी सङ्घलाई अमेरिकाले छुन पनि सक्तैनथ्यो । क्रान्तिको वैश्विक लहर अझै सशक्त ढङ्गले व्यापक रूपमा अगाडि बढ्ने थियो । विस्तारित सोभियत सङ्घमा साम्राज्यवादको घेराबन्दी सहज हुने थिएन । फलतः सोभियत सङ्घ विघटनमा जाने परिस्थितिको निर्माण नहुन पनि सक्थ्यो ।

कुनै पनि चिजको सङ्घटन र विघटनमा आन्तरिक कारण नै प्रमुख हुन्छन् । अन्तरमा प्रवेश गर्न सक्यो भने मात्रै बाह्य कारणले असर पुर्‍याउने हुन् । चल्ला बन्ने क्रममा ओथारोमा तातिँदै गरेको अन्डामा बाहिरबाट एउटा काँटीले प्वाल पारिदिने हो भने त्यसको अन्तर खल्बलिन्छ । अब त्यसबाट चल्ला निस्कँदैन । सोभियतसङ्घमा हुर्कँदै गरेको समाजवादी प्रणालीभित्र प्रतिक्रियावादीहरूले पत्तै नपाउने गरी काँटीले प्वाल पारेका हुन् । क्रुप्सकायाको संस्मरणमा एउटा रोचक प्रसङ्ग छ— ‘२००५ को विद्रोहपछि ११/१४ सालतिर सर्वहारा मात्र होइन, जार पनि चनाखो भएको थियो । अब उसका जासुसहरू सडकमा लखरलखर घुम्ने होइन, पार्टीको उच्च पदमा समेत पुगेका थिए ।’ अक्टोबर क्रान्तिपछि पनि अनेक आवरणमा साम्राज्यवाद पार्टीभित्रै र माथि नै पुग्यो । तब त ख्रुश्चेव र गोर्वाचोभहरू जन्मे । कसैले भेदन गर्न नसक्ने खालको रक्षाकवच निर्माण गर्न किन सकेनन् त ? भन्ने प्रश्न भने बाँकी नै रहन्छ । आन्तरिक रूपमा जीवन्त जनसम्बन्धको सञ्जालमा बुनिएको मार्क्सवादी विचारप्रणाली र साङ्गठनिक प्रणाली परिपालना र विकासमा खरो उत्रन सकेको भए गलत विचार र गलत पात्रहरू पार्टी प्रवेश गरी नेतृत्व तहमा पुग्ने अवस्थाको सिर्जना हुने थिएन होला । फेरि पनि युरोप समेतको प्रभावशाली उपस्थितिले एकढिक्का बनेको सोभियत सङ्घको रक्षा कवच धेरै मजबुत हुने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यो सङघटनले अन्तरप्रणालीको ढाँचा पनि भिन्न पार्न सक्थ्यो ।

