काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन भएको उक्त कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीहरुका नेतृत्वहरुले बताएका छन् । कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा जेन्जी आन्दोलनपछि राजनीति निकै विषम स्थितिमा रहेको भन्दै यो विषम परिस्थितिमा देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु संवाद,सहकार्य,संयुक्त मोर्चा निर्माण गर्दै एकता,ध्रुवीकरणमा गएर देशको विकल्पको रुपमा अगाडि आउनु पर्ने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु बताए ।देशमा पटक पटक क्रान्ति र परिवर्तनकोलागि नेपाली जनताहरुले संघर्ष र वलिदान गरेपनि नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको वक्ताहरुको भनाई रहेको थियो ।

भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन देशमा भ्रष्टाचारको अन्त्य र सामाजिक संजालमा लगाएको प्रतिबन्ध खुला गर्ने भनेर शुरु भए पनि यो आन्दोलनलाई पक्रेर देशी विदेशी शक्ति र शक्तिकेन्द्रहरुले नेपालमा आफ्नो स्वार्थ पूरा गर्न खोेजेको भन्दै नेपाली जनता र नेपालका परिवर्तनकामी शक्तिहरु एकीकृत भएर संघर्षमा जानु पर्ने धारणा वक्ताहरुको थियो । देशमा प्रतिगनमकारी शक्तिहरुले प्रतिगमन गर्न चाहेको ,यथास्थितिवादी शक्तिहरुले यही संविधानको संरक्षण गर्दै यसै भित्रबाट समस्याको समाधान गर्न चाहिरहेको छन् भन्दै उनीहरुले सेनाको निर्देशनमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउँदै देश यथास्थितिमा रहेको देखाउन मात्र खोजिएको बताए र भने “देश एक हिसाबले प्रतिगमनमा गएको छ ,यसबाट मुक्तिको लागि यथास्थितिवादको संरक्षण गरेर हुँदैन, क्रान्तिकारी परिवर्तनकोलागि क्रान्तिकारीहरु अगाडि आउनु पर्छ ।” अहिलेको राजनीतिक सत्ता परिवर्तनबाट कुनै पनि अवस्थामा आधार संरचनाको परिवर्तन गर्न नसक्ने नेपाली जनताले विगतको भन्दा खासै केही नपाउने बरु विदेशीहरुको चलखेल बढ्ने वक्ताहरुको भनाइ थियो ।

जेन्जी आन्दोलनले नेपालमा अब क्रान्ति सकियो ,क्रान्ति सम्भव छैन भनेर निराश हुनेहरुलाई, राजनीतिमा, संगठन, सेनाको आवश्यकता छैन भन्नेहरुलाई पनि राम्रै पाठ सिकाएको वक्ताहरुको भनाइ रहेको थियो । कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलन पाका र युवाहरु सबैबाट नै टुटफुट, विभाजन भएको भन्दै सबैको समीक्षा गर्दै अब अग्रगामी परिवर्तनको पक्षमा लाग्नु पर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेलको विशेष आतिथ्यता, स्थायी समिति सदस्य हरिभक्त कंडेलको अध्यक्षता ,अतिथिहरु नेकपाका अध्यक्ष ऋषिराम शर्मा कट्टेल, नेकपाका पोलिटव्यूरो सदस्य चिरन सी, नेकपा बहुमतका संयोजक धर्मेन्द्र वास्तोला, नेकपाका संयोजक लोकनारायण सुवेदी, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी रहेका थिए । कार्यक्रममा पार्टीको तर्फबाट स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओलीले गर्नु भएको थियो ।



































