काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, सञ्चार तथा प्रकाशन विभागको आयोजनामा सोमबार तीन दिने पत्रकारिता तालिम उद्घाटन गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले ब्यानर पढेर उद्घाटन गर्नुभएको पत्रकारिता तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता विभागका इन्चार्ज तथा पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य विभागका सदस्य हुकुमबहादुर सिंहले गर्नुभएको थियो भने सञ्चालन बालकृष्ण ओलीले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक महासचिव सीपी गजुरेलले क्रान्तिको आधार पार्न र क्रान्ति सम्पन्न गर्न मिडिया र पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने कुरा स्पष्ट पार्नुभयो । उहाँले अक्टोबर क्रान्तिको बेला क्रान्तिकारी पत्रकार जोन रिडले खेलेको भूमिकाको उल्लेख गर्दै रिडले लेखेको “संसार हल्लाउने ती दश दिन”को पुस्तकले संसारमा हजारौंलाई कम्युनिस्ट बनाएको बताउनु भयो ।

त्यसैगरी चिनियाँ क्रान्तिमा पनि अमेरिकी पत्रकार एडगर स्नोले महत्वपूर्ण भूमिका निर्वाह गरेको र नेपालमा दशवर्ष जनयुद्धले पनि कृष्णसेन इच्छुक जस्ता अविचल कमलयोद्ध जन्माएको बताउनु भयो । उहाँले अहिलेको विषम परिस्थितिमा सीमित स्रोतसाधनबाट पार्टीको प्रकाशन निकै कठिनतापूर्वक सञ्चालन भएको भन्दै यस्ता तालिमले ती समस्याहरुको ठोस समाधानका लागि उपाय निकाल्ने गरी तालिम सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । उहाँले क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी पार्टीसँग आफ्नै प्रकाशन हुनु अनिवार्य हुने भन्दै पार्टी प्रकाशनलाई व्यवस्थित बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष हेमन्तप्रकाश ओलीले प्रतिक्रियावादी बुर्जुवा मिडियाहरुले क्रान्तिकारीहरुको विचार र समाचारहरुलाई स्थान नदिने हुनाले पार्टीका विचार र समाचारका लागि पार्टी प्रकाशन अनिवार्य हुने बताउनु भयो । उहाँले कार्लमाक्र्सको भनाइ उद्घृत गर्दै क्रान्तिकारी पत्रकारहरुले बाँच्नका लागि कमाउनुपर्छ तर कमाउनका लागि बाँच्नु हुँदैन भन्ने भनाइलाई आत्मसात गर्नुपर्ने पनि बताउनु भयो । उहाँले मालेमावादको माइक्रोस्कोप र टेलिस्कोपबाट क्रान्तिकारी स्प्रिट पैदा गर्ने गरी तालिमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पनि निर्देशन दिनुभयो । उहाँले सूचना प्रविधिको आजको युगमा पत्रकारिताको क्षेत्रमा साइबर योद्धाहरुको खाँचो रहेको भन्दै साइबर योद्धाहरु उत्पादन गर्न यस्ता तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।
उद्घाटन सकिए लगत्तै सुरु भएको तालिममा आज ‘समाचार निर्माण प्रक्रिया, समाचार बनोट’को विषयमा क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण पंगेनीले र समाचार लेखन तथा सम्पादनका विषयमा प्रशिक्षक बालकृष्ण ओलीले तालिम दिनुभएको थियो ।





