समाज गतिविज्ञानमा कारण र कार्यको श्रृङ्खलाबद्ध असर (चेन इफेक्ट) कहाँ कसरी पर्दै जान्छ, गणितमा झैंगरी ठिकठिक जवाफ दिन सकिने विषय होइन । हुँदैजाँदा यसले अकल्पित परिणामहरू निकाल्न सक्छ । लेनिनमा क्रान्ति सम्पन्न हुने कुरामा पूराका पूरा विश्वास थियो । विश्वास थियो र त उहाँको सिङ्गै जीवन क्रान्तिका निमित्त समर्पित थियो; सपना, विपना, कल्पना र कर्म सम्पूर्णतः क्रान्तिचिन्तनमा डुबेको थियो । तर उनै लेनिनलाई १९१७ अक्टोबर २४ मै वोल्सेभिकको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ भन्ने अनुमान थिएन । मात्र नौ महिना अघि (जनवरीमा) जुरिचमा भएको एउटा बैठकमा लेनिनले भन्नु भएको थियो— ‘हामी पुराना पुस्ताका मान्छेले शायद नै निर्णायक क्रान्ति साकार भएको देख्न पाउँला’ (नीमा पृ. ५१) । भनिन्छ, प्वाक्क यसरी बोलेको भए पनि ‘बोल्नासाथ लेनिन आफ्नै वाणीउपर आश्चर्यचकित हुनुभएको थियो’ (नीमा पृ. ५१) । फरवरी क्रान्ति त्यही समयमा त्यसरी उठ्ला भन्ने पनि लेनिनको अनुमानमा थिएन । रूसी समाजमा अपूर्व हलचल उत्पन्न हुन लागेको आभास भने उहाँले राम्रोसित पाउनु भएको थियो । फरवरी क्रान्तिका समयमा बोल्सेभिक पार्टीका अधिकांश नेताहरू कि जेलमा र कि निर्वासनमा रहेको अवस्था थियो । पार्टीले यतिबेला पार्टी पनि मजबुत नरहेको र सेनासित पनि सम्पर्क विस्तार गर्न नसकिएको कारणले अहिले हडताल गर्ने उचित बेला होइन भनेको थियो । यो भविष्यको क्रान्तिका लागि तयारी गर्ने बेला हो भनेको थियो । तर फरवरी १९१७ मा पेत्रोग्रादका टेक्सटाइल मिलमा काम गर्ने महिला श्रमिकले हडताल गरे । यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन थियो । उनीहरू भोकमरी, युद्ध र जार शाहीको विरुद्धमा प्रदर्शन गर्न सडकमा निस्के । अब भने बोल्सेभिकले साथ दिने निर्णय गर्‍यो । मेन्सेवभिक र समाजवादी क्रान्तिकारी पार्टीले त महिला दिवसलाई उत्सवका रूपमा मनाउने तयारी गर्दै थिए । हडताल भइसकेपछि उनीहरूले पनि समर्थन दिने निर्णय गरे । पेत्रोग्रादका मजदुरहरू मेहनतकश महिलाको समर्थनमा हडतालमा उत्रिए । हडताल अन्यत्र पनि यसरी फैलिँदै र गहिरिँदै गयो कि एक हप्तापछि जारले राजपाट नै त्याग्नुपर्‍यो । अन्तरिम सरकार गठन भयो । यो हडतालको दौरानमै श्रमिकहरूले १९०५ मा स्थापित सोभियतलाई बिउँताए । सुरुमा कसैले पनि कल्पना गरेको थिएन कि फरवरी २३ (मार्च ८) को यो दिन रूसमा पुँजीवादी जनवादी क्रान्तिको पहिलो दिन हुँदैछ ।

रूसमा १९१७ को फरवरीमा भएको क्रान्तिका बखत लेनिन स्वीटजरल्यान्डको जुरिचमा हुनुहुन्थ्यो । क्रान्ति भएको थाहा पाएपछि उहाँले तत्काल पत्र लेख्नुभयो— ‘कामदार प्रतिनिधि सोभियतद्वारा सत्ता ग्रहण गर्ने अहिले होइन, शान्ति र स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने हो । कामदारलाई सशस्त्र पार्ने र सत्ता हड्पेर लिनका निमित्त ठोस तयारी गर्ने हो । हामी अहिले अल्पसङ्ख्यक छौं । जनताको हामीमाथि विश्वास छैन । हामीले पर्खनु पर्छ । जब सरकारको असली रूप खुल्छ तब उनीहरू हाम्रो साथमा आउँछन्‌’– क्रुप्स्काया । पेरिस कम्युनको ऐतिहासिक अनुभवबाट पाठ सिकेका लेनिनलाई राम्रोसित थाहा थियो कि सत्तापलट भन्दा पनि कठिन थियो त्यसलाई टिकाउन र राज्यको नयाँ मसिनरी स्थापित गर्न ।

माथि नै भनिसकिएको छ, फरवरी क्रान्ति कुनै बनिबनाउ रोडम्यापका आधारमा सम्पन्न भएको थिएन । पार्टीको निर्णयबाट थालनी नभएका हिसाबले स्वस्फूर्त थियो तर मजदूरहरूमा विद्रोहको चेतना भर्ने काम वर्षौं अघिदेखि पार्टीकै निरन्तर पहलमा भएको थियो । वर्गप्रबुद्ध सर्वहाराले मात्रै शोषितहरूको नेतृत्व गर्न सक्छ र गर्छ भन्ने लेनिनको दृढ विश्वास थियो । सर्वहारा जागृतीकरण र सशक्तिकरणद्वारा मात्रै उसलाई नेतृत्वका निमित्त प्रबुद्ध पार्न सकिने प्रश्नमा पनि उहाँ उत्तिकै सचेत हुनुहुन्थ्यो । लेनिनका हरेक लेखहरू तत्कालीन समयको आवश्यकताले जन्माएका क्रान्तिकारी मार्गदर्शन हुन् । इतिहासको पाठबाट शिक्षा लिन त सकिन्छ, लिनैपर्छ, वर्तमानलाई हाँक्नका निमित्त वर्तमानमै ओर्लेर देश, काल र परिस्थितिको विवेचन गरिनुपर्दछ । जुन काम लेनिनले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । लक्षित जनताका माझमा पुर्‍याउन नसक्ने हो भने यस्ता लेखहरू क्रान्तिका निम्ति फलदायी हुन सक्दैनन् । सुगठित पार्टी र त्योसित जोडिएको व्यापक जनसम्बन्ध सञ्जालद्वारा मात्रै यसलाई आवश्यक पात्रहरूको पहुँचमा पुर्‍याउन सकिन्छ भन्नेमा पनि लेनिनको सजगता उच्चस्तरको थियो ।

फरवरी क्रान्तिपछि लेनिनमा अब छिटै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने विश्वास जाग्यो । दश वर्षदेखि निर्वासनमा रहेका लेनिनलाई अब छिटोभन्दा छिटो रूसमा पुग्नुपर्ने आवश्यकता महसुस हुन थाल्यो । तर फर्कने काम अत्यन्त कठिन थियो । जोगिएर बस्न र यात्रा गर्न कति कठिन थियो भन्ने कुरा तिनताक स्वीट्जरल्याण्डतिर जाने प्रत्येक ट्रेनको प्रत्येक डिब्बामा लेखिएको सिद्धान्त वाक्यबाटै अनुमान गर्न सकिन्छ । त्यहाँ लेखिएको हुन्थ्यो— ‘प्रत्येक रूसीलाई एक गोली’ (क्रुप्सकाया) । अनेक तारतम्य मिलाएर उहाँ अप्रिलमा रूस फर्कनुभयो र अक्टोबर क्रान्तिको रोडम्याप प्रस्तुत गर्नुभयो । इतिहासमा यो दस्तावेज अप्रिल थेसिसका नामले सुविख्यात छ । ‘शान्ति, रोटी र जमिन’ को नाराले रूसी सेना, मजदुर र किसानका आकाङ्क्षालाई संवोधन गर्‍यो ।

क्रुप्सकायाद्वारा लेनिनको स्मरणमा लेखिएको पुस्तक ‘लेनिन’ मा लेनिनका जीवनका यस्ता अन्तरङ्ग प्रसङ्गहरू उल्लेखित छन् । फरवरी क्रान्तिको तत्कालै सत्ता हातमा लिन हुन्न भन्ने उनै लेनिनले २४ अक्टोबर १९१७ मा केन्द्रीय समितिलाई लेख्नुभयो— ‘आज सत्ता खोस्नुपर्छ ।’ किनकि त्यतिन्जेलसम्म अस्थायी सरकार नालायक सिद्ध भई जनताको नजरबाट गिरिसकेको थियो । त्यसलाई मुख्य आड भरोसा दिने मेन्सेविकहरूको जनाधार नराम्ररी खस्केको थियो । बोल्सेभिक क्रान्तिकारीहरूका तर्फ भने मजदुर, किसान र सेनामा पार्टीको पकड मजबुत हुँदै गएको थियो । प्रतिक्रियावादी शक्तिलाई सङ्गठित हुन नदिने र क्रान्तिकारीहरूलाई सुगठित पारी सशस्त्र विद्रोह गर्ने सुविचारित तयारी पनि पूरा भइसकेको थियो । अन्योलको अन्धकारमय जङ्गलमा दूरगामी फोकसमय टर्चको जस्तो थियो लेनिनको नेतृत्वमा बोल्सेभिकले तय गरेको क्रान्तिकारी विचारको घनीभूत र सुस्पष्ट दिशादायक प्रकाश ।

समाज गतिविज्ञानमा गन्तव्य, समय र गतिको यस्तो सही मापन र निशाना भेदनको यो अचूक युक्ति लेनिनको नेतृत्व कुशलताको अपूर्व वैशिष्ठ्य हो । क्रान्ति उत्थानका निमित्त सम्पूर्ण रूपले समर्पित रही गहन अध्ययन र निरन्तर जनसम्पर्कको जीवन्त सञ्जालमा जोडिएका कारणले उहाँमा तत्समयको समाजको स्केनिङ गर्ने सामर्थ्य सम्पुष्ट भएर गएको थियो ।

अब एकछिन लेनिनलाई लिएर नेपाल प्रवेश गरौं ।

‘यदि तिमी क्रान्तिकारी बन्न चाहन्छौ भने आफूलाई क्रान्तिकारी देखाउने कोशिस नगर ।’ लेनिनको यो भनाइले आडम्बरलाई निषेध गरेको छ । तर नेपालको कम्युनिस्ट आन्दोलन अनेक किसिमका आडम्बरमा फँसेको छ । यहाँ ढोँगीहरूको रजगज छ । जो कम्युनिस्ट हुन नसकेको मात्र हैन, कम्युनिस्ट हुने प्रयत्नमा पनि छैन, उसैले सबैभन्दा ठुलो कम्युनिस्ट भएको प्रहसन प्रस्तुत गरिरहेको छ । त्यसैमा मिसिएर भाग खानेहरूले त पत्याइदिनै पर्‍यो, कतिपय किनारामा फ्याँकिएकाहरूले पनि अज्ञानतावश पत्याइरहेका छन् । यिनले मार्क्सवादलाई नै भ्रष्टीकरण गरिरहेका छन् । जोगी हुन राजनीति गरेको होइन भन्छन् । राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्रु हुँदैनन् भन्छन् । भैंसी पूजा गरेर नपुगी दक्षिणका भगवानलाई खुसी पार्न उज्जैनको महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गरी पूजा गर्न बस्छन् । जोगी हुन राजनीति गरेको होइन, ठिक छ । नेता आफू धनसम्पन्न भई जनतालाई आफ्नो देशमा गाँसबास जुट्ने वातावरण पनि नबनेर अरबका खाडीमा डढ्दै र अमेरिका जान भनी मेक्सीकोका जङ्गलमा बेवारिस भौतारिँदै हिड्ने अवस्था सिर्जना गर्नका लागि कम्युनिस्ट पार्टीको नेता भएको हो त ?

राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्रु हुँदैनन् भन्ने भाष्यमा राजनीतिक वेश्यावृत्तिलाई (वेश्या शब्द प्रयोग गरेर महिलालाई अपमान गरियो भन्ने अर्थ नलागोस् । महिला एक्लैले वेश्यावृत्ति गर्न सम्भव नभएको हुँदा वेश्या शब्दले महिला र पुरुष दुवैलाई समान रूपले बुझिनुपर्दछ ।) अनुमोदन गर्ने गुह्य सिद्धान्त लुकेको छ । यो सिद्धान्तलाई स्थापित गरेपछि जोसित मिलेर सत्ताभागमा सहभागी भए पनि भयो । वस्तुतः स्थायी र अस्थायी शब्दको निरपेक्ष अर्थ हुँदैन, यो सापेक्षतामा बोध गरिने कुरा हो । वर्गविभक्त समाजमा शोषकवर्ग शोषितवर्गका स्थायी शत्रु हुन् । कोही पनि स्थायी शत्रु नहुने सिद्धान्त समाजको वर्गीय चरित्रलाई नकार्ने र निजी नाफाका निमित्त वर्गसमन्वयतिर जाने अवसरवादीहरूको कुतर्क हो । महाकालेश्वरमा पूजा गरेर भगवानसित के मागेको ? हे भगवान् हाम्रो देशमा समाजवाद ल्याइदेऊ भनेको ! कम्युनिस्ट नाम धारण गरेर यो तहको लाचारी प्रदर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनमाथि हद दर्जाको बेइमानी हो ।

लेनिनले तत्कालीन विश्वको अवस्थालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको उपल्लो तहको उचाइबाट देख्नुभएको थियो । यिनले दुनियालाई झुक्याएर निजी फाइदाका निमित्त सत्तामा जाने दाउ देखिरहेका छन् । वर्तमान समाजका रूपान्तरापेक्षी कर्मशील पात्रहरूसित जीवन्त संवाद र ऐतिहासिक पुस्तकहरूको गहन अध्ययनले उहाँको चिन्तनको फलक धेरै फराकिलो थियो । नियत सफा थियो । उद्देश्य क्रान्तिद्वारा सुन्दर संसारको निर्माण गर्नुथियो । उद्देश्यप्राप्तिको लागि मन, वचन र कर्मको एकीकृत समर्पण थियो । यिनको नियत मैलो छ । यीसित कम्युनिस्ट लेखिएको पर्दा लगाएर अँधेरामा भर्नुपर्ने निजी स्वार्थको कहिल्यै नभरिने थैलो छ ।
निर्लज्जताको सीमा नाघी जनताको नजरबाट गिरेका र बोलीको ठेगान नभएका यिनीहरू सन्निपातको रोगीझैं असङ्गगत कथनमा बर्बराउँछन् । यिनका स्वार्थमा यिनले ल्याएको दलालीकृत संसदीय प्रणाली पनि यिनीहरूजत्तिकै बदनाम भएको छ । जनतामा असन्तोष व्याप्त छ, चरम छटपटी छ । यो असन्तोष र छटपटीलाई एकीकृत ऊर्जामा बदल्न सक्ने हो भने क्रान्ति टाढा थिएन । क्रान्तिकारी कम्युनिस्टहरू एकीकृत हुन, आवश्यक मात्रामा जनताको माझमा पुग्न र सुगठित आन्दोलनको उठान गर्न सकिरहेका छैनन् । जनअसन्तोषलाई सङ्गठित गर्न र सही निकास दिन सकिरहेका छैनन् । क्रान्तिकारीहरूले बेलैमा पकड कायम गर्न नसक्ने हो भने परिस्थिति क्रूर दक्षिणपन्थी पश्चगामीहरूतिर सोझिन पनि सम्भवै छैन भनेर ठोकुवा गर्न सकिदैन । फासीवादी तानाशाहहरूको उदय यस्तै अस्तव्यस्ततामा हुने हो । जनजागृतिको स्तर समृद्ध पार्न सकिएन भने धूर्त शासकहरूले जनतालाई झुक्याएर आफ्नो अभीष्ट साध्ने सम्भावना प्रबल रहन्छ ।

नेपाल त्याग, वीरता र बलिदानको उर्वर भूमि हो । यो इतिहासमा भएका गौरवपूर्ण जनयुद्ध र जनआन्दोलनहरूबाट प्रमाणित भएको तथ्य हो । नेपालमा पद, प्रतिष्ठा र पैसाको निजी लालसमा नफँसेका र नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने एक मात्र उद्देश्य बोकेर हिँडेका कम्युनिस्ट पार्टी र पात्रहरू जनमैदानमा खटिरहेका छन् । चिन्तनप्रणालीमा वा साङ्गठनिक पद्धतिमा वा प्रस्तुतिकलामा कहीँनेर अवश्य खोट रहेको हुनुपर्छ । अन्यथा, शोषण र भ्रष्टाचारमा आधारित दलाल राज्यसत्ताले बलात् लादेको बोझ जनताले बोक्नै नसक्ने अवस्थामा पुगिसकेको यो बेला जनक्रान्तिले यो सत्तालाई मिल्काएर जनसत्ता निर्माणको थालनी गरिसकेको हुनुपर्ने थियो ।

जनतालाई हदैसम्म उपेक्षा, अपमान र उत्पीडन थोपरिएको यो लुटप्रणालीका विरुद्धमा आन्दोलन र क्रान्ति त अवश्यम्भावी छ । त्यो आन्दोलनले पनि फेरि यस्तै चरित्रको नेता नजन्माओस् भन्नका लागि खेल्नुपर्ने भूमिकाका सन्दर्भमा भने आजका दिनहरूमा गहन बहसहरू छेडिनु र निष्कर्ष निकालेर सही कार्यपद्धति अपनाउन आवश्यक छ ।

सन्दर्भ सामग्री सूची
कार्की, ध्रुवराज. विश्व जनक्रान्तिका नायक. काठमाडौँ : बी एन पुस्तक संसार प्रा. लि. २०६९ (वि.सं.)
क्रुप्सकाया. लेनिन. नयाँ दिल्ली : पीपुल्स पब्लिशिंग हाउस. २०१९
तलवलकर, गोविन्द. सोभियत साम्राज्य का उदय और अवसान, भाग १. मुंबईः संवाद प्रकाशन. २०१९
नीमा, अभय. लेनिन. मुंबई : संवाद प्रकाशन. २०१०
बेनीपुरी, रामवृक्ष. रूस की क्रान्ति. दिल्ली : गार्गी प्रकाशन. २०१६
वेल्स, एच जी. विश्वको इतिहास. बागबजार : प्रगति पुस्तक सदन. २०७४ (वि.सं.)
शर्मा, रामविलास. सोभियत संघ की कम्युनिस्ट पार्टी (बोल्सेभिक) का इतिहास. लखनऊ : राहुल फाउण्डेसन. २००३
(केही समय अगाडि मुलप्रवाह मासिकमा प्रकाशित लेख अहिले पनि सान्दर्भिक ठानेर प्रकाशित गरिएकाे छ ।- सम्पादक)